0
गोल्डेन न्यूज संवाददाता
 पश्चिमाञ्चल क्षेत्रका उद्योगी र व्यवसायीहरुले वन पैदावारको व्यवसायिक कारोबारबारे जानकारी लिएका छन् । उनीहरु वन भनेको काठको स्रोत मात्र नभएर विभिन्न खाले उद्योगहरुलाई चाहिने कच्चा पदार्थको स्रोत समेत रहेकोमा स्पष्ट भएका छन् । पोखरामा सम्पन्न तीनदिने वनसम्बन्धी व्यवसायिक योजना निर्माण गोष्ठीपछि उनीहरुले यस्तो निचोड निकालेका हुन् । नेपाल उद्योग वाणिज्य संघको आयोजना एवं बहुसरोकारवाला वन कार्यक्रम तथा पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको सहआयोजनामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा पश्चिमाञ्चलका १६ जिल्लाका झण्डै ४० जना उद्योगी र व्यवसायीको सहभागिता रहेको थियो । गोष्ठीमा बन पैदावारको व्यवसायिक प्रयोग, त्यसको बजारीकरण तथा बनसँग आश्रित उद्योग स्थापनाको सम्भावनाबारे समेत जानकारी दिइएको पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोइरालाले बताए । तालिम समापन कार्यक्रमको अध्यक्ष समेत रहेका उनले तालीमले वन पैदावारलाई आम्दानीको स्रोत बनाउन सिकाएको बताए ।

समापन कार्यक्रममा बोल्दै वनमै आश्रित रहेर फर्निचर उद्योग संचालन गरेका सफल व्यवसायी प्रकाश सेरचनले वनसम्बन्धी कानूनी बुझ्न सके यो व्यवसाय राम्रो भएको बताए । उनले वन सम्बन्धी कानूनी जटिलताहरुलाई फुकाएमा मात्र वनका सबै उत्पादनहरु व्यवसायिक प्रयोजनमा लगाउन सकिने जनाए ।तालिममा सहभागी गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वर पाण्डे, यसैगरी लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठ,प्रशिक्षकहरु प्रकाश कटुवाल र कविर स्थापितले पनि समापनको अवसरमा वन पैदावारको व्यवसायिकरणबारे आ– आफ्ना धारणा राखेको पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका महासचिव तथा कार्यक्रम संचालक रवीन्द्र बहादुर प्रजुले जनाए ।



Post a Comment

 
Top