0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला क्रिकेट संघको जिम्मेवारी फेरी देवेन्द्र प्रजूको काँधमा परेको छ । चार वर्षे तदर्थसमितिलाई नै बुधबारको प्रथम अधिवेशनले निर्वाचित गर्दै पुरानै सदस्यलाई उही जिम्मेवारी सुम्पिएको थियो । नेपाल क्रिकेट संघ(क्यान)को २८ र २९ गते अधिवेशन गर्ने तयारी गरेपछि मातहतका जिल्ला संघको अधिवेशन सक्न राष्ट्रिय खेलकुद परिषदले जिम्मेवारी दिएको थियो । अन्य जिल्लाहरुमा विवादरहित अधिवेशन सम्पन्न भएपनि कास्की जिल्ला क्रिकेट संघमा भने लामो समयदेखि आन्तरिक विवादमा रुमलिएको थियो । असोज १५ गत ेभित्रमा संघको अधिवेशन गर्ने अन्तिम निर्णय गरेपनि संघभित्रै विवाद देखिएपछि स्थगित हुन पुगेको थियो । त्यसभन्दा अघि भदौमा नै अधिवेशनको लागि संघको छलफल भएको थियो ।
 
परिषदले क्यानको अधिवेशनको मिति तय गरेपछि क्यानले क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं ८ पोखरालाई परिपत्र गरेको थियो । परिपत्रलाई समेत तत्कालिन तदर्थ समितिका अध्यक्ष प्रजूले जानकारी नै नपाएको प्रतिक्रिया दिएका थिए । पत्र पाएको एकसाता नवित्दै कास्की जिल्ला क्रिकेट संघले पुरानै तदर्थ समितिलाई कार्यसमितिको रुपम दिएको हो । संघको उपाध्यक्षमा देवीप्रसाद गुरुङ, सविचमा सन्जयकान्त सिग्देल, कोषाध्यक्षमा निकेश श्रेष्ठ, सह– सचिवमा भोजबहादुर गुरुङलाई निरन्तरता दिइएको छ । यसैगरी सदस्यहरुमा दिपेन्द्रप्रताप चन्द, विष्णुकान्त सिग्देल, भोजराज बराल, ओमप्रकाश श्रेष्ठ, सन्जय नेपाल, चन्द्रप्रकाश गुरुङ (जिम्मी), सुमन गुरुङ छन् । अधिवेशनले केन्द्रीय अधिवेशनको लागि सन्जयकान्त सिग्देललाई प्रतिनिधिको रुपमा पठाउने निर्णय समेत गरेको छ । लामो समयदेखि सिग्देल र प्रजू बीच केन्द्रीय प्रतिनिधि जाने भन्ने विषय टुंगो लाग्न नसक्दा अधिवेशनको समय लम्बिएको थियो ।
 
कास्की जिल्ला खेलकुद विकास समितिका सदस्य चोलेन्द्र पौडेलको उपस्थितिमा अधिवेशन गरिएको थियो । क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं ८ पोखराका सचिव ऋषिराम गौतम, सहसचिव रतन गुरुङ र जयप्रकाश थापा सदस्य रहेको निर्वाचन कमिटीले अधिवेशनलाई बैधानितकता दिएको हो । अधिवेशनमा सचिव सिग्देल र कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदनलाई सर्वसम्मत पास गरिएको थियो । कार्यक्रममा क्रिकेट मैदान निर्माण समितिका सदस्य अशोक पालिखे, ऋषिराम गौतम तथा जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य चोलेन्द्र पौडेलले शुभकामना व्यक्त गरेका थिए ।






Post a Comment

 
Top