0
गोल्डेन न्यूज संवाददाता
६७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानवअधिकार क्षेत्रीय महाभेला मूल आयोजक समितिले मङ्सिर २३ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सबैका लागि घरघरमा मानवअधिकार शान्ति र विकासको आधार भन्ने मूल नाराका साथ पोखरास्थित सरकारी निकाय, नागरिक समाज तथा विभिन्न मानव अधिकारवादी संघ संस्थाले संयुक्त रुपमा क्षेत्रीय मानवअधिकार महाभेलाका रुपमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन लागिएको हो । रक्तदान तथा मानवअधिकार क्षेत्रीय महाभेलाको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारीले रक्तदातालाई देशको विषम परिस्थितिमा मानवीय सेवाका लागि रक्तदान गर्नु महत्वपूर्ण कार्य भएको बताए । उनले सवै संघ संस्थाले संयुक्त रुपमा मानवअधिकार दिवस मनाउँदा कार्यक्रमको प्रभावकारिता बढ्ने बताए ।
 
रक्तदान कार्यक्रममा विभिन्न २६ जनाले रक्तदान गरेका थिए । शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक सरलाकुमारी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उपमनपाका प्रशासकीय अधिकृत अनन्त कोइराला, मानवअधिकारकर्मी टेकनाथ बराल, सञ्जालका पूर्व संयोजक रामप्रसाद सुवेदी ,नेपाली काङग्रेसका जिल्ला सचिव युवराज कुवँर, राष्ट्रिय मानवअधिकार आयोगका मानवअधिकार अधिकृत ज्योतीप्रसाद घिमिरे, सुनासका अध्यक्ष पुण्य पौडेल, इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेल लगायतले मानवअधिकार दिवसलाई सरकारी, गैरसरकारी संस्था तथा नागरिक समाजले संयुक्त रुपमा मनाइएको बताए । मानवअधिकार दिवस अन्तर्गत मङ्सिर २४ गते प्रभात फेरी कार्यक्रम तथा मानवअधिकार राष्ट्रिय कार्ययोजनाका बारेमा क्षेत्रीय अन्तरक्रिया कार्यक्रम गरिने मानवअधिकार क्षेत्रीय महाभेलाको स्थानीय संयोजक संस्था शान्तिका लागि नागरिक समाजको सञ्जालले जनाएको छ ।

Post a Comment

 
Top