0
गोल्डेन न्यूज संवाददाता
कोठामा आगो सल्केर निस्केको धूवाँले निसास्सिएर पोखराको चाउथेस्थित प्रगति टोलमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । सुतिरहेका बेला निसास्सिएर मृत्यु भएकामा सीता फाल राना, उनका १० वर्षीय छोरा सीमान्त, सीताकी आमा ५६ वर्षीया गंगाकुमारी फाल र सीताकी कान्छी आमाकी छोरी २२ वर्षीया वसन्ती राना रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले विद्युत् सर्ट भएर आगो लागेको अनुमान छ । बैठक कोठाका सोफाहरू जलेकाले आगो त्यहींबाट सल्केको देखिन्छ । बिजुलीका प्लगहरू पग्लेको, स्विच अन र मोबाइल चार्ज भइरहेको अवस्थाले विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको हो । ‘अन्य कारणले आगो लागेजस्तो देखिँदैन,’ कास्की प्रहरीका डीएसपी गजुसिद्धि बज्राचार्यले भने ।
सोफा जलेको धूवाँले भान्सासँगैको कोठामा सुतिरहेका चारैजनाको मृत्यु भएको हो । उक्त फ्ल्याटभरि भेन्टिलेसन थिएन । झ्यालढोका सबै बन्द थिए । मृतकमध्ये सीमान्तको शव बेडरुमको ढोकानजिकै भान्सामा थियो । गंगाकुमारीको बेडबाट तल खसेर भित्तामा अडेस लागेको अवस्थामा र अन्य दुईको ओछ्यानमै शव थियो । घटनाको प्रकृति हेर्दा सीमान्त ढोका खोल्न निस्केको तर चुकुल खोल्न नसकी बेडरुमतिरै फर्कने क्रममा मृत्यु भएको जस्तो देखिन्छ । ढोकामा भित्रबाट चाबीसमेत लगाइएको थियो । 
सबै कोठा बन्द भएकाले भित्र जलेको गन्ध बाहिर आएको थिएन । ‘निसास्सिएपछि छटपटिएर नाति र हजुरआमा खाटबाट खसेजस्तो देखिन्छ,’ वडा प्रहरी कार्यालय रामबजारका निरीक्षक बीपी जोशीले भने । जलेको सोफाको धूवाँले किचन, बेडरुम, अर्को कोठा र बाथरुमको भित्ता, मृतकको कपडाले छोपेको भागबाहेक सबै शरीर र अन्य सामान कालै बनेका थिए । मृत्यु भएकाहरूको नाकमुख कालो बाक्लो खरानीले टालिएको थियो । ‘सबैको मृत्यु निसास्सिएर भएको छ । उनीहरू कोही पनि जलेका छैननन्’ डीएसपी बज्राचार्यले भने । अक्सिजन कम भएपछि कोठाका अन्य सामान नजलेको प्रहरीले जनायो । सीताको मुखबाट फिँज, वसन्तीको नाकबाट रगत बगेको थियो । घरको तल्लो फ्ल्याटमा भाडामा बस्दै आएकी विष्णु थापाका भतिजा संकल्प पुनले बिहान उठेर कुकुर डुलाउने क्रममा माथिल्लो तलाका झ्याल कालो देखेर हारगुहार गरेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी झ्याल फोडेर भित्र पसेको थियो । ‘सीताले मंगलबार साँझ ८ बजेतिर च्यानल गेट लगाएर सुत्न गए है दिदी भनेकी थिइन्,’ विष्णुले भनिन्, ‘कहिल्यै नआउने गरी गइछन् ।’ 
स्याङ्जाको मल्याङकोट–६ घर भएकी गंगाकुमारी केही समययता छोरीकोमा बस्दै आएकी थिइनँ । स्याङ्जाकै वालिङ घर भएर पोखरामै स्नातकोत्तर पढदै आएकी वसन्ती सोमबार मात्रै दिदीको घर आएकी थिइन् । सीताका पति मानबहादुर राना वैदेशिक रोजगारीका क्रममा इजरायल छन् ।
कोठामा हावा खेल्न दिऔं
यसैबीच प्रहरीले कोठामा पर्याप्त मात्रामा हावा खेल्ने वातावरण मिलाउन सर्वसाधारणलाई आग्रह गरेको छ । झ्यालढोका पुरै बन्द तर भेन्टिलेसन नभएकाले केही दिनअघि लेखनाथमा ३ र मंगलबार राति पोखरामा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ‘जाडो भयो भनेर कोठा सबै बन्द गरेर सुत्नु भएन,’ डीएसपी बज्राचार्यले भने, –‘कोठामा पर्याप्त हावा छिर्न दिनुपर्छ । आगो तथा अन्य आगोजन्य पदार्थ निभाएर मात्रै सुत्नुपर्छ ।’ दुई दिनअघि लेखनाथमा निसास्सिएर ३ जनाको मृत्यु भएको थियो । 
यसैगरी न्यानो कपडा अभावमा जाडो भएपछि मध्यरातमा आगो तापेर सुतेका धादिङको गुम्दीको एक घरमा आगलागी हुँदा बाबुछोरीको डढेर मृत्यु भएको छ । गुम्दी– ६, काकवाडाका ४८ वर्षिय शेरबहादुर गुरुङ र उनकी १५ वर्षिया छोरी धनमायाको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङ जिल्ला प्रहरी प्रमुख सविन प्रधानका अनुसार मध्यरातमा उठेर आगो तापेर सुतेका उनीहरुको कपडाबाट आगो सल्किएको थियो । शेरबहादुरकी पत्नी भने घरमा आगो लागेपछि भाग्न सफल भएकी छन् । फूलखर्कबाट प्रहरी पुग्दा पुरै घर जलेर नष्ट भइसकेको पनि प्रधानले बताए ।





Post a Comment

 
Top