0
हामीले पुरानो शक्ति भनेर बुझेका राणा, पञ्चायत र राजतन्त्रको विधिवत अन्त्य भइसक्दा पनि देशको आर्थिक विकास गर्न बाबुराम समूहलाई सम्भवत पुरानो शक्तिले अवरोध गरेको छ । सायद त्यही भएर उनलाई अझै नयाँ शक्तिको प्यास लागेको छ । बाबुरामको नयाँ शक्तिबारे म यहाँ चार कोणबाट चर्चा गर्न चाहन्छु ः
आफ्टरसक जस्ता बाबुरामः–
कहिलेकाहीँ बाबुराम भन्ने गर्छन् मरेको माछा पानीसँगै बग्छ, जिउँदो माछा विपरीत ध्रुवतिर पौडिन्छ । उनको यस्तो आँकलन माछा र मान्छेबीच समान दृष्टिले प्रयोग हुन सक्दैन । नैतिकता मरेको मान्छे समयसँगै बग्न जान्दैन, उनीहरू विकल्प खोज्दै विपरीत ध्रुवतिर जान्छन् । उदाहरणका लागि, २०५२ सालमा बाबुरामको एउटा ध्रुव थियो, नयाँ नेपाल निर्माणका लागि पुराना चिज जे जति छन् सबै ध्वंस गरौं, तहननहस पारौं । तथापि २०७२ सालसम्म आइपुग्दा बाबुरामले आफ्नो धरातलीय पोजिसनमा फेरबदल गरेका छन् । र, भन्न थालेका छन्– आर्थिक विकासका लागि ध्वंस होइन, नयाँ शक्ति निर्माण गरौं ।
आर्थिक सूचकांकका आँकडाभन्दा अखबारका पाना ज्यादै प्रभावकारी हुन्छन् । जस्तो– करिब २० वर्षअघि प्रकाशित अखबारका प्रमुख समचार खोजौं र हालसालैका समाचारसँग दाँजौं । शक्तिशाली बम हानेर उडाइएका हेल्थपोस्टको साटो अत्याधुनिक अस्पताल उद्घघाटन कहीँकतै भएको छैन । बाबुरामको नयाँ शक्तिमा शेयर हाल्न कस्सिएका कथित बुद्धिजीवीले उनी प्रधानमन्त्री हुँदा सुधार गरिएको राजधानीको चारहाते पक्की सडक झल्झली देखेका छन् तर उनको बलबुताले पैदा गरेका १७ हजार सहिदको कच्ची झुपडी एकाएक गुमनाम भएको छ ।
एमाओवादी पार्टी भूकम्पले हल्लाएको घरजस्तो कमजोर भयो भन्दै असुरक्षित महसुस गरी पार्टी छाडेका बाबुरामलाई नेपालको सन्दर्भमा ‘जनयुद्ध’ नै सबैभन्दा नयाँ शक्ति र प्रयोग थियो भन्ने बुझ पचाउन कति मुश्किल भयो होला, त्यो अनुमानभन्दा बाहिरको कुरा भयो । तर, इतिहासले दिएको एउटा धक्काको पराकम्पन रोकिन नपाउँदै बाबुराम विचारबाट स्खलित ‘आफ्टरसक’ का कारण दोबाटोमा पल्टिएका छन् । अबको नयाँ शक्तिलाई उनको अभिभावकत्वको सुरुआत यही प्रवृत्तिबाट भयो । यसरी हेर्दा बाबुरामको अनुहार तत्कालीन सोभियत युनियनका नेता मिखायल गोर्बाचोबको जस्तो अजिब देखिन्छ । सर्वहारा एकदलीय सत्ताबिना कुनै मुक्ति सम्भव छैन भन्दै १७ हजार सहिदको रगत, पसिना बगेको अस्ति मात्र हो । आज उनै बाबुराम नेतृत्वको नयाँ शक्तिले ओम शान्ति ओमको जस्तो खाली खुट्टा आगोमा हिँड्ने अद्भूत दर्शन निर्माण गरेर कुनै पनि वादलाई ठाडै अस्वीकार गर्ने चक्मा फ्याँकेको छ, कम्युनिस्ट भन्ने शब्द बाबुरामको व्याकरणबाट हराएको छ । हिन्दीमा एउटा उखान छ– हजार चुहेँ खाके बिल्ली चली हज करने । के बाबुरामका कारण १७ हजारले बगाएको रगत नयाँ शक्ति जन्माउनका लागि थियो ?
बाबुरामको वायुपंखी घोडाः
 नेपालमा आफूबाहेक विवेकशील मानिस धेरै छैनन् र भए पनि औंलामा गन्न सकिने अनुपातमा छन् भन्ने ठूलो दृष्टिभ्रम छ बाबुराममा । उनले प्रयोग गर्ने सामाजिक सञ्जालमा उनीमाथि गालीगलौजको ओइरो लागेको हुन्छ, तर यसलाइ उनले ‘वर्गीय समाजको रूप’ भनेर चित्त बुझाउँछन् । राजनीति जनताको माझमा होइन, मिडियाको मुखपृष्ठमा गर्नुपर्छ भन्ने ‘मिस्गाइडेड’ दिमागका कारण उनी पछिल्लो समय पूर्ण रूपमा बुर्जुवाकरणको दिशामा अगाडि बढेका छन् । जनयुद्धकालमा समेत सक्कली नामबाटै पत्रपत्रिकामा लेख छपाउनुको कारण उनीभित्रको मिडिया मोह बिल्कुलै नयाँ भने होइन । नयाँ संविधान घोषणा भएपछि बिबिसी नेपाली सेवामा पत्रकार रविन्द्र मिश्रसँग कुराकानी गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, ‘अरूले पनि मैलेजस्तै बाबुरामजीलाई झेलेर देखाऊन्, मैले दशकौंदेखि झेल्दै आइरहेको छु ।’ बाबुराम कृष्णभीरमा पहिरो गयो भने घोप्टेभीरको बाटो लाग्ने मानिस हुन् । दाहालको समूहमा पहिरो गएको सत्य हो, तर बाबुरामको शक्ति पहाडजस्तो बलियो छैन । अंगुर टिप्न नसकेपछि अमिलो भयो भन्ने मानिस हुन् बाबुराम । संविधान संशोधनको माध्यमबाट अनेकौं समुदायलाई चित्त बुझाउने पूर्वप्रधानमन्त्रीको भूमिकामा प्रवेश गर्नुको साटो ७० प्रतिशतभन्दा धेरै जनमतको अपव्याख्या गर्दै ‘आधा गिलास भरि र आधा गिलास खाली’ भनेका थिए । सिपी गजुरेलभन्दा सिके राउतको बचाउ गर्ने बाबुरामले भारतमा पुगेर १२ बुँदे सहमति गर्ने र त्योभन्दा पहिला असजिला समूहका नेता मोहन वैद्य र सिपी गजुरेललाई भारतकै जेलसम्म पु¥याउने योजना बनाएका थिए । शान्तिकालमा बुद्धिजिवी वर्गसामु आफू स्थापित भइसकेपछि दिनरात सोनिया गान्धीको चाकडी गरेर जेलमा रहेका ती दुई जना नेता जेलमुक्त भएका हुन् । विप्लव, प्रचण्ड भारतीयहरू बाट नसमातिनुका कारण उनीहरू लडाइँको फिल्डमा प्रत्यक्ष थिए । फिल्डमा खुफिया पठाउन सक्ने कुरै भएन । पार्टीको महत्वपूर्ण सूचना चुहावट गराइदिने आदत लागेका बाबुरामलाई तत्कालीन जनमुक्ति सेनाले कब्जामा राख्यो । नेताहरू जेलमुक्त भएसँगै एक प्रसंगमा तत्कालीन माओवादी नेता मातृका यादवले भनेका थिए, ‘बाबुरामजीले नेताहरूलाई जेलमुक्त गराउन महत्वपूर्ण भूमिका खेल्नुको मुख्य उद्देश्य उनीहरूसँगै संगठनमा बसेर अघि बढ्नका लागि होइन, किनभने बाबुरामलाई क्रान्तिकारी मानिससँग हृदयदेखि नै ठूलो घृणा छ ।’ यसअनुरुप सबैभन्दा पहिले मातृका यादव पार्टीबाट निस्के र क्रमशः मोहन वैद्य, विप्लव, देव गुरुङ, रामबहादुर थापा र पम्फाहरू टिक्न सकेनन् । अहिलेको स्थिति के हो भने यिनै टिक्न नसकेर निस्केकाहरू फेरि पार्टी एकताका नाममा प्रचण्डसँग नजिक हुँदैछन्, बाबुराम बाहिरिइसकेका छन् । बाबुराम बाहिरिनुमा नयाँ शक्तिको मात्र कारण होइन, यिनै माथि उल्लिखित विविध कारण हुन् । अहिले उनी जुन पथमा दौडेका छन्, त्यो मुस्ताङ पथ हुँदै होइन, मोदीपथ हो । मुलुकको विशिष्ट अवस्था पहिल्याउन नसक्ने कुनै पनि नेता स्वयं आफ्नो खुट्टाले दौडिरहेको हुँदैन, आफ्ना हातले लेखिरहेको हुँदैन, आफ्ना मुखले बोलिरहेको हुँदैन । त्यसैले बाबुराम नियोजित तथा प्रायोजित नयाँ शक्तिको वायुपंखी घोडा चढ्दै छन्, उडिरहेका छन् । उनी मस्त उडिरहेको त्यो वायुपंखी घोडालाई अघोषित नाकाबन्दीले कुनै प्रतिकूल असर पुर्याएको छैन ।
दिल्लीजस्तो सहज छैन दार्चुलाको देशः
सबैभन्दा पहिले नेपालको भौगोलिक बनोट दिल्लीको जस्तो सहज छैन । दिल्ली, जहाँ केजरीवाल अचानक उदाए । नेपालमा जति पनि मानिसले नयाँ शक्तिबारे अक्षर खेती गरेका छन्, उनीहरू कहीँ न कहीँ केजरिवालबाटै प्रभावित भएका हुन्। बाबुराम पनि यसमा अछुतो छैनन् । बुझ्नुपर्ने कुरा के भने नेपालका मतदाता दुर्गम गाउँमा दुःखका साथ बसेका छन्, जसलाई अखबारी लेखनमा फलेका नयाँ शक्तिको जरा, हाँगा र टुप्पोबारे केही थाहा छैन । दिल्लीजस्तो सहज छैन दार्चुलाको देश । जनतामा पुरानो शक्तिका असफलता पहिल्याउने साक्षरता दर कति छ भन्ने आधारमा नयाँ शक्तिको पैदा हुने हो । हाम्रोजस्तो अविकसित मुलुकमा इन्टरनेटको माध्यमबाट जनतालाई राजनीतिक सचेतना फैलाउँछु भन्ने कुरा नै झुटो हो । जनता गाविसमा छन्, तिनलाई गाँस, बास, कपास चाहिएको छ । नयाँ शक्तिको उद्घाटन कुनै पाँचतारे होटलमा हुन्छ । घोडाभन्दा छिटो दौडिने कार्यकर्ता चाहिन्छ नेपालमा राजनीति गर्न, चुनाव जित्न, स्थापित हुन तर सुकिला–मुकिलाहरू हात्तीजस्ता छन् । समग्रमा भन्नुपर्दा, बाबुराम यिनै हात्तीको प्रलोभनमा फसेर हाम्फालेका हुन् । एक बारको जुनीमा खिलराज रेग्मीको नयाँ संस्करण उदाउन पनि सक्छ, अस्ताउन पनि सक्छ । दुर्गम भेगका जनता सबै पार्टीका नाम सम्झिरहन सक्दैनन्, तर तिनले चुनावका बेला नेताहरूले दैलोमा टेकेर गरेका बाचा भने सम्झिरहन्छन् । बाबुराम आफ्नो जीवनकालमा जनताको घरमा बसेर धेरैपटक रोए, हाँसे, खाए, सुते, नाचे । त्यसैले, बाबुरामलाई जनताको आँगन नौलो होइन । तर, यसपालि बाबुरामले जुन कदम उठाए पक्कै पनि गरिब जनताका लागि यो नौलो भएको छ । बाबुरामले आफ्नो आँगन खनेर नयाँ घर बनाउन लागेको कुरा जनतालाई मन परेको छैन, असहज मानिरहेका छन् । बाबुरामले नयाँ शक्तिको उद्घघाटन काठमाडौंमा होइन, कालिकोटमा पुगेर गर्न सक्नुपथ्र्यो । तर, कालिकोटले बाबुरामलाई अझै एमाओवादी ठानिरहेको हुँदो हो । जबसम्म बाबुराम एमाओवादीका हुँदैनन् तबसम्म दार्चुला अनि कालिकोटका पनि हुँदैनन् । दार्चुला र कालिकोटसँग नहुनु भनेको सहिद परिवारसँग नहुनु हो, घाइतेसँग नहुनु हो, टुहुरा–टुहुरीसँग नहुनु हो । हुन त यी समुदायसँग धेरै वर्षअघि नै एमाओवादीको सम्बन्धबिच्छेद भएको हो । क्षतिपूर्ति्बिनाको पारपाचुके अन्यायपूर्ण हुन्छ, बाबुरामले हिसाबकिताब दिनुपर्छ । कि मलामी दिनुपर्छ कि मलम दिनुपर्छ, कि सास दिनुपर्छ कि लास दिनुपर्छ ।
विखण्डनकारी बाटोः
नयाँ शक्तिको पहिलो डकुमेन्टमा बाबुरामले संविधानमा असन्तोष देखाइरहेका केही जातिगत, क्षेत्रगत समूहहरूको नाम उल्लेख गरेका छन् । सोहीअनुसार कार्य विभाजन गरेका छन् । हाल जारी नाकाबन्दीमा संलग्न मधेसी मोर्चाका नेता उपेन्द्र यादवलाई उनले मुख्य अतिथि बनाएका छन् । र, अन्य धेरै यस्ता मानिसको जत्थाद्वारा घेरिएका छन् उनी, मानौं एमाओवादीमा छँदा बाबुरामको कुनै गुट थिएन, एक्ला थिए । उत्पीडित वर्गको माग सम्बोधन गराउने बाटो गणतान्त्रिक नेपालको संविधानसभामा खोज्न सकिन्छ, तर शिशु संविधानलाई नै उत्पीडनमा पारेर कुन निमुखा मानवलाई महामानव बनाउन खोजेको हो यसै भन्न सकिन्न । बाबुरामको नयाँ शक्तिको पहिलो मुद्दा विखण्डनको विन्दुमा उभिएको छ ।
विभिन्न जातजाति र समुदायलाई भड्काउने हिसाबबाट राजनीतिमा आफूलाई टिकाइराख्नु भनेको आँधीहुरी चलेको बेला पानीजहाजको जात्रा गर्नु जत्तिकै जोखिम हुन्छ । तैपनि बाबुरामले ६० वर्षको उमेर भन्दै बाँच्दासम्म देशको सेवा गर्छु भनेर ‘इमोसनल सेन्टिमेन्ट’ क्याच गरेका छन् । नेपाललाई आर्थिक प्रगतिको दिशामा प्रवेश गराउने बाबुरामको ‘फिलोसफी’ ले अब आराम गर्दा हुन्छ, बरु आत्मकथा लेखेर बस्दा दस्तावेजीकरणका लागि सहयोग होला । देश रबरको गुडियाजस्तो भएको छ र बाबुरामहरू रोबटजस्तो बनेका छन् । त्यो गुडिया कतिखेर कसले खेलाउँछ वा त्यो रोबट कतिखेर कहाँ थिचिन्छ कसैलाई थाहा हुँदैन । हामीलाई धेरैपटक थिचेका छन्, खेलाएका छन् । हामीले आफ्नो देशको संविधान आफैं बनाउन नपाउने ? त्यसैले होला करिब ३ महिना भइसक्यो जनताले अघोषित नाकाबन्दी सहनुपरेको तर खाना पकाउने ग्यासको मागमा कुनै जुलुस निस्केको छैन बरु धेरैपटक स्वाभिमानका जुलुस निस्के । जनताले हाँसेरै दाउरा चिरेका छन्, पैदल यात्रा गरेर लामो दुरी पार गरेका छन् किनभने तिनलाई थाहा छ आफ्ना सन्ततीलाई दलालको गुलाम बनाउनु छैन ।
साभार ः जनमञ्च


Post a Comment

 
Top