0
गोल्डेन न्यूज संवाददाता
गोरखा खरिबोटकी मनमाया तामाङ गण्डकी च्याम्पियन–२०७२ बन्न सफल भएकी छन् । नव साधना कला केन्दद्वारा शनिबार पोखरामा आयोजित एकल नृत्य प्रतियोगिताको फाइनलमा चौध प्रतिस्पर्धीलाई पछाडि पार्दै मनमाया गण्डकी च्याम्पियन बन्न सफल भएकी हुन् । गोरे गुरुङ, राजबहादुर गुरुङ र प्रदिप राजपाल निर्णायक रहेको निर्णायक मण्डलले दिएको अंक र भोटको आधारमा मनमाया तामाङले गण्डकी च्याम्पियन–२०७२ को उपाधि जित्न सफल भएकी थिइन् । गण्डकी च्याम्पियनको उपाधिसंगै मनमायाले नगद ५० हजार रुपैयाँ हात पारेकी छन् । गण्डकी च्याम्पियन बनेसंगै मनमायालाई नेपाली चलचित्र र म्युजिक भिडियोमा समेत अभिनय गर्ने अबसर प्रदान गरिने प्रतियोगिताका संयोजक अब्बु मियाले बताए । प्रतियोगितामा लेखनाथ सैनिकबस्तीकी सितल गुरुङ दोस्रो स्थानमा आउन सफल बनिन् । शितलले नगद २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारिन । त्यस्तै,  एक्लेखेत तनहुँका सुसन पुन र गोरखा ताङ्लीचोकका लक्ष्मी थापामगरले प्रतियोगिताको क्रमशः तेस्रो र सान्त्वना पुरस्कार जित्न सफल भए । सुसनले नगद १५ हजार र लक्ष्मीले १० हजार रुपैयाँको साथमा ट्रफी हात पारे । प्रतियोगिताको उत्कृष्ट अनुशासन तर्फको उपाधि स्याङ्जा ओरस्टेका सिमाना थापामगरले र उत्कृष्ठ भेषभूषातर्फको उपाधि टिकामाया गुरुङले जित्न सफल भए । कला, संस्कृतिको जगेर्ना, नवप्रतिभाको खोजी, स्रष्टा सम्मान र असहायका लागि सहयोगार्थ कला केन्द्रले गत साउन महिनादेखि गण्डकी अञ्चलको बिभिन्न क्षेत्रमा गएर प्रतिभाहरुको अडिसन शुरु गरेको थियो । पहिलो अडिसनबाट उत्तिर्ण ४६ जना मध्ये फाइनलका लागि १५ पतियोगीहरुका बिचमा प्रतिस्पर्धा गराइएको नव साधना कला केन्द्रका रबिन गुरुङले बताए । फाइनल चरणमा निर्णायक मण्डलका लागि ६० र भोटिङ प्रक्रियाका लागि ४० अंक छुट्याइएको थियो । सो अबसरमा नेपाली लोक गीत र संगीतमा बिशेष योगदान पु¥याएको भन्दै गायक धनबहादुर गायकलाई नगद १० हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । प्रमुख अतिथि एबं लोक गायक तथा संस्कृतिकर्मी पदमराज ढकालले गायकलाई दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए ।


Post a Comment

 
Top