0
हरि पन्त
कास्की आर्वाविजय गाविस (हाल पोखरा–२५) वडा नं. १ सुनडाँडाका मनकाजी सुनार शनिबार अति प्रफुल्लित थिए । साथमा उनकी धर्मपत्नी लक्ष्मी र छोरा–छोरीहरु पनि खुशी देखिन्थे । उनीहरुको परिवारमा ७ जना सदस्य छन् । करिब ९ महिना आफन्तको घरमा शरण लिएर बसे  उनीहरु । किचन सहितको ३ कोठे नयाँ घर बनेको छ उनीहरुको । ९ महिनापछि उनीहरुले नयाँ घर पाएका छन् र माघ महिनामा साहित जुराएर आफ्नै घरमा सर्दैछन् । ६१ वर्षका मदनकाजी र ६० वर्षीय लक्ष्मीको मुख्य आयस्रोत केही छैन तर कृषि र अरुको ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आइरहेका छन् । उनीहरुको एउटा कच्ची घर थियो,  ज्याला मजदूरी गरेरै जीविका चलेको भएपनि परिवार खुशी नै थियो । उनीहरुको खुशीलाई गत वैशाख १२ गतेको महाभूकम्पले एकाएक निराशामा परिणत गरिदियो । १२ गतेको भूकम्पले उनको सहित सुनडाँडाका अन्यको कच्ची घर समेत कामै नलाग्ने गरि भत्काइदियो । उक्त गाउँमा सीमित मात्रामा कच्ची घर थिए अन्यको भने १ तले ब्लकको घर छन् । सुनडाँडामा तीन तले एउटा मात्र पक्की घर छ । ‘वैशाख १२ गते हामी सबै अन्यत्र काममा गएकाले मानवीय क्षति भने हुन पाएन’, शनिबार नयाँ घर पाएर खुशी अनुहारमा मदनकाजीले भने–‘मानवीय क्षति नहुँदा खुशीको अनुभूति थियो तर ९ महिनासम्म अरुको शरणमा बस्नु पर्दा साह्रै नै पीडा महसूस गरियो ।’
८ महिना समय लगाएर धेरै कष्टका साथ घर निर्माण गरेको र माघ महिनामा साहित जुराएर घर सर्ने उनले बताए । मधेश आन्दोलन र नाकाबन्दीको असर उनीहरुको घर निर्माणमा समेत परेको थियो । ‘नाकाबन्दीले छिटो सामान नपाउँदा लामो समय लगाएर घर निर्माण ग¥यौं’–लक्ष्मीले दुःखेसो पोखिन्–‘बल्ल–बल्ल नयाँ घर निर्माण कार्य सम्पन्न ग¥यौं, भूकम्पको पीडा भुल्दै जान थालेका छौं । हाम्रो अवस्था सामान्य हुँदै गएको छ ।’ उनीहरुले घर बनाउने जग्गाको  समस्या समेत परेको गुनासो गरे । ‘अग्ला–अग्ला कान्लालाई खारेर ४ आना जग्गामा बल्ल बल्ल घर बनायौं’, मदनकाजीले भने–‘बस्ने बाससम्म भएको छ, गोठ, ट्वाइलेट लगायतका भौतिक संरचना बनाउन जग्गा छैन ।’ नयाँ घरको आँगन साँघुरो हुनु र करिब ३ मिटर तलबाट पर्खाल लगाएर उठाउँदा समेछ उनीहरुलाई जग्गाको समस्या परेको सहज महसूस गर्न सकिन्थ्यो । 

यस्तै सोही ठाउँ निवासी राजकुमारी विक पनि शनिबार प्रफुल्लित मुहार लिएर घर भित्र, बाहिर गरिरहेकी थिइन । घरमा आएका नयाँ पाहुनालाई स्वागत गर्न खाला, फूलमाला र अविर समेत लिएर बसेकी उनी पाहुना आँगनमा पुग्नासाथ खादा लगाउन, माला पहिर्याउन र टीका लगाउन व्यस्त थिइन । उनको पनि गत वैशाख १२ गतेको भूकम्पले घर भत्काउँदा साह्रै चिन्तामा थिइन । ५ सन्तानमध्ये केही छोरा विदेश छन् भने छोरीहरुको विवाह भइसकेको छ उनको । उनको पनि आम्दानीको स्रोत केही छैन । ज्याला मजदूरी गरेर नै जीविकोपार्जन हुँदै आइरहेको छ । करिब ९ महिना अस्थायी टहरामा नै बस्नुप¥यो उनीहरु । राजकुमारीको घर मनकाजीको भन्दा केही उज्यालो, चिटिक्क परेको र फराकिलो ठाउँमा बनेको छ । आँगनको क्षेत्रफल पनि प्रशस्त छ । उनको ट्वाइलेट र एक अस्थायी कोठा पनि बनाएका छन् उनले । ‘भूकम्प आउँदा घरमा कोही पनि थिएनन्, म घर मुनी बारीमा काम गर्दै थिएँ’ राजकुमारीका ६५ वर्षीय श्रीमान मनबहादुरले भने–‘भूकम्पले पहिला गोठ भत्काइदियो, घर पनि भत्काउन थालेपछि गरिरहेको काम छाडेर टाढा, खुल्ला चौरमा भागें ।’ ९ महिनापछि घर बनाएका उनीहरु नयाँ घरमा बस्न थालिसकेका छन् । ‘नाकाबन्दीका कारण सामानको समस्या झेल्दै बल्ल–बल्ल घर बनायौं, हामी खुशी छौं तर खानेकुराको अभावले पिरोलिरहेका छौं ।’, राजकुमारीले भनिन्–‘भएको रकम घर बनाउँदा सकियो । अब के गरेर हातमुख जोर्ने भन्ने चिन्तामा छौं ।’ ‘छोराहरु विदेश छन्, केही हेर्दैनन्, छोरीहरु विवाह गरिसकेकाले आफ्नै सुरमा छन् । हामी बुढाबुढीको आयस्रोत केही छैन, अलिअलि भएको रकम पनि घरमा खर्च भयो । हामीलाई बाँच्न निकै कठिनाइ छ’–मनबहादुरले दुःखेसो गरे । 
त्यहाँका भूकम्प पीडितले गाविसमार्फत १५ हजार र जिल्ला प्रशासनबाट ३ हजार रुपैयाँ बाहेक अन्य केही नपाएको गुनासो गरेका छन् । भूकम्प पीडित मनकाजीले भने–‘सेवा, सुविधाका साथै अन्य धेरै कुरा पाउने भन्ने सुनेका छौं, तर अहिलेसम्म केही पाएका छैनौं कहिले पाउने हो केही जानकारी छैन ।’ यस्तै समस्या त्यहाँ रहेका अन्यलाई पनि छ । त्यस क्षेत्रका अति विपन्न वर्गका ८ परिवारका लागि नयाँ घर बनाईएको छ । आर्वाविजय २ साझा निवासी दर्शन लामाको पहलमा बहिनी एजुकेयर फाउण्डेशन पोखरा, होप इनिसियटिभ अमेरिका र लामा राइजिङ पोखराको सहयोगमा उक्त घरहरु बनाइएको बताइन्छ । घर निर्माणमा बहिनी एजुकेयर फाउण्डेशन मासवार, पोखराले ६५ हजार, अभियान कर्ता दर्शन लामाले ५० हजार, होप इनिसियटिभ अमेरिकाले २५ हजार, साझा युवा क्लब आर्वाविजय–२ ले १५ हजार रुपैयाँ सहयोग गरेको छ । यस्तै लामा राइजिङ छिरिङ लामा शेर्पाले १० हजार, जापानमा रहेका केशर शाहीले ५० हजार, राजीव श्रेष्ठले ४० हजार, सर्वोधर्म मानव कल्याण समिति आर्वाले २५ हजार रुपैयाँ भूकम्प पीडितको घर निर्माणमा सहयोग प्रदान गरेका थिए । यस्तै भरत गुरुङ २० हजार, राजेश गुरुङको २० हजार, अनुप श्रेष्ठको २० हजार, नारायण बहादुर भण्डारीको १० हजार, प्रकाश कार्कीको ७ हजार, अमिर गुरुङको  ७ हजार र राम तिमिल्सिनाको ले ७ हजार रुपैयाँ सहयोग रहेको बताइन्छ । उक्त सहयोगबाट भूकम्प पीडितको घर र एक विद्यालय भवन निर्माणमा सहयोग भएको छ । रकमबाट भूकम्प पीडितको घर निर्माणमा आंशिक बाहेक सबै भौतिक सामाग्री उपलव्ध गराइएको बताइन्छ । शनिबार एक कार्यक्रमको आयोजना गरि भूकम्प पीडित परिवारलाई घर हस्तान्तरण गरिएको थियो । कार्यक्रममा अभियानकर्ता दर्शन लामाका साथै लोक तथा दोहोरी गायक रामचन्द्र काफ्ले पनि सहभागी थिए ।  














Post a Comment

 
Top