0
गोल्डेन न्यूज संवाददाता
अभियान युवा क्लवको आयोजनामा पोखराको जिरो किमिमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । क्लवले यहि मंसिर १९ गते शनिबार आफ्नो नवौंं बार्षिकोत्सवको अवसर पारेर दन्तरोग, पाठेघर÷ स्त्रीरोग, मधुमेह (सुगर) तथा हाडजोर्नीको खनीज मापन परिक्षण सेवा सम्बन्धि निःशुल्क शिविर गर्न लागेको हो । शिविर बिहान ८ः०० बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । दन्तरोग सम्वन्धी विशेषज्ञ कान्तिपुर डेन्टल हस्पिटल न्यूरोडको टोली, स्त्री तथा पाठेघर सम्वन्धी विशेषज्ञ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रसुति विभागमा कार्यरत डा. तारा गुरुङ तथा मधूमेह र हाडजोर्नीको खनिज मापन परीक्षण सम्वन्धी पिएचआर सुमित क्षेत्री आउने क्लवका सहसचिव राजु गिरीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए। शिविरका लागि जनस्वास्थ्य कार्यालय कास्कीबाट स्वीकृत लिईसकिएको र आन्तरिक कामहरु पूरा भईसकेको क्लवका अध्यक्ष बसन्त गिरीले बताएका छन् । साथै उनले शिविरमा सहभागि भई लाभ उठाउनका लागि सम्पूर्णलाई आग्रह गरेका छन् । क्लवले आफ्नो बार्षिकोत्सवको अवसरमा शुक्रबार बेलुका जिरो कि.मि.चोकमा दीप प्रज्ज्वलन कार्यक्रम राख्ने कार्यक्रमका संयोजक मोहन बहादुर केसीले बताए । त्यसैगरि शनिबार बेलुका जिरो किमीमा साँस्कृतिक कार्यक्रमका साथमा सम्मान कार्यक्रम राखिने पनि संयोजकले बताए । बार्षिकोत्सवमा गरिने विभिन्न कार्यहरुको लागि उपसमिति तथा संयोजक पनि चयन गरेको छ । जसमा दिप प्रज्वलनमा विश्वराज केसी, दन्तरोग शिविरमा राजु गिरी, प्रचारप्रसारमा रमेश जिशि र ध्रुव बहादुर नेपाली, फोटोग्राफिमा मुक्त गिरी तथा अतिथि सत्कारमा मोहन बहादुर केसी रहेका छन् ।
 
यसैगरी लायन्स क्लव पोखरा पिस हिमालयन सिटीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । लायन्स क्लव अन्तर्राष्ट्रिय नेपाल डिष्ट्रिक्ट ३२५ वी वान अन्तर्गत गठित पीस हिमालयन सिटीले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सम्बन्धी सचेतना पु¥याउने उद्देश्यले उक्त शिविर आयोजन गर्न लागेको हो । शिविर सम्पन्न गर्नका लागि क्लवका सदस्य जर्नादन बाँस्तोलाको संयोजकत्वमा गोविन्द काफ्ले, धर्मदत्त शर्मा, टंक खनाल र बुद्धिमान शर्मा सदस्य रहेको समिति गठन गरिएको क्वलका अध्यक्ष टेकनारायण पौडेलले बताए । पिस हिमालयन सिटीले पोखरा उमनपा–१७ स्थित हिमालय वोर्डिङ स्कूल प्राङ्गणमा मङ्सिर १९ गते शनिवार विहान ८ बजेदेखि स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको भन्दै अध्यक्ष पौडेलले शिविरमा आफ्नो स्वास्थ्यको जाँच गरी निःशुल्क सेवा लिनका लागि स्थानीय सर्वसाधारणलाई आग्रह गरे । शिविरमा युआएल पोखरा, नमस्ते हस्पिटल विरौटा र विध्यवासिनी डेन्टल केयर प्रालिको प्राविधिक सहयोगमा हुने उक्त सिविरमा रक्तपरीक्षण, मधुमेह जाँच, प्रसुति सम्बन्धी सेवा, दन्त परीक्षण लगायतका सेवाहरु अनुभवी प्राविधिक तथा चिकित्सकबाट उपलब्ध गराईने छ । शिविरमा सहभागी भई उपचार सेवा लिएका विरामीहरुको अन्य जाँचमा समेत युआएलले ५० प्रतिशत छुटमा सेवा दिने जनाएको छ ।



Post a Comment

 
Top