0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका साथै विभिन्न संघ–संस्थाहरुद्वारा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्य र प्रहरी निरीक्षक गणेश बमलाईलाई आईतबार स्वागत गरिएको छ । समितिका अध्यक्ष बिष्णुबहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्की तथा कास्की जिल्लामा क्रियाशिल सामुदायि सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी, लेखनाथ र कालिकाका अध्यक्ष एवं कार्य समिति सदस्यहरु, शान्तिघाट आमा समुह शान्तीवनका उपाध्यक्ष लक्ष्मी पहारी, शान्तिवन आमा समूहका अध्यक्ष कृष्णा कुमारी चौधरी एवं कार्य मसिति सदस्यहरु, शान्ति दर्शन टोल बिकास संस्था, शान्तिघाट विकास समितिका अध्यक्ष भक्तराज श्रेष्ठले प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्य र प्रहरी निरीक्षक गणेश बमलाई फूलमाला र खादा लगाई स्वागत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बज्राचार्यले राज्यले अपराध अनुसन्धान नियन्त्रण तथा रोकथाम, नागरिकको जिउधनको शान्ति सुरक्षाको अभिभारा नेपाल प्रहरी संगठनलाई सुम्पेको भएतापनि नागरिकको सहयोग बिना नेपाल प्रहरी एक्लैले जिम्मेवारी पुरा गर्न कठिन हुने बताए । उनले नागरिक सहयोग अपरिहार्य रहेको भन्दै नागरिक–प्रहरी हातेमालो कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए । 

उनले नागरिक प्रहरी बीचको सम्बन्धलाई सुमधुर बनाउनुपर्नेमा जोड दिए । उनले भने–‘नागरिक र प्रहरी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण एवं समाज भित्र रहेका समस्याहरु, तिनको पहिचान र समाधानका उपायहरु औंल्याउंदै नेपाल प्रहरीको अभिन्न अंगको रुपमा सामुदायिक सेवा केन्द्रहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।’ उनले आउने दिनहरुमा यस सम्बन्ध र कार्यक्रमहरुलाई अझ कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने बिषयमा छलफल गरी साझा धारणा बनाई कार्यक्रमहरुलाई लक्षित समुदाय र क्षेत्रसम्म पुर्याउने स्पष्ट पारे । 

मुलुकमा केही समयदेखि चलिरहेको मधेस आन्दोलन र अघोषित भारतीय नाकाबन्दीका कारण सर्वसाधारणले पेट्रोलियम पदार्थ, ग्यास लगायत अत्यावश्यकीय दैनिक उपभोग्य बस्तुहरुको कालोबजारीबाट पर्न गएको कठिनाई र चुनौतीहरुप्रति नेपाल प्रहरी अत्यन्तै सम्बेदनशिल रहेको भन्दै उनले त्यस्ता गतिबिधि हुन नदिन सबै एकजुट भई लाग्नु पर्ने बताए । नेपाल प्रहरीका सदस्यहरुको आचरण व्यवहार बिगतका दिनहरुमा भन्दा सुधार हुंदै आईरहेको र अझै पनि केही समस्याहरु रहेको उल्लेख गर्दै उनले अनुशासनहीन कार्य गनर्,े अनावश्यक सर्वसाधारण नागरिकलाई दुःख दिने कोही कसैलाई छुट नहुने बताए ।    

समितिका अध्यक्ष बिष्णु बहादुर भट्टराईले हालको ग्यास तथा पेट्रोलिय पदार्थ वितरण लगायत कालोबजारीयाहरुबाट जनसमुदाय अत्यन्तै मारमा परिरहेको बताए । उनले प्रहरी प्रशासन लगायत स्थानीय प्रशासनले गम्भीरतापूर्वक लिई अनुगमन तथा कार्वाही हुन पर्ने र सर्बसाधारणलाई शान्ति सुरक्षाको अनुभूतिका साथै दैनिक उपभोग्य बस्तुहरु सहजरुपले उपलब्ध हुनपर्नेमा जोड दिए ।  कार्यक्रममा संस्थापक अध्यक्ष मंगल बहादुर नेपाली, पूर्व अध्यक्ष एवं सल्लाहकार सीता गुरुङ, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, शान्ति दर्शन टोल विकास संस्थाका अध्यक्ष उत्तम जोशी, महासचिव चक्रपाणि सुबेदी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top