0
गोल्डेन न्यूज संवाददाता
गण्डकी र धौलागिरी अञ्चल अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुले आफ्नो क्षेत्रमा शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताएका छन्। पोखरास्थित सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटनमा बुधबार भएको क्षेत्रीय सुरक्षा सम्मेलनमा गण्डकी र धौलागिरी अञ्चल अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुले इन्धनको अभावका कारण आपूर्ति व्यवस्था असहज भएपनि शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताएका हुन्। उनीहरुले इन्धनको अभावका कारण कालोबजारी नियन्त्रण गर्न कठिनाइ उत्पन्न भएको भन्दै कुनै अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको बताए। कार्यक्रममा गृहमन्त्री शक्ति बस्नेतले मुलुक संवेदनशील अवस्थामा रहेको भन्दै चनाखो रहन प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिए। उनले स्थानीय विकास मन्त्रालयले संचालन गरेको संविधानको प्रचारात्मक अभियानमा सहयोग गर्न पनि आग्रह गरे। सम्मेलनमा गृहसचिव नारायणगोपाल मलेगो, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका प्रमुख कोषराज वन्त पनि उपस्थित थिए।

Post a Comment

 
Top