गोल्डेन न्यूज संवाददाता
कास्कीमा क्रियाशिल पत्रकारहरुलाई सुरक्षित आप्रवासन सम्बन्धी प्रशिक्षण दिइएको छ । जिल्ला विकास समिति, कास्की अन्तर्गत वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन (सामी) परियोजनाको सूचना तथा परामर्श केन्द्र, कास्कीद्वारा आयोजित कार्यक्रममा सुरक्षित आप्रवासन सम्बन्धी समस्या, समाधान र यस विषयमा पत्रकार तथा मिडियाले खेल्नुपर्ने भूमिकाको बारेमा प्रशिक्षण दिइएको थियो । सुरक्षित आप्रवासन ः पत्रकारको भूमिकाका बारेमा जानकारी गराउँदै विजमाण्डु अनलाइनका सम्पादक सरोज काफ्लेले नेपालीहरु करिब २०० वर्षदेखि वैदेशिक रोजगारमा जानेक्रम चलेको भएपनि कानूनी रुपमा २०४८ सालदेखि मात्रै भएको बताए । उनले जहाँ गएपनि मानिसले खुशीका साथ बाँच्न पाउँछ भने त्यो सुरक्षित आप्रवासन हुने स्पष्ट पारे । उनले भने–‘सुरक्षित काम आर्थिक लाभ, स्वास्थ्य उपचार, घर फर्किने अधिकार, मानव अधिकारबाट बञ्चित नहुनु सुरक्षित आप्रवासन हो ।’
आफूले लामो समयदेखि वैदेशिक रोजगार र सुरक्षित आप्रवासन सम्बन्धी अध्ययन र अनुसन्धान गरिरहेको भन्दै उनले वैदेशिक रोजगार र सुरक्षित आप्रवासनको विषय अत्यन्तै गम्भीर, गहन र चुनौतीपूर्ण रहेको स्पष्ट पारे । उनले भने–‘यो विषय जति खोतल्यो त्यति नै चुनौतीपूर्ण भेटिन्छ, समस्याको सामाधान छिट्टो पाउन मुस्किल छ ।’
काप्mलेका अनुसार वि.सं. २०४८ सालदेखि आधिकारिक रुपमा शुरु भएको नेपालीको आप्रवासन लामो अवधिको भन्दा छोटो अवधिको बढी छ भने कामदारका रुपमा जाने नेपालीको सुरक्षा गम्भीर छ । सबै मुलुकसंग श्रम सम्झौता नुहँदा कामदार ठगिने समेत गरेका छन् । नेपाली युवाशक्ति वैदेशिक रोजगारमा करिब १९ लाख रहेको सरकारी तथ्याङ्क छ भने ४० लाख बढी रहेको गैरसरकारी तथ्याङ्क छ । काप्mलेले भने–‘वैदेशिक रोजगारले युवा शक्ति, जोश जाँगर, सिर्जनशिलता, व्यवसायीकरण गुमाएका छौं भने रेमिट्यान्स, शिक्षा र स्वास्थ्यमा सचेतना, केही शिप तथा दक्षता, बेरोजगारीका कारण उत्पन्न हुने नकारात्मक प्रभावबाट मुलुक जोगिएको छ ।’ नेपाल भित्रिने १ वर्षको रेमिट्यान्सले मुलुकको करिब १६ महिनाको सबै खर्च धान्न पुग्छ । वैदेशिक रोजगारले मुलुकमा हुने चोरी, डकैती, लुटपाट जस्था जघन्य घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका खेलेको काफ्लेले बताए ।
उनले दिएको जानकारी अनुसार नेपालमा १९९३ देखि रेमिट्यान्स भित्रिन थालेको थियो। अहिले २०१४ सम्म आइपुग्दा मुलुकको कूल ग्राहस्थ उत्पादनको करिब ३० प्रतिशत अर्थात २१ खरब रुपैयाँ रेमिट्यान्स रहेको छ । भारत लगायत धेरै मुलुकबाट गैरकानूनी बाटो (हुण्डी) मार्फत आउने रकम पनि कम छैन । कतिपय कामदारआफैले रकम बोकेर आउने भएकाले पनि रेमिट्यान्समा केही कमि आएको छ । नेपाल भित्रिने रेमिट्यान्समध्ये १० प्रतिशत रकममात्र पुँजी निर्माणमा प्रयोग भएको छ भने ९० प्रतिशत रकम अनुत्पादक क्षेत्रमा खर्च भएको तथ्याङ्क छ ।
नेपालको आप्रवासनको तथ्य केलाउने हो भने वार्षिक ५ लाख नागरिक, १०० मध्ये ६० घरबाट वैदेशिक रोजगारका लागि मुुलुक बाहिर जाने गरेका छन् । विश्वभरको आप्रवासन तथ्याङ्क हेर्ने हो भने वार्षिक १० करोड मानिस वैदेशिक रोजगारमा छन् भने वार्षिक ५ खर्व, ८३ अर्व रकम रेमिट्यान्स हुने गरेको छ । सबै भन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक चीन हो भने अन्य विकासोन्मुख मुलुकमा समेत बढी रेमिट्यान्स जाने गरेको छ ।
मुलुकको युवा शक्ति वैदेशिक रोजगारमा जाँदा नीति निर्माण तहमा समस्या हुनुका साथै नयाँ कार्यक्रम केही आउन सकेको छैन भने रोजगारमूलक काम नुहँदा निर्यात समेत बढ्दै गइरहेको छ । मुलुकका नागरिक समेत रेमिट्यान्सका भरपर्ने, कृषि क्षेत्र चौपट हुनुका साथै नेपालमै उत्पादन हुन सक्ने फलफूल, तरकारी, खाद्यान्न समेत अन्य मुलुकसंग भर पर्नुपर्ने अवस्था छ । वार्षिक ९ अर्व रुपैयाँ चामल निर्यातमा मात्र खर्च हुने गरेको छ । कार्यक्रमका प्रमुख प्रशिक्षक समेत रहेका काफ्लेले वैदेशिक रोजगारको विकल्प तत्काल राज्य संग नभएको स्पष्ट पारे । ‘मुलुकमा वार्षिक पाँच लाख नागरिकलाई रोजगारी आवश्यक छ तर दुई लाखले पनि रोजगारी पाउन सक्दैनन्’–उनले भने । राज्यलाई दवाद दिएरै भएपनि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए । वैदेशिक रोजगारमा जाने संख्या वृद्धि हुँदै जानुमा शीप प्रमुख कारण रहेको र राज्य समेत यसमा चुकेको उनले स्पष्ट पारे ।
वैदेशिक रोजगारमा देखिएको समस्यामा प्रशिक्षण दिंदै उनले कम्पनीले कम्पनीबाटै कामदार नलगि विभिन्न तहको एजेण्ट मार्फत जाँदा समस्या निम्तिने गरेको बताए । विभिन्न एजेण्टहरुले विज्ञापनको भ्रम छरेर कामदार खोज्ने प्रक्रिया गलत छ । उनले भने–‘कम्पनीको प्रतिनिधिबाट अन्तर्वार्ता हुँदैछ भनेर विज्ञापनमा उल्लेख हुन्छ तर अन्तर्वार्ता लिंदा सच्चा कम्पनीको प्रतिनिधि आउँदैनन् ।’ एजेन्टमार्फत भन्दा मेनपावरमार्फत वैदेशिक रोजगारमा जाँदा केही सुरक्षित हुने काप्mलेले बताए । उनका अनुसार वैदेशिक रोजगारमा जानेका लागि ३ दिनको तालिम अनिवार्य छ तर प्रमाणपत्र किन बेचको भरमा चलिरहेको छ ।
वैदेशिक रोजगारको समस्या बारे थप चर्चा गर्दै उनले पुरुषको भन्दा महिला कामदारको समस्या बढि भएको बताए । खाडी मुलुकमा महिला कामदार जाँदा चरम शोषणमा पर्ने गरेको समेत उनले उल्लेख गरे । उनका अनुसार सुरक्षित काम हो वा होइन सरकारी तथा गैरसरकारी संघ–संस्थाले गर्ने अनुगमन कमजोर छ । गाउँ–गाउँमा सुरक्षित कामका बारेमा जानकारी गराउन नसक्नु, सरकारलाई कुन मुलुकमा बढी नागरिक जान्छन् भन्ने जानकारी भएरपनि वेवास्ता गर्नु र ठगी गर्ने एजेन्ट र मेनपावरलाई कार्वाही गर्ने प्रक्रिया समेत लामो र झण्झटिलो भएकाले समस्या थपिंदै गएको काफ्लेले जानकारी दिए ।
त्यस अवसरमा पत्रकार भरत कोइरालाले पनि प्रशिक्षण दिएका थिए । कोइरालाका अनुसार विदेशमा बसोवास गर्ने जनसंख्या १९ लाख २१ हजार ४ सय ९४ जना रहेको थियो । राष्ट्रिय जनगणना अनुसार २०५८ मा ७ लाख ६२ हजार १ सय ८१ जनासंख्या मुलुक बाहिर रहेको थियो । कोइरालाले दिएको जानकारी अनुसार पश्चिमाञ्चल विकास क्षेत्रमा मात्र पाँच लाख ७८ हजार आठ सय ४९ जना व्यक्ति विदेशमा छन् । अघिल्लो जनगणनामा यो संख्या तीन लाख ३२ हजार मात्र थियो । जनसंख्याको अनुपातमा यो क्षेत्रका मध्ये गुल्मी जिल्लाबाट सबैभन्दा बढी अर्थात् ४९ हजार छ सय ६७ जना विदेशिएका छन् । गुल्मी जिल्लाको जनसंख्यामा दुई लाख ८३ हजार पाँच सय ७७ रहेकोमा २१ प्रतिशत त मुलक बाहिर छन् । यस्तै कास्कीका नागरिकहरु विश्वको १८ मुलुकमा पुगेका छन् । विदेश मोह त्यागेर नेपालमै फर्की राम्रो व्यवसायमा जमेकाहरुको सफलतको कथा प्रशस्तै आउने गरेको समेत उनले स्पष्ट पारे । कास्कीमा नागरिकता भन्दा राहदानी बनाउनेको संख्या बढ्दै गएको कोइरालाले बताए ।
कार्यक्रममा सामी परियोजना कास्कीकी संयोजक माया गुरुङले सुरक्षित आप्रवासनका लागि मिडिया र पत्रकारको भूमिका महत्वपूर्ण हुने बताइन । उनले सुरक्षित आप्रवासन र वैदेशिक रोजगारमा देखिएका समस्या न्युनिकरणका लागि पत्रकारसंग सहकार्य गरि अघि बढ्ने प्रतिवद्धता जनाइन ।
उक्त अवसरमा वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघका पूर्व अध्यक्ष खिमराज बराल, सचिव गोपाल श्रेष्ठ, जिल्ला विकास समिति कास्कीका सामाजिक विकास अधिकृत अर्जुन न्यौपाने, पोखरा कलेज अफ मोर्डन टेक्निकल इन्स्टिच्यूटका प्रवन्ध निर्देशक जगतमोहन गिरी लगायतले वैदेशिक रोजगार बारे वर्तमान सरकारी नीति, सामी परियोजनाले संचालन गरेको गतिविधि र वैदेशिक रोजगारमा जानेहरुले भोग्नुपरेका समस्याका बारेमा आ–आफ्ना भनाइ राखेका थिए । उनीहरुले वैदेशिक रोजगारको समस्यालाई प्रहरी र प्रशासनले वेवास्ता गर्ने गरेको समेत गुनासो गरेका थिए । सुरक्षित आप्रवासनका लागि मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले गम्भीर र सजग भएर काम गरिदिन समेत उनीहरुले आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारका क्रममा भोगेका समस्या र यसको समाधानका उपायका बारेमा समेत जानकारी गराएका थिए । पत्रकार भीम घिमिरे, माधव बराल, ऋषि बराल, अमृत सुवेदी, रविना आले लगायतले वैदेशिक रोजगारमा देखिएका समस्या बारे गम्भीर खालका जानकारी पनि लुकाउनुपर्र्ने अवस्था आइपरेको अनुभव सुनाएका थिए ।
Post a Comment