0
गोल्डेन न्यूज संवाददाता
 सरकारको नेतृत्व गरिरहेको दल एवं व्यवस्थापिका संसदको दोस्रो ठूलो दल नेकपा एमाले मुलुकको विषम परिस्थितिमा उचित कदम अघि चाल्न नसककेको भन्दै आलोचना बढिरहेको छ । यस अवस्थामा सरकारले समेत केही गर्न नसकेकोमा आक्रोश समेत बढ्दैछ । यस्तो अवस्थामा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीका साथै वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव ईश्वर पोखरेले मुलुकका विभिन्न स्थानमा आयोजित विभिन्न कार्यक्रममा मुलुकको अवस्था बारे फरक–फरक धारणा रहेका छन् । मुख्यगरि मधेश आन्दोलन, सीमाङ्कन र नाकाबन्दीबारे एमाले नेताहरुले फरक–फरक धारणा रखेका हुन् ।
 
यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशवादी दलहरुले माग गरे अनुसार प्रदेशको सीमांकन हेरफेर गर्न नसकिने बताएका छन्। प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह सिंहदरबारमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको ६ बुँदे ज्ञापनपत्र बुझ्ने क्रममा पहाड र तराईका जिल्ला अलग गरेर तराईमा दुई वटा प्रदेश बनाइनुपर्ने माग कुनै हालतमा पूरा गर्न नसकिने बताए। नेकपा एमालेका अध्यक्ष समेत रहेका उनले मधेशका जनताले पहाड र तराईका जिल्लालाई अलग गरेर प्रदेश बनाइनुपर्ने माग नै नगरेको भन्दै केही नेताले आफ्नो स्वार्थ पूरा गर्नका लागि जनतालाई भड्काएका आधारमा सरकार नझुक्ने बताए। उनले प्रदेशको सीमांकन जटिल भएकाले यस विषयमा विज्ञहरुलाई अध्ययन गर्न दिएर पछि निर्णय गर्दा सबैको हित हुने बताए। प्रधानमन्त्री ओलीले विज्ञहरुबाट अध्ययन गराउनुको साटो केही नेता बसेर अहिले नै निर्णय गर्नुपर्छ भन्नुको कारण आफूले बुझ्न नसकेको बताए। प्रधानमन्त्री ओलीले मधेशवादी दलको आन्दोलनलाई कारण देखाएर भारतले नाकाबन्दी गर्नु नेपालको पारवहन अधिकारमाथिको ठाडो हस्तक्षेप भएको भन्दै भारतसामु कुनै हालतमा नझुक्ने बताए। उनले भारतसामु नेपालले कुनै समस्या खडा नगरेको र खडा गर्ने मनसाय पनि नराखेकाले विना अपराध शिर ननिहु¥याउने बताए। नेकपा माओवादीले प्रधानमन्त्री ओलीसँग मधेशवादी दलसँग वार्ता गरेर आन्दोलनलाई सम्बोधन गर्न तथा भारतको नाकाबन्दीको विरोधमा अर्न्तराष्ट्रिय मञ्चहरुमा जोडदार रुपमा आवाज उठाउन माग गरेको छ। माओवादीका अध्यक्ष मोहन वैद्यले भारतले पारवहन सम्बन्धी सम्झौता उल्लंघन गरेकाले नेपालले अब भारतसँगका सबै सम्झौता खारेज गर्नुपर्ने बताए। माओवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रमा भारतसँगको निर्भरता अन्त्य गर्ने गरी काम अगाडि बढाउन, कालोबजारी नियन्त्रण गरेर आपूर्ति सहज तुल्याउन तथा कालोबजारीमा संलग्नमाथि कारवाही गर्न माग गरिएको छ ।
 
यसैगरी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेश आन्दोलन नेपालको आन्तरिक मामिला भएको भन्दै मधेश आन्दोलनलाई कारण देखाएर नाकाबन्दीलाई निरन्तरता नदिन भारत सरकारसँग आग्रह गरेका छन्। विश्वव्यापी मूल्यांकन सप्ताह मनाउने क्रममा संयुक्त राष्ट्रसंघीय मूल्यांकन समूह र विभिन्न संस्थाले बुधबार संविधानसभा भवनमा गरेको कार्यक्रममा एमालेका वरिष्ठ नेता खनालले असल छिमेकी र ठूलो मुलकका नाताले भारतलाई नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो राख्न नसुहाउने बताए। राष्ट्रसंघका प्रतिनिधि, श्रीलंकाका सामान्य विकास मन्त्री लगायतको उपस्थिति रहेको कार्यक्रममा एमालेका वरिष्ठ नेता खनालले मधेश आन्दोलनलाई कारण देखाएर भारतले नेपालको पारवहन अधिकारमाथि हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय कानून, सन्धी सम्झौता र राष्ट्रसंघकै बडापत्र विपरित भएको बताए। उनले संविधान संशोधन गरेर मधेश आन्दोलन सम्बोधनका लागि आफूहरु तयार रहेको पनि बताए।
 
कार्यक्रममा सभामुख ओनसरी घर्तीले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि मूल्यांकन अनिवार्य पाटो भएको बताइन्। उनले मूल्यांकनबाट  पारदर्शिता र सुशासन कायम गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय मूल्यांकन समूहका सह अध्यक्ष म्याक्रो सेगनले सभामुख घर्तीलाई मूल्यांकन वर्ष २०१५ को मूल्यांकन टर्च हस्तान्तरण गरेका थिए। कार्यक्रममा विश्वव्यापी मूल्यांकनको आगामी पाँच वर्षे एजेण्डा समेत सार्वजनिक गरिएको थियो ।
 
यता,  एमाले उपाध्यक्ष एवम् सांसद युवराज ज्ञवालीले मधेसवादी दलका नेता तथा कार्यकर्ताहरू देशमा नाकाबन्दी लगाउँदै राति राति तेल तस्करीमा लागेको आरोप लगाएका छन्। राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै ज्ञवालीले भने, ‘मधेसवादी दलका नेताहरू दिउँसो दिउँसो नेपाल(भारत सीमा क्षेत्रमा बसी नाकाबन्दी र आन्दोलन गर्ने र राति राति तेल तस्करी गरी करौडौं कमाउने धन्दामा लागेका छन्।’ उनले सरकारले सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा गरी अबैध गतिविधि नियन्त्रण गर्न र मधेस आन्दोलनमा सुरक्षाकर्मी संयमितता अपनाउन सुझाव दिएका थिए। मधेस आन्दोलनका क्रममा भएको प्रहरी कारबाहीमा कतिपय निर्दोष जनताको पनि ज्यान गएको गुनासा आइरहेका बेला ज्ञवालीले शान्ति सुरक्षा कायम गर्ने कार्यमा खटिएका सुरक्षाकर्मीहरुले संयमितता अपनाउदै जथाभावी गोली नचलाउन सुझाव दिए।
 
नेपालको संविधानका विषयमा भारत सरकारबाट आएको अभिव्यक्ति र अघोषित नाकाबन्दी प्रति लक्षित गर्दै ज्ञवालीले छिमेकी मित्रराष्ट्रले कुनै पनि मुलुक सानो हुँदैंमा हेपाहा प्रवृत्ति देखाउन नहुने बताए। राजनीतिमा असहमति र आन्दोलन गर्नु जनताको अधिकार भएपनि जनताले दुःख पाउने गरी नाकाबन्दी र राजमार्ग अबरोध जस्ता गतिविधि मधेसवादी दलले गर्न नहुने पनि उनले बताए। कांग्रेसका सांसद अमरेशकुमार सिंहले राजधानीको आपूर्ति व्यवस्थालाई लिएर मधेसमा प्रहरी दमन गर्न र मधेसी जनता मार्न नपाइने बताए ।
 
यता, नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले स्वाभिमान रक्षाका लागि आत्मनिर्भर हुनुपर्नेमा जोड दिएका छन्।  प्रेस चौतारी नेपाल नवलपरासीले बुधबार कावासोतीमा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘स्वाभिमान सँग बाँच्ने हो भने आत्मनिर्भर हुन जरुरी छ ।’ दीर्घकालीन हिसाबले बाँच्ने योजना नबनाउँदा अहिलेको समस्या सिर्जना भएको उनको भनाइ थियो । ‘आत्मनिर्भरताको जग कमजोर हुँदा स्वाभिमान सङ्कटमा परेको छ, विस्तारवादको नाराले मात्र स्वाभिमान बच्दैन, अहिले त्यही अवस्था छौँ’–उनले भने। भारतको छिमेकीप्रतिको व्यवहार मित्रतापूर्ण छैन, त्यसका लागि कूटनीतिक र राजनीतिक पहल भइरहेको छ–उनले भने,‘सबै चिज फेर्न सकिन्छ, छिमेकी फेर्न सकिन्न ।’

Post a Comment

 
Top