0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले आफ्नो नेतृत्वको सरकारले बनाएको नेपालको नयाँ संविधानलाई काँग्रेसले दृढतापूर्वक कार्यान्वयन गर्ने बताएका छन् । नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनको पश्चिमाञ्चल क्षेत्रीय सम्मेलन र लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाज पश्चिमाञ्चल भेलाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले नेपालको समृद्धि र विकासका लागि लोकतन्त्रका पक्षमा २००७ सालदेखि अनवरत सङ्घर्षरत काँग्रेस संविधानको सफल कार्यान्वयनका माध्यमबाट राष्ट्रलाई समुन्नत बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । लोकतान्त्रिक समाजवादले परिकल्पना गरेका विषयलाई नयाँ संविधानले सम्बोधन गरेको बताउँदै उनले काँग्रेसले आफ्नो स्थापनाकालदेखि समाजिक भेद्भाव र विसङ्गतिका विरुद्धमा गरेको सङ्घर्षकै जगमा राष्ट्रले नयाँ संविधान प्राप्त गरेको बताए । ‘मधेसी समुदायसहित राज्यका प्रत्येक वर्ग र समुदायलाई एकसाथ अघि बढाउने पक्षमा काँग्रेस छ’ उनले भने–‘मधेसका समस्यालाई राजनीतिक रुपमा समाधान गर्न हामी मधेसका राजनीतिक दलसँग निरन्तर संवादमा छौँ, मधेसलाई सँगै समेटेर लैजानुपर्छ ।’ वर्तमान सरकार संविधानलाई मिचेर दलीय भागबन्डाका नाममा राष्ट्रलाई भार पार्ने तवरले मन्त्रालयको सङ्ख्या थप्दै जम्बो मन्त्रिमण्डल  बताउँदैछ, यो सरकार अन्य कुनै कारणबाट नभई आफ्नै कारणबाट ढल्ने भएको उल्लेख गरे । पार्टीलाई दरिलो बनाउन काँग्रेसको आसन्न महाधिवेशनमा कार्यकर्ताले सही र सक्षम नेतृत्वको चयन गर्नुपर्नेमा जोड दिँदै उनले विद्यमान ६० र ४० को भागबण्डालाई यही महाधिवेशनले अन्त्य गर्नुपर्ने विचार व्यक्त गरे । 

कार्यक्रममा आगामी नेपाल बार एशोसिएशनमा डेमोक्रयाट्रिक लयर्स एशोसिएशनका तर्फबाट अध्यक्ष लगायत विभिन्न पदाधिकारीमा उम्मेदवारीका इच्छा व्यक्त गरेका वरिष्ठ अधिवक्ता एवम् कानुन व्यवसायी शेरबहादुर केसी, यदुनाथ खनाल, रामकुमार श्रेष्ठ, माधव बास्कोटा, दिनेश त्रिपाठी, कैलाश ज्ञवाली, सीताराम केसी, महेन्द्र पाण्डे, बाबुराम पाण्डेलगायतले आगमी बारको निर्वाचनमा डेमोक्रयाट्रिक लयर्स एशोसिएशनमा आबद्ध कानून व्यवसायी एकताबद्ध रुपमा सङ्गठित हुँदै निर्वाचनमा विजयी हुनुपर्ने बताए । उनीहरूले लोकतन्त्रका पक्षमा सङ्घर्षरत पार्टीका रुपमा नेपाली काँग्रेसले राष्ट्रका विद्यमान समस्याको समाधान गर्दै नयाँ संविधानको कार्यान्वयनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

यसैगरी लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजको भेलामा नेता रामचन्द्र पौडेलले २०४६ सालपछि मिडियामा क्रान्ति आएको भएपनि नेपाली कांग्रेस र अन्य कुनै पनि दलहरुले मिडियाको मूल्याङ्कन गर्न नसकेको बताए । उनले भने–‘नेपाली कांग्रेसले पटक–पटक संचार मन्त्रालयको जिम्मेवारी सम्हाल्दा समेत केही गर्न नसकेकोमा दुःख लागेको छ ।’ कार्यक्रममा नेपाली कांग्ेस कासकी सभापति एवं सांसद यज्ञबहादुर थापा, पूर्व सभापति शुक्रराज शर्मा, नेपा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, पूर्व महासचिव शिव लम्साल, समाजका मध्यमाञ्चल उपाध्यक्ष दिपेन्द्र चौहान, अध्यक्ष दामोदर दवाडी, केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, सचिव ओम घायल, अग्रज पत्रकार केशवराज पराजुली लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा गण्डकीबाट केशवराज पराजुली, धवलागिरिबाट जगन्नाथ त्रिपाठी र लुम्विनीबाट मिनबहादुर रिजाललाई सम्मान गरिएको थियो ।  






Post a Comment

 
Top