0
गोल्डेन न्यूज संवाददाता
कास्की घान्द्रुकका स्थानीयहरुले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र गाउँ विकास समिति बीचमा सहकार्य नहुँदा विकास निर्माणको काममा समस्या भएको बताएका छन् । गाउँ विकास समितिले आयोजना गरेको चालू बर्षको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले एक्याप र गाविस समानान्तर हिसाबले चलेको गुनासो गरे । एक्याप छुट्टै सरकार त होईन नि, नेपाली काँग्रेस घान्द्रुकका सभापति भुवनेश्वर गुरुङ्गले भने–यसले कसरी काम गर्छ, केके गरिरहेको छ, हामीलाई जानकारी नै हुँदैन । 
एक्यापले पनि गाविसले जस्तै बस्ती स्तरबाट योजना छनौट गरेर कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ । अर्का स्थानीय जगन बहादुर गुरुङ्गले पनि एक्यापको गाविससँग समन्वय नहुँदा योजनामा दोहोरोपना आएको बताए । एक्याप आफ्नै तरिकाले चल्छ, गाविस आफ्नै तरिकाले, गुरुङ्गले भने–दुबै निकायको काम घान्द्रुक विकास गर्ने हो, समन्वयमा काम हुनुपर्छ । एक्याप र यस मातहतका समूह समितिले संकलन गरेका रकमहरु पनि गाविसको खातामा जम्मा गर्नुपर्ने उनको भनाई छ ।
एक्यापले घान्द्रुकमा कार्यालय राखेर विभिन्न ६ वटा गाविसमा संरक्षण र विकासको काम गर्दै आएको छ । आयोजनाका रेञ्जर ऋषि सुवेदीले पनि दुई निकायबीच समन्वय हुन नसकेको स्विकार गर्दै आगामी दिनमा सहकार्यबाट नै काम गर्ने प्रतिबद्धता जनाए । हाम्रो संरक्षण समितिमा गाविस सचिव पनि सदस्य हुनुहुन्छ, उनले भने–अबका बैठकहरुमा सचिव उपस्थित भएर सक्रिय भूमिका निर्वाह गर्न सक्नुहुन्छ । 
आँफूले संकलन गरेको रकम भने गाविसको खातामा जम्मा गर्न नसक्ने उनको भनाई छ । कार्यक्रम लागू भएका गाविसमा हाम्रो अधिकार गाविसको भन्दा ठूलो छ, उनले भने–गाविसका कार्यक्रममा साथ दिएपनि रकम दिन चाहीँ सक्दैनौं । स्थानीय स्वायत्त शासन ऐन र वन ऐन बाझिएका कारण अधिकांश क्षेत्रमा एक्याप र गाविसको विवाद भने आईरहेको छ । योसँगै कार्यक्रममा सहभागीहरुले गाउँ विकास समितिले लक्षित बर्गको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको, संचालित योजनाको प्रभावकारी अनुगमन नभएको, गाविस सचिवले गाविसबाट सेवा नदिएको लगाएतका गुनासो गरे । घान्द्रुक गाविसमा बनेको अनुगमन समितिले केही काम गरेको छैन, स्थानीय तिल बहादुर गुरुङले भने–बार्षिक योजनाहरु कागजमा मिलाएर फरफारक हुन्छ, गुणस्तरीय काम भएको÷नभएको लेखाजोखा गरिएको छैन । यस्तै गाविसबाट संचालित कार्यक्रम तथा पारित बजेटका बिषयमा जानकारी नभएको स्थानीयहरुको भनाई छ ।
गुनासोको सुनुवाई गर्दै गाविस सचिव अर्जुन प्रसाद भण्डारीले चालू बर्षदेखि नै अनुगमन समिति गठन गर्ने र उनीहरुको प्रतिबेदनका आधारमा अन्तिम भुक्तानी दिने ब्यवस्था गर्ने प्रतिबद्धता जनाए । एक्याप र गाविस बीचमा बढेको दुरी घटाउने र सहकार्यबाट कार्यक्रम स्विकृत गर्ने भण्डारीको भनाई छ । यस्तै गाविसबाट सेवा दिने बिषयमा भने आँफू प्रतिबद्ध रहेको भन्दै उनले बाध्यात्मक परिस्थितीमा भन्दा बाहेक गाविसमा नै बस्ने बताए । कार्यक्रममा गाविस स्तरीय राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले पनि गाविसले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका लागि आ–आफ्नो पार्टीले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । गाविस पारदशी हुनुपर्छ, उनीहरुले भने–त्यसमा हाम्रो भूमिका महत्वपूर्ण हुन्छ, आफ्नो भूमिका पूरा गर्न हामी तत्पर छौं । कार्यक्रमको सहजीकरण पत्रकार प्रकाश ढकालले गरेका थिए । गाविसले चालू आर्थिक बर्षमा संचालन गरेका विकास निर्माण र प्रदान गरिएका सेवा प्रवाहका बिषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
स्थानीय निकाय श्रोत परिचालन तथा ब्यवस्थापन कार्यविधि २०६९ ले हरेक स्थानीय निकायले प्रत्येक चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने प्राबधान ल्याएको छ । सोही प्राबधानका आधारमा कार्यक्रम गरिएको हो । प्राबधान अनुसार प्रत्येक गाविसले बर्षमा कम्तिमा २ पटक सार्वजनिक सुनुवाई गरेपछि कार्यसम्पादन मूल्याकंनमा १ अकं पाउनेछ ।




Post a Comment

 
Top