0
गोल्डेन न्यूज संवाददाता
पर्वत जिल्लाकै सवैभन्दा पहिलो क्याम्पस आर्थिक संकटमा परेको छ । जिल्लाको फलेवास क्षेत्रमा पर्ने देविस्थानमा संचालित पर्वत बहुमुखी क्याम्पस आर्थिक अभावका कारण संचालनमा समस्या देखिएको छ । २०४१ सालमा स्थापना भएको क्याम्पस पछिल्लो समयमा आएर आर्थिक अभावमा गुज्रिएको हो । आर्थिक अभावका कारण क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले एक वर्षको तलब सुविधा पाउन सकेका छैनन । लामो समयसम्म तलब सुविधा नपाउँदा शिक्षकहरुले पठनपाठन समेत बन्द गराएका छन् । क्याम्पस संचालक समितिले शिक्षकहरुलाई समयमै तलब सुविधा उपलव्ध गराउन नसक्दा समस्या देखिएको हो । अहिले क्याम्पसमा १७ जना शिक्षक तथा कर्मचारी रहेका छन् । उनीहरुका लागि मासिक झण्डै ३ लाख रुपैयाँ रकम तलब सुविधाका लागि खर्च हुने भएपनि त्यति रकम क्याम्पसको मासिक आम्दानी नहुने भएकाले संकटमा पर्न थालेको हो । केहि वर्ष अघि सम्म प्रविणता प्रमाणपत्र तह समेत संचालन हुँदा विद्यार्थीको संख्या पनि धेरै हुने र आम्दानीले समेत थेगेको थियो तर अहिले स्नातक तहका कक्षामात्र संचालन गर्दा विद्यार्थीको संख्या समेत कम भएको र मासिक आम्दानी समेत कम भएकाले संचालन गर्न समस्या परेको छ । अहिले स्नातक तहमा मानविकि, बाणिज्य, र शिक्षा संकायमा पढाई हुने गरेको छ । अहिले स्नातक तहमा जम्मा १ सय २० जना विद्यार्थी अध्ययनरत रहेका छन् । आम्दानी भन्दा खर्च दोब्बरले बढि भएपछि क्याम्पसमा आर्थिक समस्या पर्दै आएको क्याम्पस प्रमुख जगतबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुको संख्या कम हुँदा पर्याप्त आम्दानी समेत नहुने र अन्य कुनै निकायवाट आम्दानीको श्रोत नहुँदा शिक्षकहरुलाई मासिक रुपमा तलब भुक्तानी गर्न नसकिएको हो । अहिले तत्कालका लागि झण्डै ४० लाख रुपैया आवश्यक पर्ने भएपनि क्याम्पसँग त्यसको झण्डै २० प्रतिशत मात्र रकम मौज्दात रहेको छ । तलब सुविधा नपाउँदा शिक्षकहरुले पढाउन समेत छाडेको विद्यार्थीहरुले गुनासो गरेका छन् । क्याम्पसमा शिक्षकहरुले पढाउन छाडेका कारण भविष्यनै अन्यौलमा पर्ने चिन्ता बढेको विद्यार्थीहरुको गुनासो छ ।



Post a Comment

 
Top