0
गोल्डेन न्यूज संवाददाता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्यकारी निर्देशक विजयराज गौतमले मानवअधिकार उल्लङ्घन र ज्यादतिका घटनाको सन्तुलित अभिलेखीकरण नै इन्सेकको पहिचान भएको बताए । इन्सेकद्वारा मङ्सिर २८ गते पोखरामा आयोजित नेपालका मानवअधिकार रक्षकको संरक्षण सम्बन्धी परियोजनाको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै इन्सेकका कार्यकारी निर्देशक गौतमले हरेक आन्दोलन तथा घटनाको इन्सेकले अग्रपंक्तिमा रहेर सत्य तथ्य, निष्पक्ष र सन्तुलित रुपमा अनुगमन अनुसन्धान सहित अभिलेखिकरण गरेको बताए । उनले राज्य पक्ष वा गैरराज्यपक्षबाट भएका जुनसुकै घटनामा मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा सन्धी महासन्धीका आधारमा रहेर अनुगमन र अनुसन्धान गरी मानवअधिकार प्रतिवेदन सार्वजनिक गरिदै आएको जानकारी दिए । कार्यकारी निर्देशक गौतमले मानवअधिकार उल्लङ्घन र ज्यादतिका घटनाको बारेमा इन्सेकले कसैसंग प्रतिस्पर्धा नगरी सैद्धान्तिक र संस्थागत रुपमा स्पष्ट आवाज उठाइरहनु पर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा इन्सेकद्वारा सञ्चालित नेपालका मावनअधिकार रक्षकको संरक्षण सम्बन्धी परियोजनको बारेमा सम्पन्न क्रियाकलापहरु, त्यसको उपलब्धी र भावी कार्ययोजनका बारेमा छलफल गरिएको परियोजना प्रमुख मदन पौडेलले बताए ।सो अवसरमा इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापा, मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतम, पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेल, मध्यपश्चिमाञ्चल क्षेत्रीय संयोजक भोला महत, सुदूर पश्चिमाञ्चल क्षेत्रीय संयोजक खड्गराज जोशीले क्षेत्रगत रुपमा मानवअधिकारको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा परियोजना अन्तर्गत सम्पन्न गतिविधि, उपलब्धी, सिकाई, चुनौतिका बारेमा इन्सेक पूर्वाञ्चलका प्रलेख अधिकृत दीपेन न्यौपाने, मध्यमाञ्चलका प्रलेख अधिकृत राजु पासवान, पश्चिमाञ्चलका प्रलेख अधिकृत टङ्क खनाल, मध्यपश्चिमाञ्चल प्रलेख अधिकृत नारायण सुवेदी र सुदूर पश्चिमाञ्चलको बारेमा क्षेत्रीय संयोजक खड्गराज जोशीले प्रस्तुति गरेका थिए । समीक्षा कार्यक्रममा सहभागीहरुले पछिल्लो समय मुलुकमा जारी आन्दोलनका क्रममा मानवअधिकार रक्षक त्यसमा पनि सञ्चारकर्मीमाथि धम्की, कुटपिट र दुव्र्यवहारका घटना भएको र मानवअधिकार रक्षकहरु नै असुरक्षित भएको भन्दै चिन्ता व्यक्त गरे ।

Post a Comment

 
Top