0
गोल्डेन न्यूज संवाददाता
कास्कीे आर्वाको महाप्रभु धाम, मणिदीप धाम, पञ्चासे, भलामस्थित हरिहर सन्यास गुफा आश्रम, पोखराको केदारेश्वर मन्दिरका साथै पोखरा उपमहानगर पालिका वडा नं १९ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र घार्मीमा यस वर्ष पनि बालाचर्तुदशी पर्वका अवसरमा सतवीज छर्ने कार्य सम्पन्न भएको छ । स्थानीय ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा त्यस क्षेत्रका भक्तजन तथा छिमेकी अर्मला, पुरञ्चौर, भलाम, सार्दीखोला, हेम्जा र पोखराका विभिन्न क्षेत्रबाट पुगेका भक्तालुहरुले आफ्ना पितृको सम्झना गरी मन्दिर परिसरमा सतवीज छरेका थिए । शतविज छर्न बिहान झिसमिसेमा भक्तालुहरु मन्दिर परिसरमा पु्गेका थिए । यसअघि स्थानिय लिला पौडेलको घरबाट फुलको डोली निकाली मन्दिर परिसरमा परिक्रमा गराइएको समितिका नन्दराज दाहालले जानकारी दिए । डोलीलाई स्थानीय भजन मण्डल, आमा समूह तथा कर्ता, मन्दिरका अध्यक्षे टिकाराम पौडेल लगायतका टोलीले मन्दिर परिसरसम्म व्यवस्थापन गरेका थिए । सहभागी भक्तजन हरुले आफ्ना पित्तृहरुको सम्झना गर्दै मन्दिरलाई आर्थिक सहयोग समेत गरेका थिए । भक्तालुहरुबाट करिब पन्ध हजार संकलन भएको दाहालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । भजनकीर्तन र बाजागाजा सहित आयोजना गरिएको कार्यक्रममा साँझसम्म पनि मन्दिरमा पूजा गर्ने र सतवीज छर्न मन्दिर परिसरमा भक्तालुहरुको घुईँचो लागेको थियो । स्थानीय भजन मण्डलीले दिनभरजसो भजनकीर्तन गरेका थिए । त्यस क्षेत्रमा पुगेका भक्तजनहरुले घार्मीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय वासिन्दालाई सुझाव दिएका छन । घार्मीमा पछिल्ला दिनमा दृश्य अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु पुग्ने गर्दछन । बाला चतुर्दशी पर्व र शिवरात्रीमा त्यस क्षेत्रमा धार्मिक मेलानै लाग्ने गरेको छ ।
 
यसैगरी कास्कीको पञ्चासेमा यस बर्ष सतवीज छर्नेको भीड नै लागेको छ । पर्वत, कास्की, स्याङ्गजा, बागलुङ्ग लगायतका क्षेत्रबाट हजारौं श्रद्धालुहरु पञ्चासे आएको पञ्चासे क्षेत्र बिकास समितिका अध्यक्ष गोपाल गुरुङ्गले जानकारी दिए । मुलुकमै सबैभन्दा लामो क्षेत्रमा सतवीज छर्ने स्थान पञ्चासे हो । यहाँ निरन्तर डेढ घण्टाको पैदल दुरीमा पञ्चकोशी ताल देखि सिद्धबाब मन्दिर सम्म सतवीज छरिदै आएको छ। त्यस्तै अलपेश्वर गुफामा गुफा संरक्षण समितिको आयोजनामा मेला लागेको छ । मेलामा भजन कृतन तथा नाचगान भैरहेको छ । शिव मन्दिरहरुमा हरेक वर्षको बालाचतुर्दशी, शिवरात्री, रामनवमी, साउन महिनाभर पूजाआजा हुने गरेको छ । यसैगरी बालाचर्तुदशीको अवसरमा पर्वत जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिकस्थलमा सत्बिज छर्ने भक्तालुहरुको घुईचो लागेको छ । सदरमुकाम कुश्माबजार स्थित गुप्तेश्वर गुफा र कटुवाचौपारी गाविसका रहेको अलपेश्वर गुफामा विशेष मेला लागेको छ । बालाचतुर्दशीकै अवसरमा दक्षिण पर्वतमा रहेको विश्वकै ठुलो शालिग्राम शिला, पर्वत, कास्की र स्याङजाको सिमानामा रहेको पञ्चासे, डहरे देउराली लगायतका स्थानमा पनि बिहानै देखि सतवीज छर्नेको घुँइचो लागेको छ । उद्योग वाणिज्य संघ पर्वतले गुप्तेश्वर गुफामा सत्विज छर्ने कार्यक्रम आयोजना गरेको छ । मेलाको अवसरमा उद्योग बाणिज्य संघको अगुवाईमा सदरमुकाम कुश्माबजारमा भजनकीर्तन र बाजागाजा सहितको ¥याली समेत निकालिएको थियो । मेला भर्नका लागि पर्वत, बागलुङ, म्याग्दी, कास्की लगायतका जिल्लावाट हजारौको संख्यामा दर्शनार्थीहरुको भिड लागेको छ ।



Post a Comment

 
Top