0
यतिवेला मुलुक संकटमा छ र नेपाल र भारतबीचको सम्बन्ध पनि चिसिएको छ । विगतमा भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप विभिन्न दलहरू र स्वयम सरकारले पनि लगाइरहेका थिए । तर अहिले आम सर्वसाधारणले पनि त्यसो भनिरहेका छन । कुनै पनि मुलुकको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपका अनेक परिस्थिति र कारण हुन्छन, तर हस्तक्षेपको निरन्तरता जहिले पनि सार्वभौमसत्ताको मूल्यमा मात्र हुन्छ । यसको वीभत्स स्वरूप सैन्य हस्तक्षेप हो । जुन अहिले भारतले नेपाल पनि गर्न खोजिरहेको छ । सीमावर्ती मुलुकहरूबीच खासगरी अपराधीहरूको गिरफ्तारी सम्बन्धी समस्या उत्पन्न हुँदा आपसी समझदारीमा स्थापित मान्यताअनुसार ‘हट पर सुट’ वा उसलाई भागेकै अवस्थामा पछ्याई कि त गिरफ्तार गरिन्छ कि त उसलाई गोली हानिन्छ । नेपाल र भारत तथा नेपाल र चीनबीच यस्ता घटना धेरै भएका पनि छन । केही दिनअघि सुनसरीको भन्टावारीमा भारतकोे सीमा सुरक्षा बलले नेपाल भूमिमा पसी गोली चलाएको छ । भारतीय सुरक्षा वलको गोली लागेर चार जना नेपाली गम्भीर घाइते भएका छन । हुन त भारतीय सीमा सुरक्षा बलले समयसमयमा नेपालीमाथि ज्यादती गर्दै आएको नै छ र नेपाली भूमिको अतिक्रमण गरेको नै छ । तर नेपालमा पसेर नेपालीहरूमाथिको आक्रमण गर्ने काम यस्तो अवस्थामा भएको छ, जतिवेला नेपाल र भारत विच तनावपूर्ण स्थिति सिर्जना भएको छ । भारतीय सुरक्षा बलको यो कार्य गम्भीर अपराध र नेपाली सार्वभौमसत्ताको अवमूल्यन हो । यो निन्दनीय र आपत्तिजनक पनि छ । कुनै पनि स्वतन्त्र मुलुकको भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको सम्मानप्रति भारत प्रतिबद्ध छ भने उसले यो घट्नामा क्षमायाचना गर्नु पर्दछ । यदि क्षमा याचना गरेन भने सुनसरीको भन्टाबारीमा भएको घटना भारतीय विस्तारवादी र हैकमवादी चरित्रको उपज हो भन्नुपर्ने छ । विगतलाई हेर्दा झण्डै ५० बर्ष पहिले भएको सुचासिंह प्रकरणलाई पनि स्मरण गर्नुपर्दछ । पन्जाबका मुख्यमन्त्री प्रकाश सिंह कैंरोको सन्दिग्घ हत्यारालाई भारतीय प्रहरीले नेपालबाट गिरफ्तार गरी सीमा पार गर्न लाग्दा नेपाली सेनाले उनीहरूलाई हिरासतमा लिएपछि कानूनी प्रक्रिया पु¥याएर मात्र फिर्ता पठाएको थियो । त्यतिवेला भारतले हस्तक्षेपप्रति खेद व्यक्त गरेको थियो । त्यो राजा महेन्द्रको पालामा भएको थियो । दमननाथ ढुंगाना प्रतिनिधिसभाको सभामुख हुँदा बानेश्वरमा भारतीय प्रहरी छापा प्रकरणमा समेत भारतले खेद प्रकट गरेको थियो । नेपाल सरकारले यो घट्नाको विरोध गर्दै भारतलाई पत्र पठाएको छ र दोषीलाई कार्वाही गर्न भनेको छ । नेपाल सरकारले मागेको स्पष्टिकरणलाई भारतले उचित रूपमा सम्बोधन गर्नुपर्दछ र नेपाललाई सम्मानजनक हिसाबले आश्वस्त गराउनु पर्दछ, नत्र उसलाई नै बढि हानी हुनेछ ।

Post a Comment

 
Top