0
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताको औचित्य नभएको भन्दै अब काठमाडौंमा सरकारसँग वार्तामा नबस्ने घोषणा गरेको छ । राजधानीको विजुलीबजारस्थित तमलोपाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मोर्चाले यस्तो घोषणा गरेको हो । ‘सरकारले वार्ता चाहेकै छैन, पटक पटक वार्तामा बोलाएर सरकारले समय मात्रै खेर फाल्ने काम गरेको छ’, पत्रकार सम्मेलनमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले भने,–‘अब काठमाडौंमा वार्ता हुन सक्दैन, सरकार साँचै वार्ता गर्न चाहन्छ भने अबको वार्ता मधेसमा मात्रै हुन्छ ।’ ठाकुरले वार्ताको नाममा कांग्रेस एमालेल र एमाओवादीले पटक पटक धोका दिने काम गरेको आरोप लगाउँदै संसदमा पेश भएको विधेयकबारे पनि आफूहरुको आपत्ति रहेको बताए । संसदमा पेश भएको विधेयक संशोधन गरेर मात्रै पेश गर्ने आफूहरुसँग सहमति भएको भएपनि अन्तिम समयमा आएर जबरजस्ती गर्ने काम भएको मोर्चाको भनाई छ । पत्रकार सम्मेलनमा मोर्चाले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताउँदै संसदको अवरोध पनि जारी रहने बताए । मोर्चाले मधेसमा कुनै सरकारी कार्यक्रम हुन नदिने समेत जनाएको छ । यस्तै मोर्चाले जबरजस्ती कार्यक्रम गर्न खोजिए जनप्रतिरोध गर्नेसम्मको चेतावनी समेत दिएको छ ।








Post a Comment

 
Top