0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको बालश्रम न्यूनीकरण कार्यक्रम(क्लेप) द्वारा पोखरा २ बसपार्कमा संचालित श्रमिक बालबालिकाहरुको सम्पर्क केन्द्रले स्वीटर वितरण गरेको छ । केन्द्र व्यवस्थापन समितिका सदस्य अष्टमान प्रधानाङ्गको अध्यक्षतामा संचालन गरिएको स्वीटर वितरण कार्यक्रममा क्लेपको सहयोगमा औपचारिक शिक्षा कार्यक्रम अन्तर्गत विद्यालय भर्ना भएका १९ जना बालबालकाहरुलाई स्वीटर वितरण गरिएको थियो । 
कार्यक्रममा बालबालिकाहरु लाई स्वीटर वितरण गर्दै क्लेपका परियोजना संयोजक भक्तराज रसाइलीले यस वर्ष क्लेपले श्रमिक बालबालिकाहरुको सम्पर्क केन्द्रहरुको सम्पर्कमा रही विद्यालय भर्ना भएका १ सय ४५ जना बालबालिकाहरुलाई स्वीटर वितरण गरिसकेको जानकारी गराए । पोखरा उपमहानगर पालिका कार्यालयले सन् २०१८ सम्ममा पोखरा नगरलाई बालमैत्री नगरको रुपमा विकास गर्ने अभियानलाई सहयोग पुर्याउन कार्यालयसँग साझेदारी गर्दै आएको क्लेपले हाल सम्म पोखरा भित्रका ४ वटा टोलहरुलाई बालश्रम मुक्त टोल घोषणा गर्न सफल भएको र यस अभियानको निरन्तरताका लागि सबै सरोकारवालाहरुले सक्दो सहयोग गर्नुपर्ने धारणा कार्यक्रममा बोल्दै सामाजिक परिचालक विनोद लामिछानेले राखेका थिए।
स्वीटर वितरण पश्चात खुसी व्यक्त गर्दै आफू जस्तै अन्य विपन्न परिवारका बालबालिकाहरुको लागि पनि स्वीटर वितरण गरिदिनको लागि बालबालिकाहरुले क्लेपसँग अनुरोध गरेका थिए । कार्यक्रमको संचालन केन्द्रका प्रमुख कालिका कोइरालाले गरेकी थिइन् ।
यसैगरी लायन्स क्लव अफ पोखरा चौतारीले पनि विद्यार्थीहरु लाई स्वीटर प्रदान गरेको छ । कास्कीको कालिका उच्च माविमा अध्ययनरत १०० विद्यार्थीहरुलाई जाडोमा लगाउने स्वीटर प्रदान गरिएको थियो । स्वीटर वितरण गरेपछि बोल्दै क्लवका अध्यक्ष होमबहादुर बसेलले लायन्सको सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा स्वीटर वितरण गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर धु्रव थापाले विद्यार्थीलाई स्वीटर वितरण गरेर पोखरा चौतारी लायन्सले राम्रो काम गरेको बताए । कार्यक्रममा विद्यालयका प्रअ बलराम गिरी, क्लवका सल्लाहकार रामबहादुर बसेल, कोषाध्यक्ष हरिहर सापकोटाका साथै कृष्णबहादुर अधिकारी, पूर्व अध्यक्ष सञ्जिब बहादुर कोइराला, सह–सचिव शिव प्रसाद खद्का, कार्यक्रम संयोजक उत्तम केसी, सचिव महेश्वर पराजुली लगायतले बोलेका थिए ।











Post a Comment

 
Top