0
गोल्डेन न्यूज संवाददाता
आन्दोलनरत मधेसी मोर्चा र प्रमुख तीन दलबीच सोमबार बालुवाटारमा भएको शीर्ष बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको छ। थप आन्तरिक छलफल गरेर फेरि बैठक गर्ने भन्दै नेताहरु बालुवाटारबाट निस्केका छन्। बाहिरिएका मोर्चाका नेताहरुले बैठक एजेन्डामा प्रवेश नै नगरेको प्रतिक्रिया दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णायक छलफल गर्ने भनेर बोलाएको त्रिपक्षीय बैठकमा कांग्रेस, सत्तारुढ दल तथा मधेसी मोर्चाका नेताहरु सहभागी थिए। वार्तामा कांग्रेस नेतृत्वको सरकारले संसदमा पेस गरेको दुई बुँदे संविधान संशोधन प्रस्तावका विषयमा मोर्चासँग सामान्य छलफल भएको थियो। कांग्रेस नेतृत्वको सरकारले ल्याएको संशोधन प्रस्तावमा तराईमा आन्दोलनरत मधेसी मोर्चाले सहमति जनाएमा एमालेले पनि सहमति जनाउने रणनीति बनाए पनि मोर्चा एजेन्डामा प्रवेश गर्न नचाहेको स्रोतले बतायो। सेना परिचालन गर्ने सरकारको धम्कीप्रति मोर्चाका नेताहरुले कडा आपत्ति जनाएका थिए। मोर्चाका शीर्ष नेताहरुले बिराटनगरमा बैठक गरेर बालुवाटारमा महन्थ ठाकुर, हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्णलगायतलाई पठाएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले सोमबारको वार्ता सकारात्मक भएको र बुधबार बेलुका फेरि मधेसी मोर्चासँग वार्ता हुने जानकारी दिए। बुधबार बेलुकासम्म आन्तरिक गृहकार्य र अनौचारिक तहमा छलफल हुनेछ।
सोमबारको बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, कांग्रेसका शभापति सुशील कोइराला, वरिष्ठ नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल तथा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सहभागी थिए। निर्णायक वार्ताअघि ओलीले सत्तारुढ र विपक्षी नेताहरुसँग अलगअलग भेटेर परामर्श गरेका छन् । मधेसी मोर्चासँगको वार्तामा साझा अवधारणा बनाउन कांग्रेस, एमाले र एमाओवादीका नेताहरुबीच विभिन्न तहमा अनौपचारिक वार्ता भइरहेको छ। उपचारका लागि अमेरिका पुगेका प्रमुख प्रतिपक्ष दलका नेता कांग्रेसका सभापति शुशिल कोइराला स्वदेश फर्केपछि नेताहरु छलफलमा जुटेका हुन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले शनिबार नै सुशील र प्रधानमन्त्रीसँग अलग–अलग भेटेर छलफल गरेका थिए।शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुक अत्यन्त गंभिर र संकटपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै निर्णायक वार्ता बैठक बोलाउन प्रधानमन्त्री समक्ष प्रस्ताव राखेका थिए ।
कांग्रेसले संसदमा आफूले राखेको संशोधनको प्रस्ताव अगाडि बढाउनु पर्ने अडान राख्दै आएको छ । तर त्यसलाई मोर्चासँग छलफल गरी उसको समेत सहमतिमा अघि बढाउनुपर्ने र प्याकेजमै सहमति खोजिनुपर्ने प्रस्ताव प्रचण्डले अघि सारेका छन्। त्यसमा प्रधानमन्त्री लचिलो देखिएका छन्। सरकारले मधेसी मोर्चासँग निर्णायक वार्ताको तयारी गरिरहेका बेला भारतीय राजदूत रन्रुजित रेले आइतबार बेलुका प्रमुख प्रतिपक्षी कांग्रेस सभापति सुशील कोइराला र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मधेसी मोर्चाले मुख्य मुद्दाको रुपमा राख्दै आएको प्रदेशको सिमांकनका विषयमा केन्द्रित भएर निर्णायक छलफल गर्ने सरकारको तयारी छ। मधेसी मोर्चासँगको वार्ता सिमांकनका कारण निश्रुकर्ष्बिहिन बन्दै आएको छ। मोर्चाले तराई मधेसमा कम्तिमा दुईवटा प्रदेश हुने गरी सीमांकन पुनरावलोकन गर्नुपर्ने माग राख्दै आएको छ।
बैठकमा प्रधानमन्त्री ओलीले मधेस आन्दोलन र नाकाबन्दीका कारण जनता र मुलुकले लामोसमयदेखि बेहोर्दै आएको सास्ती अन्त्य गर्न सबैले गम्भीर भएर परिणाममुखी र सार्थक वार्ताद्धारा समाधान निकाल्न सबैमा आग्रह गरेका थिए। त्यसपछि कांग्रेसका सभापति सुशील कोइरालाले विद्यमान राजनीतिक गतिरोधको अन्त्यका लागि तत्काल संसदमा आफ्नो नेतृत्वको सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्ताव पारित गरेर स्थितीको सहजीकरणतर्फ लाग्नु सुझाव दिएका थिए । कोइरालाले संविधानमा संशोधन गरी समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी व्यवस्थाले पनि समस्या समाधानका लागि सहज वातावरण हुने बताएको बैठकपछि राप्रपा संसदीय दलका नेता दिपक बोहोराले बताए। कोइरालाको प्रस्तावको समर्थन गर्दै आफूले पनि बैठकमा प्रमुख दलले संसदमा गएको संविधान संशोधनको प्रस्ताव पारित गर्न र मधेसमा आन्दालनरत दलले पनि नाकाबन्दी र राजमार्ग अवरोध जस्ता आन्दोलनका कार्यक्रम नगरी स्थितीलाई सहज बनाउनु पर्ने सुझाव दिएको बोहोराले बताए। सिमांकनको विवाद समाधानका लागि दलका नेताहरु गम्भिर छलफल गरी अघि बढ्न सकिने भन्दै उनले आन्दोलनरत पक्षले पनि आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गरी अघि बढ्न सकिने बताएका थिए। बैठकमा नेताहरुबीच कुनै सहमति जुट्न नसकेपनि बुधबार साँझ पुनः बस्नेगरी बैठक टुंगीएको बैठकपछि कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बताए । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भएको सरकार, नेपाली काँग्रेस र मधेशी मोर्चा बीचको वार्ता सकारात्मक भएको बताएका छन्। बालुवाटारमा भएको वार्तापछि ट्वीट गर्दै उनले ’छलफल सकारात्मक’ भएको बताएका हुन्। उनले आफ्नो आधिकारिक ट्वीटरमा लेखेका छन्,–‘सत्तापक्ष,प्रमुख प्रतिपक्ष र  मधेसी मोर्चाबीच आज भएको छलफल सकारात्मक रह्यो। द्विपक्षीय, त्रिपक्षीय वार्ता जारी राख्दै १६ गते  ६ बजे फेरि संयुक्त छलफल गर्ने निर्णय भएको छ। सरकारले वार्ताको थप वातावरण निर्माण गर्ने छ।’ सरकारले वार्ताको थप वातावरण निर्माण गर्ने उनले उल्लेखन गरेका छन् ।



Post a Comment

 
Top