0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल क्रिकेट संघ विघटन गरेर नयाँ तदर्थ समिति गठनको अन्तिम तयारी गरेको छ । केही दिनमा नै नयाँ तदर्थ समिति गठन हुनेछ । र, यो पटक क्यानमा प्रमुख दलका चर्चित युवा नेताहरु आउने भएका छन् । क्यानको एक समूहले साधारणसभा गरेर सोमबार राति चतुरबहादुर चन्दको नेतृत्वमा कार्यसमिति गठन गरेको छ । अध्यक्ष टंक आङबुहाङसहितको समूहले भने बहिस्कार गरेको छ । आफ्नो निर्देशन विपरीत साधारणसभा भएपछि राखेपले क्यानको नयाँ नेतृत्वलाई मान्यता नदिने बताएको छ । ‘कुनै प्रक्रिया पूरा गरिएको छैन । क्यानका अध्यक्षले नै साधारणसभा रोकीपाउँ भनेर हामी कहाँ निवेदन दिएपछि रोक्न निर्देशन दिएका थियौं’ राखेप सदस्य सचिव केशव विष्टले भने–‘त्यस्तो साधारणसभाले मान्यता पाउँदैन ।’ उनका अनुसार अहिलको क्रिकेट संघ विघटन गरेर केही दिनमा नै नयाँ तदर्थ समिति गठन हुनेछ । हामी आईसीसी र एसीसीसँग परामर्श गरिरहेका छौं । २÷४ दिनमा नै नयाँ समिति गठन हुन्छ’ विष्टले भने । स्रोतका अनुसार क्रिकेट संघको अब बन्ने तदर्थ समितिमा प्रमुख दलका चर्चित युवा नेताहरु देखिनेछन् । यसले निश्चित अवधिसम्म क्यानको नेतृत्व गरेर निर्वाचित टीमलाई हस्तान्तरण गर्ने अनलाइन खबरले जनाएको छ । यसमा एमाले सचिव योगेश भट्टराई, कांग्रेस नेता गगन थापा, उदयसमशेर राणालगायतको नाम छलफलमा छन् । राजनीतिक सहमतिकै आधारमा युवा नेताहरुले क्रकेट संघको नेतृत्व गर्ने र स्टेडियमसहितको भौतिक पूर्वाधार र सक्षम टीम बनाएर हस्तान्तरण गर्ने योजना छ । राजनीतिक नेतृत्व क्यानमा आउँदा राजनीतिक सहमति जुटाएर मात्र आउनेछ भने कानूनी, वैधानिक प्रक्रिया समेत मिलाउनु पर्नेछ । यसको लागि राखेप आफैंले पहल गरिरहेको छ ।

एमाले सचिव योगेश क्यानको अध्यक्ष हुने सम्भावना छ भने कांग्रेस युवा नेता गगन महासचिव हुने सम्भावना छ । छलफल चलिरहेकाले कोही पनि यसबारे खुलेर बोल्न चाहँदैनन् । एक नेताले भने–‘हाम्रो लक्ष्य भनेको क्रिकेटको विकास गर्नु हो । अब राजनीतिक सहमतिका आधारमा अघि नबढेसम्म क्रिकेटको विकास नहुने देखेपछि हामी जान कि भन्ने छलफल भएको हो ।’ स्रोतले एमाले सचिव भट्टराईले सामान्य कुराकानी मात्र भएको प्रतिक्रिया दिएका छन् । क्रिकेट संघ पछिल्लो लामो समयदेखि आन्तरिक विवादमा फरेको छ । ३९ वर्षदेखि तदर्थमा चल्दै आएको क्यान विघटन गरेर एमाओवादी नेता टंक आङबुहाङको नेतृत्वमा तदर्थ समिति बनेको थियो । आङबुहाङले चुनाव त गराए तर, आफैं चुनिएर आए । र, यो नेतृत्वको चार वर्षे कार्यकाल निकै विवादित रहृयो । आङबुहाङसहित १० पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा लाग्यो । भलै विशेष अदालत काठमाडौंबाट कार्यकाल सकिने बेलामा उनीहरुले सफाइ पाए । तर, क्रिकेट संघमा चरम आर्थिक अनियमिता रहेको क्यानका पदाधिकारीहरुले नै स्वीकार गर्छन् । यतिसम्म कि चिया खर्चमा समेत अनियमितताको आशंका छ भने विदेश भ्रमणका लागि ठूलै लडाइ हुने गरेको छ । तर, पदाधिकारीहरु दोष भने एकअर्कालाई लगाउँछन् । विवादकै बीच एक समूहले साधारणसभा गरेको छ भने अर्को समूहले बहिस्कार गरेको छ । यसले राखेपलाई हस्तक्षेपको मौका दिएको छ भने भने आईसीसीले पनि अहिलेको नेतृत्वलाई मान्यता दिने सम्भावना छैन ।




Post a Comment

 
Top