0
गोल्डेन न्यूज संवाददाता
भारतको अघोषित नाकाबन्दी पछि पोखरा र लेखनाथमा अहिलेसम्मकै ठूलो परिमाणमा पेट्रोलियम पदार्थको वितरण हुने भएको छ । मंसिर २३ र २४ गते यस क्षेत्रमा नीजि तथा भाडाका सवारी साधन र मोटरसाइक तथा स्कुटरलाई गरी एक लाख ६८ हजार लिटर पेट्रोल वितरण हुँदैछ । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतको अध्यक्षतामा पेट्रोल वितरण सम्वन्धमा बसेको बैठकले उक्त परिमाणको पेट्रोल कास्कीका २८ वटा पम्पबाट व्यवस्थित तवरले वितरण गर्ने निर्णय गरेको हो । यस पटक मोटर साइकल र स्कुटरका लागि मंसिर २३ गते १५ वटा पम्पबाट जोर विजोर नम्बरका आधारमा प्रतिम मोटरसाइकल र स्कुटरलाई ४ सय रुपैयाको पेट्रोल उपलब्ध गराउने निर्णय भएको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव राजन गोंगजुले जानकारी दिए । ग्राहकहरुले आफ्नो नम्बर जोर भए जोरका लागि र विजोर नम्बर भए विजोर नम्बरका लागि पेट्रोल बितरण गर्न तोकिएको पेट्रोल पम्पबाट पेट्रोल पाउने गरी व्यवस्था मिलाएको महासचिव गोंगजुले जानकारी दिए ।
 
लेखनाथमा जोर नम्बर प्लेट भएका मोटरसाइकलका लागि वेलकम ट्रेडर्स पावरहाउस गगनगौंडाबाट ६ हजार लिटर र शुभजगदम्बा आयल स्टोर्स डाँडाको नाकबाट ६ हजार लिटर बितरण हुनेछ । लेखनाथमै विजोर नम्बरको मोटरसाइकलका लागि पृथ्वीराज मार्ग पेट्रोलियम प्रा.लि तालचोकबाट ६ हजार लिटर पेट्रोल बितरण हुनेछ । यसैगरी पोखराबाट जोर नम्बरका मोटरसाइकलका लागि ऋषि एण्ड ब्रदर्श (साझा पेट्रोल पम्प) बुद्धचोक, पञ्चरत्न आयल स्टोर्स बसपार्क, अन्नपूर्ण आयल स्टोर्स बिरौटा र कालिका पेट्रोल पम्प पोखरा र उत्तम आयल स्टोर्स विन्ध्यवासिनीबाट वितरण हुनेछ । प्रति पम्प ६ हजार लिटरका दरले पेट्रोल उपलब्ध गराइएको छ ।
 
यता सशस्त्र प्रहरीबलको कालिका फ्यूल स्टेशनबाट सरकारी, सार्वजनिक, संस्थान, सुरक्षाकर्मी, कुटनीतिक नियोगका मोटर साइकल तथा स्कुटर र पत्रकारका लागि पत्रकार महासंघको सिफारिसबाट लागि ५ सय लिटर गरी ६ हजार लिटर पेट्रोल वितरण हुने छ । यसैगरी पोखरामा विजोर नम्बरका मोटरसाइकलका लागि श्रीओम पेट्रोलियम टे«डर्स चाउथे, शारदा आयल स्टोर्स पोखरा, कमला आयल स्टोर्स नागढुंगा पोखरा, न्यूविवेक आयल स्टोर्स नयाँबजार, सागर आयल स्टोर्स पोखरा र थापा आयल स्टोर्स हेमजाबाट ६ हजार लिटर पेट्रोल बितरण हुनेछ । जोर बिजोर नम्बरका आधारमा विहान ८ बजेदेखि वितरण हुने गरी व्यवस्था मिलाइएको जनाइएको छ ।
 
यसैगरी नीजि तथा कालो नम्बर प्लेटका सवारी साधनका लागि १३ वटा पम्पबाट पेट्रोल बितरणको व्यवस्था मिलाइएको छ । लेखनाथमा नीजि सवारी साधनका लागि पश्चिमाञ्चल टे«डर्स तालचोकबाट ६ हजार लिटर भाडाका कालो नम्बर प्लेटका लागि जुपिटर आयल स्टोर्स बिजयपुरबाट ६ हजार लिटर, पोखरामा कालो नम्बर प्लेटका लागि मनकामना आयल स्टोर्स बुद्धचोक, कमला आयल स्टोर्स, अटोक्लिन पोखरा, रानीपौवा आयल स्टोर्स, बराल आयल स्टोर्स र पराजुली आयल स्टोर्सबाट प्रतिपम्प ६ हजार लिटरका दरले वितरण हुनेछ । नीजि सवारी साधनका लागि हिमालयन पेट्रोलियम पम्प, जगदम्बा आयल स्टोर्स, विश्वास आयल स्टोर्स र जयवुद्ध आयल स्टोर्सबाट प्रतिपम्प ६ हजार लिटरका दरले पेट्रोल वितरण हुने छ ।
 
यसैगरी शसस्त्र प्रहरी बलको कालिका फ्यूल स्टेशनबाट पर्यटन, सेतो र पहेलो नम्बर प्लेट तथा कुटनीतिक नियोगका सवारी साधनलाई पेट्रोल वितरण गरिने छ । नीजि तथा भाडाका सवारी साधनका लागि प्रति साधन एक हजार ५ सय रुपैयाँका दरले पेट्रोल उपलब्ध गराइने छ । गत कात्र्तिक १७ गते ४४ हजार र मंसिर २ मा ५७ हजार लिटर पेट्रोल बजारमा आएको थियो । नाकाबन्दीपछि मंसिर २३ र २४ मा ठूलो परिमाणमा पेट्रोल बितरण हुन लागेको हो । यसैगरी धौलागिरी अंचलका लागि १२ हजार, तनहुँका लागि ६ हजार र स्याङजाका लागि ६ हजार लिटर पेट्रोल बितरण गर्ने गरी व्यवस्था मिलाइएको गोंगजुले जानकारी दिए ।






Post a Comment

 
Top