0
गोल्डेन न्यूज संवाददाता
सार्वजनिक पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति कमाएको उजुरीका आधारमा अख्तियारले ४० जना भन्दा बढी हाइप्रोफाइलहरुसँग बयान लिन थालेको छ । अख्तियारले पत्र काटेका पूर्वमन्त्री, सभासद्, ब्यापारी, शसस्त्र प्रहरीका उच्च पदस्थ अधिकारी तथा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरु अख्तियार पुगेर धमाधम बयान दिन थालेको अख्तियारका एक अधिकारीले बताए ।
 
पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाएको आरोप लागेका हाइ प्रोफाईलहरुको बयान ‘सम्पत्ति मूल्यांकन तथा विशेष अनुसन्धान महाशाखा’ ले लिन थालेको छ । बयानपछि महाशाखाले अकुत सम्पत्ति आर्जन गरेको प्रमाणसहित मुद्धा चलाउनका लागि प्रमुख आयुक्त समक्ष सिफारिश गर्नेछ । पूर्व मन्त्री र सचिवहरुको सम्पत्ति बारे अनुसन्धान शुरु गरेको महाशाखामा विभिन्न क्षेत्रका विज्ञहरु रहन्छन् । वकिल, प्रहरी, अर्थविद् लगायतका विभिन्न क्षेत्रका विज्ञहरु सम्मिलित महाशाखाले दुई आयुक्तहरु सँगको सहकार्यमा पुर्वमन्त्री र सचिवहरुको बयान शुरु गरेको बताइएको छ । यता, पदिय दुरुपयोग गर्दै अकुत सम्पत्ति कमाएको आरोप लागेका शान्तबहादुर श्रेष्ठ विगत १८ महिनादेखि स्वास्थ्य मन्त्रालयको सचिव पदमा कार्यरत छन् । सरकारी कर्मचारीले हरेक बर्ष सम्पत्ति विवरण बुझाउनेपर्ने कानुनी ब्यवस्था भएपनि श्रेष्ठले गत बर्ष सम्पत्ति विवरण बुझाएनन् । श्रेष्ठले सम्पत्ति विवरण नबुझाए पछि अख्तियारले स्पष्टिकरण सोध्दै पाँच हजार रुपैया जरीवाना समेत बुझाउन निर्देशन दिएको थियो । तर, श्रेष्ठले न स्पष्टिकरण दिए, न जरिबाना बुझाए । यसरी अटेरी गरेपछि श्रेष्ठ र उनका आफन्त नातेदार समेतको सम्पत्तिमाथि अख्तियारले अनुसन्धान थालेको छ । उनको श्रीमती, छोरा, छोरी, साला–साली, दाजु–भाई लगायत सवैको सम्पतीबारे अनुसन्धान गरिने अख्तियारका एक अधिकारीले बताए । यता, सशस्त्र प्रहरीका आईजिपी कोषराज वन्तले पदीय दुरुपयोग गर्दै अकुत सम्पत्ति कमाएको उजुरीका आधारमा अख्तियारले उनीमाथि अनुसन्धान थालेको छ । वन्तमाथि अवैध सम्पत्ति आर्जन गरी अस्वभाविक जीवन यापन गरेको आरोप लागेको छ । ठूलो घर, महँगो गाडी र धेरै ठाउँमा लगानी देखिएपछि वन्त सहित शसस्त्रका करिब आधा दर्जन उच्च अधिकारी अख्तियारको घेरामा परेका छन् ।
ओली सरकारका मन्त्रीनै तानिने, सचिवको सूची बढ्दै
 
अख्तियार स्रोतका अनुसार वर्तमान ओली सरकारका केहि मन्त्री पनी अकुत सम्पत्ति प्रकरणमा तानिने भएका छन् । ‘लिष्ट बन्दै छ, अहिलेका केही मन्त्री र सचिवहरुबारे पनी उजुरी परेको छ’ अख्तियारका एक उच्च अधिकारीले भने । ती अधिकारीका अनुसार आईतबार सार्वजनिक भएका नामहरु बाहेक नेपाल सकारकारका बहालवाला सचिवहरुको सुचि थपिएको छ । यद्यपि उनले ति सचिवहरुको नाम सार्वजनिक गर्न अस्विकार गरे । कालो धनलाई सेतो बनाउन खोज्दा कनकमणि फन्दामा साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितले कालो धनलाई सार्वजनिक पदको दुरुपयोग गर्दै सेतो बनाउन खोजेको अख्तियारले आरोप लगाएको छ । सरकारी शेयर रहेको साझाको अध्यक्ष हुँदा उनले यस्तो प्रयास गरेको बताइएको छ । त्यस्तै अस्वभाविक जिवनशैली विताउँदै आएका दिक्षितको रातो बंगला स्कुलमा गरेको लगानीको पनि स्रोत नखुलेको अख्तियारले जनाएको छ ।
यस्तो छ अनुसन्धान प्रक्रिया
 
पूर्वमन्त्री, सचिव र सांसदहरुको सम्पतीको प्रारम्भिक लिस्ट अख्तियारले तयार गरिसकेको छ । आफुले पाएको सम्पत्तिको प्रारम्भिक विवरणलाई गोप्य राखेर आरोपित हरुलाई सवैभन्दा पहिला अख्तियारले फारम भराउने छ । करिब ४० जना आरोपीतहरुमाथि अख्तियारले यसअघी देखि नै मनिटरिङ शुरु गरिसको थियो । अख्यितारको प्राविधीक टिमले आरोपीतहरु कहाँ जान्छन्, र कोसँग भेट्छन भन्नेबारे हरेक दिन निगरानी गरिहेको हुन्छ । यदी उनीहरु भाग्न खोजेमा वा प्रमाण नष्ट गर्नेबारे अख्तियारलाई शंका लागेमा शंकास्पदलाई पक्राउ गरिने अख्तियार स्रोतले जनाएको छ । आरोपितहरुको बैक तथा फाइनान्सका खाता, देशभरका मालपोत कार्यालयमा भएको जग्गाको रेकर्ड लगायतका सम्पत्ति विवरण हेरेपछि उनीहरुमाथि मुद्धा दायर गरिन्छ । त्यसबाहेक आरोपितहरुको विदेशी बैंकको खाता तथा आफन्त नातेदारको सम्पत्ति पनी छानविन गरिने अख्तियारले जनाएको छ । यसैबीच एमाओवादी अध्यक्ष प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले उठाएको विषय प्रक्रियागत रुपमा बेठीक भएको बताएका छन् । राजधानीमा जारी पार्टीको केन्द्रिय समितीमा बोल्दै उनले यस्तो बताएका हुन् । मंगलबारको बैठकमा पार्टीका केन्द्रिय सदस्य विषमलाल अधिकारी (दनुवार) ले अख्तियारले पूर्वमन्त्रीहरुलाई काटेको पत्रले देशमा हल्लिखल्ली मच्चिदा समेत पार्टी चुपचाप बसेको बारे प्रश्न गरेका थिए । बैठकमा बोल्दै अधिकारीले भने,–‘अख्तियारले हाम्रो पार्टीको महासचिवलाई समेत पत्र पठाएको छ, यसबारे पार्टीको आधिकारी धारणा आउनुपर्छ ।’ दनुवारले यस्तो प्रश्न उठाएसँगै प्रचण्डले अख्तियारको कदम बेठीक भएको भन्दै अख्तियारको अहिले धेरै आयुक्तहरुलाई समेत यो कुरा थाहा नभएको दाबी गरे ।



Post a Comment

 
Top