0
गोल्डेन न्यूज संवाददाता
यवस्थापिका संसदको विकास समितिले चीनसँगको नेपालको व्यापारिक सम्बन्ध विस्तार गर्नका लागि कोराला नाका महत्वपूर्ण विकल्प हुने निष्कर्ष निकालेको छ । कोराला नाकाको सम्भाव्यता अध्ययनका क्रममा समितिका सभापति रविन्द्र अधिकारी नेतृत्वको टोली उक्त नाकामा पुगेर फर्केपछि आयोजित अन्तरक्रियाका क्रममा उक्त जानकारी गराइएको हो । अन्तरक्रियामा सभापति रविन्द्र अधिकारीले यस अघि ३ डिसेम्बर २००३ मा नेपालको परराष्ट्र मन्त्रालय र चिनिया राजदुतबीच यो नाका खोल्ने सम्झौता भए पनि त्यो कार्यान्वयनमा आउन नसकेको बताए । “चिनीया पक्षसँग यो विषयमा सहमति कायम गरी आवश्यक पूर्वाधार विकास गर्न सकेमा तीन महिना भित्रमा ट्रयाक खोल्न सकिन्छ”, उनले भने,– “कोरलादेखि नेपालको जोमसोङ १०० कि.मि. मात्र छ ।”
 
कोरलापासदेखि तिव्वत तर्फ ढङवासेनसम्म ३० कि.मि.को कच्ची सडक रहेको र  ढङवासेन देखि सिगात्सेसम्म करिब ६०० कि.मि. पक्की सडक रहेको जानकारी गराउँदै उनले पर्याप्त पर्यटकीय सम्भाव्यता रहेका पोखरा र यस आसपासका क्षेत्रका लागि यो नाका सञ्चालनमा ल्याउन सके निकै उपयोगी हुने धारणा राखे ।नाकासम्म जानका लागि आधारभूत पूर्वाधारको विकास भइसकेका कारण त्यसलाई स्तन्रोेन्नति गर्नुपर्नेमा जोड दिदै सभापति अधिकारीले केही स्थानमा सडकको स्तरोन्नति गर्नुपर्ने भएकोले त्यसका लागि सम्बन्धित निकायलाई निर्देशन दिने उल्लेख गरे । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक केदार बहादुर अधिकारीले कोरला नाका यस क्षेत्रको महत्वपूर्ण व्यापारिक नाका बन्न सक्ने भएको हुँदा यसलाई खोल्न तदारुकता देखाउनुपर्ने बताए ।
 
पर्यटकीय प्रचुर सम्भाव्यतालाई अधिकतम उपयोग गर्ने कुरामा पनि कोराला नाका महत्वपूर्ण विकल्प हुन सक्नेमा उनको जोड छ । कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले नेपालको समृद्धि र विकासका लागि विभिन्न विकल्पको खोजी तथा उपयोग गर्नुपर्ने सन्दर्भमा विकास समितिले कोरला नाका खुलाउने तर्फ देखाएको सकृयता सफल बन्ने विश्वास व्यक्त गरे । नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले यथासक्य चाँडो कोरला नाका खोली पोखरा र यस आसपासको पर्यटनलाई थप विकास र विस्तार गर्न सकिनेमा जोड दिए। राप्रपा नेपाल, कास्कीका अध्यक्ष जयलाल पुनले २००३ सालमा सम्झौता भएर पनि हालसम्म नाका सञ्चालनमा आउन नसकेको तर्फ पनि विचार गर्नुपर्ने बताए ।
 
वाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्तकुमार श्रेष्ठले तीन महिनामा ट्रयाक खोल्न सकिने अवस्थालाई दृष्टिगत गरी यस तर्फ सकृयताका साथ लाग्नुपर्ने बताए । समाजसेवी विश्वशंकर पालिखेले नाका खोल्नुका साथै नेपाल र चिनबीचको आपसी सम्बन्ध प्रगाढ बनाउन जनस्तरको सम्बन्ध बढाउनुपर्नेमा जोड दिए । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरि शर्मा लामिछानेले नाका खोली त्यसलाई उपयोग गर्ने सम्बन्धमा नेपाल सरकारले चीन सरकारलाई सुरक्षाको प्रत्याभूति कति दिनसक्ने कुरामा निर्भर हुने धारणा राखे । सञ्चारकर्मी माधव बरालले कोरला नाका खोल्ने सम्बन्धमा विकास समितिबाट देखाएको सकृयतालाई निष्कर्षमा पु¥याउनुपर्ने बताए ।
 
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शंकर बराल, नेकपा एमाले कास्कीकी उपसचिव प्रभाव कोइराला, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरञ्जीवि पौडेल, प्रमोद श्रेष्ठ, पुण्य पौडेल, मित्रमणि तिमल्सिना, नवराज शर्मा, जीवन विश्वकर्मा लगायतले नाका खोल्ने सम्बन्धमा देखिएको वर्तमान चासोलाई तुरुन्त कार्यान्वयनका पक्षमा लैजानुपर्नेमा जोड दिएका थिए ।

Post a Comment

 
Top