0
गोल्डेन न्यूज संवाददाता
युवाको नेतृत्व तथा क्षमता विकासमा क्रियाशील चार दशक पुरानो संस्था पोखरा जेसीजको सन् २०१६ को अध्यक्षमा गोविन्द देवकोटा चयन भएका छन् ।  विभिन्न क्षेत्रका १८ देखि ४० वर्ष उमेर समूहका एक सय बढि युवा सदस्य रहेको पोखरा जेसीजको शनिबार अबेर सम्पन्न ३६ औं अधिवेशन तथा ४१ औं वार्षिक साधारणसभाले गोविन्द देवकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै, कार्यकारिणी उपाध्यक्षमा शिव सुबेदी सर्वसम्मत चुनिए भने उपाध्यक्षमा यज्ञपुरुष रिजाल, अनन्त प्रधानाङ्ग, महेन्द्र सापकोटा र विनोद भुजेल निर्विरोध चयन भएका छन् । चार निर्देशकहरुमा शशि बरुवाल, प्रकाश घिमिरे, दिपेन्द्र बस्ताकोटी र अशोक पौडेल सर्वसम्मत चुनिए । अध्यक्ष देवकोटाले मनोनित पदहरुमा अध्यक्षीय सल्लाहकार किरण केसी, बोर्ड सल्लाहकार दीपेन्द्र पहारी, कानुनी सल्लाहकार शिवप्रसाद कोईराला, महासचिवमा सन्तोष शाही, सचिवमा मीनराज खड्का, कोषाध्यक्षमा शिवप्रसाद सापकोटा, प्रकरण निर्देशकमा शालिकराम गिरी तथा वृद्धि सभापतिमा शिवराज घिमिरेलाई नियुक्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष देवकोटाले आफ्नो एक वर्षे कार्यकालमा पोखराको गौरव मिस पोखरा ईभेण्ट जारी रहेकाले यसको गरिमालाई उँचो बनाउने गरी काम गर्ने, रानीपौवा स्थित पोखरा जेसीजको भवन स्तरोन्नति गर्ने योजना रहेको बताए । उनले सबै साथीहरुले सर्वसहमत अध्यक्षमा चयन गरेकाले सबैलाई समेटेर अघि बढ्ने पनि उल्लेख गरे । यसअघि, साधारणसभाको उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख प्रा. डा. देवेन्द्र लामिछानेले मुलुक अहिले विषम परिस्थितिमा रहेकाले यो समयमा युवाको भूमिका महत्वपूर्ण रहने बताए । उनले नेपाल कुनै कुरामा गरीब नभएको तर्क गर्दै सोचाई गरीब भएको उल्लेख गरे । युवा शक्तिका बारेमा चर्चा गर्दै उनले युवाहरु यसरी नै एकताबद्ध भएर सामाजिक कार्यमा सक्रिय रहन आग्रह पनि गरे ।
विशेष अतिथि नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर राजु केसीले पोखरा जेसीज मुलुककै उत्कृष्ट शाखा रहेको भन्दै चार दशकदेखिको आफ्नो शाखलाई कायम राख्न सदस्यहरु क्रियाशील रहनुपर्नेमा जोड दिए । सकारात्मक सोचका साथ सामाजिक कार्यमा लागिरहनुपर्ने उनको सुझाव छ । मुलुकमा शासन परिवर्तन भएपनि आर्थिक अवस्थामा रुपान्तरण हुन नसकेकोमा उनको चिन्ता थियो । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाट, ¥याण्डम रिडर्स सोसाईटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेल लगायतले युवाहरुको एकताले समाज विकासमा योगदान पुग्ने भएकाले यसरी नै अघि बढ्न सुझाव दिए । पोखरा जेसी वर्ष २०१५ का अध्यक्ष छवि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष किरण केसीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव शालिकराम गिरी र सचिव धनबहादुर शाही (सन्तोष) ले गरेका थिए । साधारणसभाको बन्दसत्रमा कार्यकारिणी उपाध्यक्ष किरण केसी, उपाध्यक्षहरु शिवराज घिमिरे (व्यवसायिक तर्फ), दुर्योधन खड्का (अन्तर्राष्ट्रियतर्फ),  नवीन थापा (व्यक्तिगततर्फ), सुवास सुवेदी (सामाजिक विकास क्षेत्रतर्फ), महासचिव शालिकराम गिरी, कोषाध्यक्ष अमृत बास्तोलाले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । पोखरा जेसीजले शनिबार नै पुर्व अध्यक्षहरुसँग अन्र्तक्रिया, समृद्धिका लागि युवा एकता शीर्षकमा सदस्यहरुबीच प्रवचन माला कार्यक्रम, कास्की जिल्लामा एसएलसीमा उत्कृष्ट अंक ल्याउने चार विद्यार्थी, उच्च मावि तहमा व्यवस्थापन संकायमा उच्चतम् अंक हासिल गर्ने एक विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै पोखरा जेसीजका विभिन्न विधामा उत्कृष्ट हुने सदस्यहरुलाई अवार्ड, मायाको चिनो सहित पुरस्कृत गरिएको थियो ।


Post a Comment

 
Top