0
नेपाली काँग्रेसका युवा नेताले पार्टीभित्र देखिएको ६०÷४० को भागबन्डा अन्त्य गर्न युवाले नेतृत्व गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेसको १३औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीका युवा नेताले आयोजना गरेको छलफलमा पार्टीभित्रको भागबन्डाले नेपाली काँग्रेस झन पछाडि पर्दै गएको बताएका हुन् । काँग्रेसका केन्द्रीय सदस्य सुजाता परियारले पार्टीले गुटको राजनीतिक अन्त्य गरेर अगाडि बढ्नु आवश्यक रहेको औँल्याइन । उनले भनिन्–“१२औँ महाधिवेशनलाई एकताको महाधिवेशन भनिए पनि पार्टीभित्र देखिएका मनमुटाब, विवाद र गुटबन्दी बढ्दै गयो, आगामी १३औँ महाधिवेशनमा गुटबन्दीको अन्त्य गरी पार्टीलाई सशक्त ढङ्गले अगाडि लैजानुपर्छ ।”
 
सांसद किरण यादवले पार्टीका गम्भीर विषयमा हुने छलफल पार्टी नेतृत्वले एकलौटी ढङ्गमा गर्ने गरेको आरोप लगाए । उनले पार्टीमा पैसाको चलखेल बढ्दै गएकाले पैसाभन्दा सिद्धान्तको राजनीतिक आवश्यक भएको स्पष्ट पारे ।     अर्का सांसद मुक्ता यादवले पार्टीको विधान संशोधन गरेर धेरै युवालाई अगाडि लैजानु आवश्यक रहेको बताए । उनले पार्टीभित्र परिवारवाद हाबी भएको भन्दै यसलाई तोड्न आवश्यक भएको उल्लेख गरे । नेपाली काँग्रेस कालीकोटका नेता भूपेन्द्रजङ्ग शाहीले नेताले कार्यकर्तालाई दास बनाउने प्रवृत्ति पार्टीभित्र हाबी भएकाले यसलाई रोक्नु जरुरी रहेको बताए । तरुण दलका महासचिव पुष्प पराजुलीले ६५ वर्षदेखिको नेपाली जनताको चाहना पूरा भएकाले यसलाई कार्यान्वयन गर्नका लागि भए पनि अबको महाधिवेशनले सफल नेतृत्व ल्याउनु जरुरी रहेको बताए ।     नेपाल विद्यार्थी सङ्घका नेता क्षितिज भण्डारी, दीपक अधिकारी, कुमार लुइँटेल, डिल्ली सुवेदी, रामकुमार बुढामगर, बलदेव तिमल्सेना, नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्याल लगायतले क्रियाशील सदस्यताको वितरणमै ६०÷४० को अन्त्य गरेको भए महाधिवेशनमा यो भागबन्डा अन्त्य हुने धारणा राखेका थिए । छलफलबाट निष्कर्षमा आएका कुरा पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराइने जनाइएको छ ।


Post a Comment

 
Top