0
जीवनको उर्जाशिल जीवन खाडीमा बिताएर रित्तो हात फर्किएका युवाहरु अहिले स्वदेशमा रमाउन थालेका छन् । विदेशमा सबथोक छ भनेर विदेश भासिने युवाहरु पछिल्लो समय कृषि उद्यममा लागेर स्वदेशी माटोमा सुन फलाउने अभियान लाग्न थालेका छन् । यतिमात्रै होइन १२ वर्षे सशस्त्र युद्वमा लागेर परिवर्तनको फल चाख्न नपाएपछि कृषि व्यवसायमा पूर्वमाओवादी लडाकुहरु पनि लागेका छन् । अहिले के युवा के वृद्ध सबै वर्ग साना तिना उद्यम व्यवसाय गरेर लोभलाग्दो आम्दानी पनि गर्न थालेका छन् । युवाहरुमा स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना जागृत भईरहँदा सरकारले भने उनीहरुका दुःखका पहाडलाई सम्मान गर्न सकेको छैन । सरकारले स्वदेशमै रोजगारको अवसर सिर्जना गर्ने घोषणा गरेपनि उद्यममा लागेका युवाहरुलाई भने प्रोत्साहन समेत गर्न सकेको छैन । सरकार केवल आसेपासेलाई मात्र पोस्न तल्लीन भएकै कारण कृषकहरुका दुःख जहाँको त्यही छन् । पछिल्लो समय भारतले संविधान आफू अनुकुल नबनेको विषयमा नाकाबन्दी लगाएपछि सबैभन्दा बढी मार किसान र साना व्यवसायीलाई परेको छ । नाकाबन्दीका कारण हुनेखाने साहु महाजनहरुले ब्लकमा तेल किनेर सवारी हुईकाए पनि साना उद्यमी र किसान भने त्यस्तो हैसियतका छैनन् । समय समयमा भित्रिने तेल पनि पुलिस, प्रशासन, सरकारी कार्यालयका हाकिम र पहुँचवालको पोल्टामा पर्दा मिनिटेलर हलो चलाउने किसान सबैभन्दा बढी मर्कामा परेका छन् । कृषिमा आधुनिकरणको प्रयोग हुँदा आजभोलि गाउँघरमा गोरु पाल्ने प्रचलन लोप जस्तै भएको छ । व्यवसायिक तरकारी खेती गरेर कृषिमा क्रान्ति ल्याउने उद्देश्यका साथ लागेका कृषकहरुका खेतबारी इन्धन नपाएकै कारण बाँझो छन् । यसको विषयमा सञ्चारमाध्यमले पटक–पटक कुरा उठाएपनि सम्बन्धित निकायले भने कुनै सम्बोधन गर्न सकेका छैन् । सवारी ढु्वानी नहुँदा र भएपनि महंगो भाडा तिर्नुपर्ने बाध्यताका कारण कृषकले आफ्नो पसिना सिंचित गरेर उब्जाएका कृषि उपजहरु अहिले टनेलभित्रै सड्न थालेका छन् । के सम्बन्धित निकायले यसका बारेमा केही सोच्नु पर्दैन ? यदि सरकारले देशमै रमाउन चाहने कृषकलाई प्रोत्साहन नगर्ने होभने नेपाली नागरिक फेरी पनि खाडीमा भाँसिनुको कुनै विकल्प छैन । यदिमात्रै होइन ढुवानी अभावकै कारण अहिले पश्चिमाञ्चल क्षेत्रमा उत्पादित सुन्तलाहरु बोटबाट झरेर सकिन थालेका छन् । सुन्तला बेचेर जिविकोपार्जन चलाउँदै आएका किसानका सुन्ताला बोटमै सड्न थाले भने उनीहरुको दैनिक कसरी चल्न सक्छ भन्ने विषयमा पनि सम्बन्धित निकायले तत्काल सोच्न जरुरी छ । अब सम्बन्धित निकायले समय समयमा आउने इन्धनको केही हिस्सा कृषकका लागि पनि छुट्याउन जरुरी छ । शान्ति सुरक्षाको नाममा प्रहरी प्रशासनले मात्रै इन्धन ओगट्ने परम्परालाई अब त्याग्न जरुरी छ । कृषक पनि मान्छे हुन हुनेखाने सम्भ्रान्तलाई मात्रै पोस्ने कामको अन्त्य गर्न जरुरी छ । इन्धन अभावकै कारण कृषि पेशामा लागेकाहरु फेरि निराश नहुने भन्नका लागि पनि त्यसो गर्न जरुरी छ । उनीहरुले उब्जनी गरेको उपजबाट हाम्रो भान्सा चलेको छ भन्ने कुराको पनि हेक्का राख्न जरुरी छ ।



Post a Comment

 
Top