0
भूकम्प र नाकाबन्दीका कारण प्रभावित पर्यटकीय नगरी पोखराको पर्यटकीय विकासलाई सहयोग गर्ने उद्देश्यले रेस्टुराँ एण्ड बार एसोसिएसन अफ नेपाल(रेवान)ले आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि पोखरा महोत्सवमा सहभागी हुन निम्तो अभियान आजदेखि सुरु गरेको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाउँ’ नाराका साथ आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा सञ्चालन हुने सडक महोत्सवमा देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकलाई पोखरा बोलाउने लक्ष्यका साथ अभियान सुरु गरिएको हो ।

रेवानका अध्यक्ष गोपिबहादुर भट्टराईका अनुसार अभियानअन्तर्गत आज भैरहवामा त्यहाँका उद्योगी, पर्यटन व्यवसायीसँग समन्वय गरी अन्तत्र्रिmया एवम् पत्रकार भेटघाट गरिने भएको छ । “भूकम्प र नाकाबन्दीका कारण प्रभावित यहाँको पर्यटनलाई पूर्ववत् अवस्थामा ल्याउन महोत्सव निकै उपयोगी हुन सक्छ,” उनले भने । सुस्ताएको पोखराको पर्यटनलाई उकास्न प्रमुख शहरहरूमा निम्तो अभियान सुरु गरिएको उनले बताए । अभियानअन्तर्गत भैरहवा, चितवन, काठमाडौँलगायतका मुख्य शहरमा पत्रकार सम्मेलन गर्ने तयारी गरिएको छ । सो क्रममा स्थानीय व्यवसायी र पर्यटन सम्बद्ध क्षेत्रका व्यक्ति एवम् संस्थासँग पोखरामा आन्तरिक पर्यटक पठाउन आग्रह गरिने छ । विदेशी पर्यटकको अत्यधिक चाप हुने समयमा अहिले पर्यटकको मन्दी छाएका कारण आन्तरिक पर्यटनको विकासले व्यवसायीलाई केही मात्रामा भए पनि राहत पुग्ने पर्यटन व्यवसायी चौबहादुर गुरुङ बताउछन् । “पर्यटकीय आकर्षण भूकम्प पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ भन्ने सन्देश दिनु आवश्यक छ,” उनले भन, “निम्तो अभियानले स्वदेशी पर्यटकलाई यहाँ एकपटक अवस्य घुम्न आउने वातावरण सिर्जना गर्ने विश्वास लिएका छौँ ।” पर्यटकीयस्थल लेकसाइडलाई पूर्णरुपमा समेट्दै गरिन लागिएको सडक महोत्सव फेवाताल किनारको शहीदचोकदेखि डिहिकोपाटन सम्मको लगभग तीन किलोमिटर क्षेत्र समेटिने छ । वसुन्धरा पार्कमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने छ ।

विभिन्न सांस्कृतिक कार्यक्रममा रम्दै स्वदेशी तथा विदेशी परिकारको स्वाद लिने व्यवस्था महोत्सवमा मिलाइने साँस्कृतिक उपसमितिका संयोजकसमेत रहेका गुरूङको भनाइ छ । रेवानले आन्तरिक तथा बाह्य पर्यटन वृद्धि गर्दै यहाँको पर्यटकीय विकास गर्ने उद्देश्यले विगत १६ वर्षयता विभिन्न साँस्कृतिक कार्यक्रमका साथ महोत्सव आयोजना गर्दै आएको संयोजक दोर्जे लामाले बताए ।

प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी गरिने महोत्सवले स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरामा आकर्षण गर्ने गरेको छ । पोखरामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी महोत्सव गर्नु अघिसम्म नयाँ वर्ष मनाउन विदेशी मात्र नभएर नेपाली पनि विदेश जाने गरेको संयोजक लामा बताउछन् । “महोत्सव मनाउन थालेसँगै नेपालीहरू अङ्ग्रेजी नयाँ वर्ष मनाउन विदेश जान रोकिएको छ नै यसले विदेशी पर्यटक पनि पोखरामा रोकिने गरेका छन्,” उनले भने । महोत्सवमा यस पटक विदेशी खाना तथा सँस्कृति पनि अधिकतम समेट्ने प्रयास भएको लामाले बताए । भूकम्प र नाकाबन्दीले पोखराको पर्यटनमा पारेको असरलाई कम गर्न महोत्सव अत्यन्त उपयोगी हुने विश्वास लिइएको छ । रासस


Post a Comment

 
Top