0
गोल्डेन न्यूज संवाददाता
भारतीय नाकाबन्दीले इन्धन अभाव तथा अन्य अत्यावश्यकीय उपकरणहरु आउन नसक्दा निर्माणाधीन २५ मेगावाटको अपर मादी जलबिद्युत आयोजनाको काम तीन महिनादेखि ठप्प भएको छ । कास्कीको सिल्दुजुरे र नामार्जुन गाविसमा निर्माणाधीन आयोजनाको ८२ प्रतिशत काम सम्पन्न भइसकेको छ । नाकाबन्दीले पेट्रोलियम पदार्थ, सिमेन्ट र छडलगायतका निर्माण सामग्री अभाव भएपछि काम ठप्प भएको आयोजनाका सहायक कोअर्डिनेटर राजकुमार बरालले बताए । आयोजनाका कार्यरत करीव ६ सय मजदुरलाई बिदा गरिएको छ । केही चिनियाँ कामदार पनि चीन फर्केका छन् । आयोजनाका अनुसार दैनिक ५ हजार लिटर इन्धन आवश्यक पर्छ । काम ठप्प हुँदा दैनिक ५ करोड बढीको घाटा आयोजनाले ब्यहोरिरहेको बरालले बताए । ‘नाकावन्दी यता डेढ अर्व घाटा भई सकेको छ ,आयोजना र भाडाका उपकरणसमेत त्यत्तिकै थन्किएका छन्’ बरालले भने, ‘काम गर्न नपाउँदा सुरुङमा पानी जमेर पहिरो जाने खतरासमेत बढेको छ ।’ आयोजना निर्देशक बिजयबाबु मल्लका अनुसार ४ हजार २ सय मिटर लामो सुरुङ निर्माण भएर कंक्रिट लाइनिङ ढलानको काम सुरु भएकोमा रोकिएको छ ।
 
यसैगरी इन्टेकमा ९० प्रतिशत काम सकिएको र पावर हाउसमा सिभिल इन्जिनियरिङको काम सकिएर टर्बाइन जडानको मात्रै काम बाँकी छ । आयोजनाबाट उत्पादित बिद्युत सवस्टेशनसम्म पु¥याउन स्विजार्ड बनाइसकिएको र १० दशमलव ५ किलोमिटर टाढाको लेखनाथ सवस्टेशनसम्म विद्युत पु¥याउन ३१ वटा टावर निर्माण भइसकेको छ । ‘सुरुमा ६ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरेका थियौ,’ मल्लले भने,–‘तर, पहिरो, बन्द, हड्ताल, भूकम्प र नाकाबन्दीले लागत ८ अर्व नाघने देखिएको छ ।’ आयोजनामा मल्लको २० प्रतिशत र चीनको चाइना थ्री गर्जेज कर्पोरेशनसँग आबद्ध चाइना ईन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सीडब्लुई) को ८० प्रतिशत लगानी छ । ‘सन् २०१६ को अप्रिलमा निर्माण सक्ने आयोजनाको लक्ष्य थियोे तर अव अनिश्चित बनेको छ ।’ मल्लले भने–‘सामान अभाव नभए समयमै काम सकिन्थ्यो केही समय भएपनि लोडसेडीङ घट्ने थियो ।’ यसअघि २८ महिनामा निर्माण सक्नेगरी २०६९ पुस १३ मा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराइले शिलन्यास गरेका थिए । सिल्दुजुरे, ४ र नामार्जुन, ८ चासुमा बाँध बनाएर मादीनदिको पानीलाई सुरुङमार्फत सिल्दुजुरे, ९ बाहुनडाँडाको गहिरीखेतस्थित बिद्युत गृहमा पु¥याएर बिद्युत निकाल्न लागिएको हो। आयोजनाको निर्माण चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले गरिरहेको छ ।






Post a Comment

 
Top