0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा रहेका पोखरा विश्वविद्यालय सभाका सभासद् हरूले पोखरा विश्वविद्यालयको समग्र सुधारमा जोड दिएका छन् । पोखरा विश्वविद्यालयका उपकुलपति प्र्रा. चिरञ्जीवी प्रसाद शर्मा र रजिष्ट्रार गोविन्द प्रसाद शर्माले यहि मंसिर महिनाको २७ गते हुन गइरहेको विश्वविद्यालयको १६ औं साधारण सभाको बैठकका प्रस्तुत हुने प्रस्तावका एजेण्डाहरूको बारेमा साझा अवधारणा बनाउँन आयोजना गरेको नवनियुक्त स्थानीय सभासद्हरूको स्वागत र अन्तरक्रिया कार्यक्रममा स्थानीय सभासद्हरूले आन्तरिक र वाह्यरूपमा विश्वविद्यालयलाई मजबूत बनाउनुपर्नेमा सुझाव दिएका थिए । सभासद्हरूले विश्वविद्यालय लाई ढुंगेपाटनको चार दिवार भित्रमात्र सीमित गर्न नहुने, आंगिक कलेजको विस्तारमा जोड दिनुपर्ने र परीक्षा प्रणालीमा व्यापक सुधार गर्दै एकाडेमिक क्यालेण्डर अनुसार समयमा नै परीक्षा लिनुपर्ने कुरालाई जोडदार रुपमा उठाएका थिए । उनीहरूले विश्वविद्यालय भित्र बन्द हड्तालको राजनीति अन्त्य गरिनुपर्ने, प्राध्यापकहरूको पेशागत हकहितलाई सुनिश्चित गरेर अगाडि बढ्नुपर्ने, समस्याको न्यूनिकरणमा स्थानीय सभासद् र नागरिक समाजसँग हातेमालो गर्नुपर्ने, प्राज्ञिक व्यक्तित्वहरूलाई विश्वविद्यालयले समेट्नुपर्ने कुरामा समेत जोड दिएका थिए । विगतका कमीकमजोरीलाई समीक्षा गरी विश्वविद्यालयले शैक्षिक योजना तयार गर्नुपर्ने र विश्वविद्यालयको भावी रणनीति तयार गर्न विशेष सभा समेत बोलाउन सभासद्ले सुझाव दिएका थिए । सुझाव दिनुहुने सभासद्हरूमा, ला ग्राण्डी इन्टरनेशनल कलेजका संस्थापक देवराज चालिसे, त्रिभुवन शान्ति उच्च माविका प्रधानाध्यापक मित्रलाल सापकोटा, लक्ष्मी गु्रपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, मल्टी मोडल उच्चमाविका प्रधानाध्यापक कृष्ण के.सी., वनविज्ञान अध्ययन संस्थान पोखराका सहप्राध्यापक हरिप्रसाद त्रिपाठी, पृथ्वी नारायण क्याम्पस पोखराका सहप्राध्यापकद्वय कमल ढकाल, हुतराज शर्मा तथा उपप्राध्यापक कमलराज पौडेल, पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति उपप्र्राध्यापक निराजन बम र उपप्राध्यापक बुद्धिराज जोशी थिए ।उपकुलपति प्रा. चिरञ्जीवी प्रसाद शर्मा, रजिष्ट्रार गोविन्द प्रसाद शर्मा र मानविकी तथा सामाजिक शास्त्र संकाय, पोविका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले सभासद्हरूले उठाएका विषय र सुझावलाई मध्यनजर गर्दै विश्वविद्यालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गर्ने बताएका थिए ।




Post a Comment

 
Top