0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ साहित्य पुरस्कार–२०७२ बाट कवि मुकुन्द शरण उपाध्यायलाई सम्मान गरिने भएको छ। लेखनाथ साहित्य प्रतिष्ठान पोखराद्वारा सञ्चालित उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ। प्रतिष्ठानका सल्लाहकार कृष्णप्रसाद बाँस्तोलाको संयोजकत्वमा डा. वासुदेव त्रिपाठी, डा. प्रतिभा पाण्डे, लेखनाथ साहित्य पुरस्कार अक्षयकोष सञ्चालक समितिका अध्यक्ष शुक्रराज अधिकारी र प्रतिष्ठानका सदस्य सचिव कृष्णप्रसाद पौडेल सदस्य रहेको पाँच सदस्यीय प्रतिभा चयन समितिको सिफारिस अनुसार यस वर्षको लेखनाथ साहित्य पुरस्कार कवि उपाध्यायलाई प्रदान गर्ने निर्णय भएको हो।
पुरस्कार कविशिरोमणि लेखनाथ पौडेलको एक सय ३२ औं जन्म जयन्तीका अवसरमा यहि पुस १५ गते आयोजित समारोहबीच प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले जानकारी दिए।   कास्कीको हेमजामा वि.सं.१९९७ मा जन्मिएका कवि उपाध्यायका प्राकृत पोखरा (खण्डकाव्य), धरती र आकाश (कविता सङ्ग्रह), शैलसरिता (संस्कृत कविता सङ्ग्रह), महाभारत सुक्तिसुधा (सुक्ति सङ्ग्रह), वरदान (उपन्यास) लगायत आठ कृति प्रकाशित छन्। ‘प्राकृत पोखरा’ले २०२१ सालको मदन पुरस्कार प्राप्त गरेको थियो। भाषाको क्षेत्रमा पनि क्रियाशील कवि उपाध्यायले २०२५ सालदेखि नेपाली भाषाको विश्वव्यापी एकरुपता अभियान सञ्चालन गरिरहेका छन्।
यसअघि उनी विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका छन्। उनलाई २०१६ मा संस्कृत सम्मान, २०३५ राष्ट्रिय कविता महोत्सवमा स्वर्ण पदक, २०४७ मा गुणराज पुरस्कार, २०५६ मा दीप स्मृति पुरस्कार, २०५७ मा पाणिनी पुरस्कार, २०७० मा पोकरमल राठी पुरस्कार प्रदान गरिएको थियो। यसैगरी उनलाई विभिन्न संघ, संस्थाले सम्मान, रथारोहण तथा अभिनन्दन गरेका छन्। कवि उपाध्यायले लेखनाथ शतवार्षिकी (२०४१) मा लेखनाथ प्रतिमा निर्माण समितिको सदस्य सचिव रहेर कविशिरोमणिको प्रतिमा निर्माणमा समेत महत्वपूर्ण योगदान पु¥याएका थिए। कविशिरोमणि पौडेलकी कान्छी छोरी स्व.कुन्तीदेवी भट्टराईको परिवारबाट स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठान पोखराद्वारा सञ्चालित पुरस्कारबाट यसअघि २०६७ मा नेपाली शिक्षा परिषद् काठमाडौं, २०६८ मा डा. वासुदेव त्रिपाठी, २०६९ मा साहित्यकार मदनमणि दीक्षित, २०७० मा जनकविकेशरी धर्मराज थापा, २०७१ मा साहित्यकार मोदनाथ प्रश्रित सम्मानित भइसकेका छन्।



Post a Comment

 
Top