0
गोल्डेन न्यूज संवाददाता
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचान र सामथ्र्यको आधारमा राज्यको पुनःसंरचना हुनुपर्नेमा जोड दिएका छन् । तमुवान संघर्ष समिति र मगराज संघर्ष समितिले संयुक्त रुपमा पोखरामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पूर्व परराष्ट्र मन्त्री समेत रहेको यादवले तमु, मगर, थारु, मुस्लिम र खसको अधिकार समावेश नभएको संविधान धेरै टिक्न नसक्ने ठोकुवा गरे । मधेशलाई बाहिर राखेर जारी गरिएको संविधान कुनैपनि हालतमा नमान्ने यादवले उद्घोष गरे । उनले भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी खुलिसकेको स्पष्ट पार्दै सीमाबाट नेपाल भित्रिएका सबै ट्याङ्कर काठमाडौं पुग्ने गरेकाले जनताले इन्धन र ग्यास पाउन नसकेको बताए ।
राज्यसंग यसअघि भएका सम्झौताहरु कार्यान्वयन नभएसम्म आन्दोलन कुनैपनि हालतमा नरोकिने उनले स्पष्ट पार्दै आफूहरुको अहिलेको लडाइँ सम्पूर्ण नेपालीको लडाइँ भएको बताए ।
सभामा लिम्वुवानका युवा नेता कुमार लिङदेनले समग्र पहिचान वादीहरु एकै ठाउँमा उभिएर सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए । 
तमुवान, मगराज लगायतको अन्दोलनमा लिम्वुवानको पूर्ण समर्थन र साथ रहेको भन्दै उनले पहिचान वादीहरुबाट करिब १५ हजार युवा दस्ता तैयार गरेर काठमाडौं र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नाकाबन्दी गर्नुपर्ने बताए । 
तमुवान संघर्ष समितिका सदस्य गणेशमान गुरुङले मधेशसंग गरेका बाचाहरु पूरा नगर्दा आज मधेश जल्न पुगेको बताए । उनले अहिलेको नयाँ संविधानमा आफूहरुको भावना नसमेटिएकोले आन्दोलनमा होमिनुपरेको स्पष्ट पारे । तमुधिं नेपालकी केन्द्रीय अध्यक्ष कर्मा तमुले युगौंदेखि उत्पिडनमा परेकाहरुको अधिकार संविधामा सुरक्षित हुन नसकेपछि चार महिनादेखिको आन्दोलन जारी रहेको बताइन । उनले सदियौंदेखिको नेपाल–भारतको सुमधुर सम्बन्ध बिर्गान नहुने बताइन । सरकारले आफूहरुको मागलाई बेवास्था गरेको आरोप लगाउदै गुरुङले आफ्ना सबै मागहरु प्याकेजमै पुरा गरिनुपर्नेमा जोड दिइन । 
तमुवान संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङको अध्यक्षतामा भएको सभामा राजेन्द्र सुब्बा, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगर, खसान राष्ट्रिय संघर्ष समितिका संयोजक प्रेमबहादुर खाती, आदिवासी जनजाति नेता पासाङ शेर्पा, नयाँ शक्ति अभियानका अभियान्ता देवेन्द्र पराजुली, थारुहत आन्दोलनका नेता भानुराम थारु, आदिवासी जनजाति आन्दोलनका अगुवा प्रा.डा. ओम गुरुङ लगायतले माग सम्बोधन नभएसम्म आफूहरुको  आन्दोलन कुनैपनि हालतमा नरोकिने बताएका थिए ।     

Post a Comment

 
Top