0
गोल्डेन न्यूज संवाददाता
ग्राहकलाई तौल ठगि गरेको अभियोगमा खसी वोका व्यापारी जुनकुमार श्रेष्ठलाई रामवजार प्रहरीले हिरासतमा लिएको छ । पोखरा खसीवोका वजार चाउथे स्थित सुन्धारा घिरिङ खसी वोका सप्लायर्सका सञ्चालक जुन कुमार श्रेष्ठले ग्राहकलाई एउटा भेडा विक्री गर्दा साढे ४ किलो (करिव २५ सय रुपैया) ठगि गरेको थाहा पाए पछि ग्राहक पर्वतका खड्क वहादुर पुर्जा पुनले ठगि गर्ने व्यापारी श्रेष्ठ विरुद्ध कारवाही गरि पाउन प्रहरीमा उजुरी दिएका छन् । 

पूजाका लागि भेडा किन्न पोखरा खसी वोका वजार आएका पुनको सम्पर्क जुन कुमार सँग भएपछि जुन कुमारले आफ्नो पसलको पारी पट्टि रहेको राना माइला सप्लायर्स वाट ३१ किलो तौल जोखेर ल्याएको भेडालाई तत्काल सांढे ३५ किलो छ भनेर रकम लिएको वताइएको छ । उपभोक्ता पुनले भेडाको तौलमा शंका लागेपछि सोधखोज गरि तौल परिक्षण गराउंदा ठगिको रहस्य वाहिर आएको थियो । 

जुनकुमार श्रेष्ठ यसअघि पनि उपभोक्तलाई झुक्याएर खसीको भन्दै वाख्रीको मासु काटेर सप्लाई गर्ने, तौल ठगि गर्ने गरेको सम्वन्धि पटक पटक विवादमा तानिएको व्यापारी रहेको स्वयम् व्यापारीहरु वताउंछन् । खसीवोका व्यवसायी समिति पोखराका अध्यक्ष ज्ञान वहादुर श्रेष्ठ उपभोक्ता ठगि गर्ने व्यापारीलाई नियमानुसार कारवाही गर्नुपर्ने वताउँछन् । उनले भने “एक दुई जना व्यापारीले वदमासी गर्दा इमान्दार व्यवसायी पनि मर्कामा पर्ने भएकोले शुद्धिकरणका लागि सचेत उपभोक्ता र प्रहरी प्रशासनको सक्रिय सहयोग अपेक्षा गरेका छौं ।”

वडा प्रहरी कार्यालय रामवजारका प्रमुख इन्सपेक्टर वेद प्रकाश जोशीले उपभोक्तालाई तौल ठगि गरेको आरोपमा खसीवोका व्यापारी जुन कुमार श्रेष्ठलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको वताए । विषम् परिस्थितिमा उपभोक्ता ठगि गर्ने व्यापारीलाई कानून वमोजिम कडा कारवाही गरेर आम उपभोक्तालाई न्याय अनुभूति गराउने उनले वताए ।




Post a Comment

 
Top