0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिकाले निर्माण व्यवसायीहरुका लागि भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धी तालिम बिहीबारदेखि शुरु गरेको छ । लामो समयदेखि रोकिएको नक्सापास तालिम पश्चात खुल्ने नगरपालिकाले जनाएको छ । गत बैशाखमा आएको विनाशकारी भूकम्पपछि नगरमा भवन निर्माण इजाजत रोकिएको थियो ।लेखनाथका निर्माण व्यवसायी तथा कालीगढका लागि चार दिन सम्म भवन निर्माण आचार संहिता, भूकम्प प्रतिरोधी भवन निर्माण, गुणस्तरीय निर्माण, भवन निर्माणस्थलको छनौट लगायतका विषयमा तालिम दिईने छ । साथै भवन निर्माणका कालीगढहरुलाई प्रयोगात्मक अभ्यास समेत गराईने इन्जिनियर रविचन्द्र घिमिरेले जानकारी दिए ।
 
दिपशिखा सामुदायिक पुस्तकालयको सभाहलमा संचालन भएको तालिम तीन चरणमा गरी १२ दिनसम्म चल्नेछ । तालिममा लेखनाथ नगरपालिका र पोखरा उप–महानगरपालिकाका प्राविधिकहरुले सहजीकरण गर्ने जनाइएको छ । लेखनाथ नगरपालिका क्षेत्र भित्र रहेका झण्डै एक सय ५० जना निर्माण व्यवसायी तथा कालीगढलाई तालिम पश्चात नगरपालिकामा सूचिकृत गरिने र सूचिकृत भएका निर्माण व्यवसायीबाट मात्र भवन निर्माण गर्न लगाईने इञ्जिनियर घिमिरेले जानकारी दिए । भवन निर्माण आंचार संहिता र नगरपालिकाको भवन नक्सा पास कार्यविधि अनुसार इजाजत प्राप्त कालीगढबाट भवन निर्माण गर्नु पर्नेछ ।
कार्यक्रममा नेपाली कांग्रेसका लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने, एमालेका नगर इन्चार्ज शंकरनाथ पौडेल, एमाओवादीका प्रतिनिधि पुष्पकमल ढुंगाना, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, निर्माण व्यवसायी समिति लेखनाथका अध्यक्ष किशानसिंह गुरुंग, दिपशिखा पुस्तकालयका अध्यक्ष कृष्णहरी भण्डारी, नगरपालिकाका प्राविधिक इन्जिनियर जगनन्नाथ कोइराला, रविचन्द्र घिमिरे लगायतले भूकम्पका कारणले भन्दापनि मानव निर्मित संरचनाले क्षति हुने बताएका थिए । कार्यक्रम नगरपालिकाका कानूनी सल्लाहकार राममणि अधिकारीको अध्यक्षतमा सम्पन्न भएको थियो ।


Post a Comment

 
Top