0

गोल्डेन न्यूज संवाददाता
रेडियो सफलता पोखराको पाँचौ वार्षिकोत्सव तथा स्मारिका विमोचन सम्पन्न भएको छ । कार्यक्रमको नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिवद्ध रहेको बताए । ‘वर्तमान सरकार पूर्णप्रेस स्वतन्त्रतको पक्षमा प्रतिवद्ध छ, मन्त्री राईले भने–‘हामी आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रियामा पनि छांै ।’ आधुनिक प्रविधि र विकासको गतिलाई आत्मसाथ गर्दै आम नागरिकको सुशोचित हुन पाउने अधिकार प्रत्याभूतिका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको मन्त्री राईले बताए । मौजुदा नीति तथा कानूनहरुलाई परिमार्जन गर्दै सरकार आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रियामा रहेको उनले जानकारी दिए। नयाँ संविधानको रक्षा र कार्यान्वयनका लागि आफूहरु लागि परेको भन्दै नयाँ संविधानको रक्षा गर्नु सरकारको मुख्य दायित्व हो, मन्त्री राईले भने–‘संविधानमा विगतमा भएका आन्दोलनहरुका उपलब्धिहरुलाई संस्थागत गरिएको छ । ती सवैका साझा मुद्धाहरु थिए, संविधानलाई गलत भनेर भ्रामक प्रचार गर्नेहरुसंग सरकार सचेत छ ।’ कुनैपनि बाहनामा मुलुकको स्वाधिनता एवं सार्वभौमसत्ताको रक्षा माथि प्रश्न उठ्न नदिने दावी गर्दै उनले नयाँ उपब्धिहरुको संस्थागत विकास गर्दै राष्ट्र जोगाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

पछिल्लो समय नयाँ संविधान जारी पश्चात् छिमेकी भारतले गरेको व्यवहारका कारण मुलुकमा गम्भीर मानवीय संकट भोग्नु परेको उल्लेख गर्दै मन्त्री राइले वैधानिक तवरले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न सरकार क्रियाशिल रहेको बताए । नयाँ संविधानले कसैलाई पनि विभेद नगरेको बताउँदै मन्त्री राईले सीमाङ्कन लगायतका समस्याहरु संवैधानिक तवरले गर्न सकिने उनले स्पष्ट पारे । अहिले मुलुक नयाँ चरणमा प्रवेश गरेको भन्दै उनले बन्द, हड्ताल र नाकाबन्दी जस्ता अस्वभनीय कार्यलाई नेपाली नागरिकहरुले अस्वीकार गर्नुपर्नेमा जोड दिए ।  विविधतामा बाँधिएको नेपाली साङ्लो सारमा एकै भएको मन्त्री राईले दावी गरे । 

कार्यक्रममा साहित्यकार तेजनाथ घिमिरे, महिला उद्यमी रामकली खड्का, युवा उद्यमी एवं पर्यटनकर्मी किशम गुरुङ, कृषिमा योगदान गरेका विश्वनाथ पराजुली र पत्रकार ऋषि बराललाई सम्मान गरिएको थियो । उक्त अवसरमा बोल्दै सम्मानित व्यक्तित्व एवं वरिष्ठ साहित्यकार तेजनाथ घिमिरेले कला र साहित्य कर्मको यात्रामा हिंडिरहेका श्रष्टाहरुलाई सम्मान गरेर रेडियोले उदाहरणीय कार्य गरेको भन्दै आभार व्यक्त गरे । यस्तै अर्की सम्मानित महिला उद्यमी रामकली खड्काले समाजलाई सुसोचित गराउन आमाहरुको भूमिका अतुलनीय हुने भन्दै रेडियोले महिलाहरुलाई अझै प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु अगाडि बढाउनु पर्नेमा जोड दिइन । प्रतिभा छनौट समितिका संयोजक तथा संस्कृतिकर्मी कवि तीर्थ श्रेष्ठले सम्मानित व्यक्तित्वहरुको योगदान, क्रियाशिलता, योग्यताका आधारमा उनिहरुलाई छनौट गरिएको बताए ।

रेडियोमा स्थापनाकाल देखि निरन्तर कार्यरत कर्मचारी नारायण भट्टराई र भगवती पन्तलाई समेत सम्मान पत्रले सम्मान गरिएको थियो । पाचांै वर्ष पुरा गरेको अवसरमा रेडियोले पहिलो पटक सफलता स्मारिका समेत प्रकाशित गरेको छ । रेडियोकी प्रबन्ध निर्देशक दुर्गा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रमिला बराल र वीरेन्द्र सापकोटाले गरेका थिए ।



Post a Comment

 
Top