0
गोल्डेन न्यूज संवाददाता
निर्वाचन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित नभएपछि बैठकमा कुनै निर्णय हुन सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति सुशील कोइराला अस्वस्थ्यताका कारण बैठकमा अनुपस्थित थिए । बैठकमा परिषद्ले रिक्त रहेका प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त पदका लागि परेका आवेदनमा छलफल मात्र भएको र कुनै निर्णय नभएको परिषद्का सदस्य एवम् प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जानकारी दिए । परिषद्ले गत कात्तिक २० गते ती पदका लागि योग्यता पुगेका तथा आवेदन दिन चाहेका व्यक्तिको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको थियो । परिषद्ले त्यसका लागि सात दिनको म्याद दिएर सूचना प्रकाशन गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा रिक्त पदका लागि आवेदन परेका नामका बारेमा छलफल भएको र अर्को बैठकबाट निर्णय हुने परिषद्का सदस्य एवम् सभामुख ओनसरी घर्तीले जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती तथा आयुक्तद्वय रामभक्त पिबी ठाकुर र दोलखबहादुर गुरुङ उमेरका कारण सेवानिवृत्त भएपछि आयोगका ती पद रिक्त भएका हुन् । संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिका लागि सिफारिस गर्ने परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने र प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक प्रावधान छ ।
 
यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यकामा मौलाएको कालोबजारी रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतबार आयोजित कार्यक्रममा उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सम्बन्धित निकायका सरकारी प्रमुखहरुलाई अख्तियारले यस्तो निर्देशन दिएको हो । तीनै जिल्लाका सिडियो, प्रहरी प्रमुखहरु तथा सम्बन्धित निकायका सरकारी प्रमुखहरुको सहभागि रहेको सो कार्यक्रममा अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले कालोबजारी नियन्त्रण गर्न नसक्ने हो भने कारबाही भोग्न तयार हुनुपर्ने बताए ।

Post a Comment

 
Top