0
गोल्डेन न्यूज संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा छानबिन थालेको २९ जना उच्च अधिकारीमध्ये पार्टी महासचिव कृष्णबहादुर महरासहित ४ जना समेत मुछिएको विषयमा एमाओवादी मौन बनेको छ । एमाओवादीको मंगलबारको बैठकमा यो विषयले प्रवेशै नपाएको एक केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिए । ‘आजको बैठकमा अख्तियारको छानबिन प्रकरणले कुनै प्रवेश नै पाएन’, एक केन्द्रीय सदस्यले भने, ‘मूलत अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेशनमाथिको टिप्पणीमै बैठक केन्द्रीत रह्यो । अख्तियारको छानबिनमा एमाओवादी बाट पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित महासचिव महरा, सांसद ल्यारक्लाल लामा र रबिन्द्रप्रताप शाह परेका छन् । बैठकमा १३ जना केन्द्रीय सदस्यले धारणा राखेको र उनीहरुले अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदन सहि भएपनि संगठन सुद्धिढिकरण लगायतका विषयमा ध्यान दिनुपर्ने, आन्तरिक राष्ट्रियताको कुरालाई दस्तावेजमा समेटिनुपर्ने, मधेसबारे पार्टीले स्पष्ट धारणा ल्याउनुपर्ने, नेतृत्व सच्चिएर अघि बढ्नुपर्नेलगायतमा जोड दिएको ति केन्द्रीय सदस्यको भनाई छ । बैठकमा धारणा राख्दै दिपेन्द्र पुनले अध्यक्षको प्रतिवेदन सहि भएको बताउँदै आन्तरिक राष्ट्रियताको विषयमा भने थप प्रष्ट पारिनुपर्नेमा जोड दिए । अर्का सदस्य धर्मदत्त देबकोटाले अहिले वैदेशिक रोजगारीको लहर चलेको र उनीहरुले नै लाखौको कमाई गर्ने गरेको अवस्थामा उनीहरुको वर्ग स्पष्ट नभएको भन्दै दस्तावेजले यसलाई प्रष्ट पार्नुपर्ने धारणा राखे । रामकुमारी चौधरीले पार्टीले समावेशीताको मुद्दा उठाउँदै आएपनि थारुमाथि अत्याचार भएको बताइन् । उनले वर्तमान मन्त्री मण्डलमा थारुको प्रमतिनिधित्व नगराइएको भन्दै पार्टीको उपल्लो निकायमा पनि थारुको सहभागिता हुन नसक्नु दुखद भएको बताइन् । उनले अब थारुलाई पनि पोलिटब्यूरो, स्थायीसमिति सबै चाहिने भन्दै समावेसिताको मुद्दा पार्टीबाटै लागू गर्न सुरु गर्नुपर्नेमा जोड दिइन् । विएल वाइबा र एमएस दाहालले पार्टी्भित्र सुद्धिकरण आवश्यक रहेको भन्दै सुद्धिकरण हुन नसकेको अवस्थामा पार्टी संकटमा पर्न सक्ने खतरा औंल्याए । यसैगरि केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकी, रामकुरमा राई , अजय शंकर शाह , हकीकुल्ला खाँ र पूर्ण सुवेदीले दस्ताबोजमा स्वायत्तता, आत्मनिर्णयको अधिकारलगायतको विषय स्पष्ट पारिनुपर्नेमा जोड दिएका थिए ।
 
यसैबीच  नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक ढङ्गबाट चल्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अख्तियारको कारबाहीप्रति कडा आपत्ति जनाए। नेता नेपालले प्रश्न सुन्ने बित्तिकै भने, ‘अति भो! अख्तियारले सरकारी ओहोदामा रहेर अकूत कमाउनेलाई केही नगर्ने तर संलग्न नै नभएको व्यक्तिलाई मुछेर के गर्न खोजेको?’  निजी व्यापार गरेका र कुनै पनि अख्तियार दुरुपयोग नगरेका व्यक्तिलाई बिनाकारण मुछ्नु गलत भएको उनको भनाइ थियो ।  फरक प्रसङ्गमा नेता नेपालले सदियौँदेखिको नेपाल–भारत सम्बन्धलाई सुमधुर पार्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गर्दै ऋषिमन बनाएर नाकाबन्दी खोल्न आग्रह गरे। हामी नेपाली अरूको मामिलामाथि हस्तक्षेप गर्दैनौँ भन्दै उनले भने(अरूले हस्तक्षेप गरेको पनि हामीलाई मन पर्दैन। 
 
बाह्रबुँदे सहमति पनि भारतीय शासकको रोहवरमा नभएको स्पष्ट पार्दै उनले भने, ’नेपाली प्रवासीको निवास र भारतीय कम्युनिस्ट पार्टीहरुसँग बसेर सहमति भयो, तर त्यहाँका शासकसँग हामीले सम्झौता गरेनौँ।’ अहिलेको संविधान मधेसमैत्री भएको जिकिर गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ’यो संविधानमा जे जति आयोग बनेका छन् यो मधेसकै पक्षमा छ।’ मधेसी, मुस्लिम, थारू, दलित, महिला आयोग सबै आयोग मधेसीको पक्षमा रहेको भन्दै उहाँले दुई नम्बर प्रदेशले सिङ्गो मधेसीहरुको भावनाको सम्मान गरेको बताए। उनले संविधान बढी समावेशी रहेको र अधुरो नभएको दाबी गरे। भारतप्रति इङ्गित गर्दै उनले प्रश्न गरे, नेपाली जनताको अत्यधिक सहभागिताबाट संविधान बनाउनु के नेपालको अपराध हो? मधेसीको आन्दोलनबाट सबैभन्दा बढी मधेसी नै प्रभावित भएको उल्लेख गर्दै नेपालले भने, ’समस्या झन् गहिरिएको छ, कष्ट बढी मधेसीले व्यहोर्नु परेको छ, के यो जायज हो?’



Post a Comment

 
Top