0
राजाराम पौडेल÷गोल्डेन
नेपाली कथानक फिल्म ‘धौली’ शुक्रबारदेखि पोखरा लगायत उपत्यका बाहिरका ४३ हलबाट प्रदर्शनमा आएको छ । धौलीले  दर्शकको अपार माया पाउन सफल भएको निर्माण पक्षले जनाएको छ । स्पाइनी ब्याब्लर क्रियसनको ब्यानरमा निर्माण भएको फिल्म पोखराको लागि विन्ध्वासिनी चलचित्र मन्दिर र लेखनाथको मन्दिप मिलन चलचित्र मन्दिरमा प्रदर्शन भएको थियो । पोखरा लगायत फिल्म लागेका सबै हलमा दर्शकको सहभागिताले आफूहरुमा उत्साह थपिदिएको निर्माण पक्षको भनाइ छ । यो फिल्म पौष १७ गतेबाट उपत्यकाका मल्टिप्लेक्स र सिंगल थेटरमा प्रर्दशन हुने छ । सम्पुर्ण छयाँकन पोखरा र आसपासकै क्षेत्रहरुमा गरिएको फिल्म धौलीले सुस्ताएको नेपाली फिल्मको बजारलाई पुनःताजगी गर्दै फिल्मकर्मीलाई नयाँ उर्जा थपिदिनेमा युवा निर्देशक घनश्याम लामिछाने विश्वस्त छन् । फिल्ममा रहेको शब्द र लवजमा आफ्नोपन देखिएकोले विस्तारै नेपाली समाज समेत धौलीमय बनेको उनले बताए । यसअघि यो फिल्मको पोखरा, दाङ, हेटौंडा, अमेरिका, युके, मलेसियामा लगायतका ठाउँमा च्यारिटी शो सम्पन्न भैसकेको थियो । च्यारिटी सो मार्फत आएका प्रतिक्रियाको आधारमा फिल्ममा भएका कमजोरीलाई परिमार्जन गरिएको हुनाले पनि दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त देखिन्छ । ‘फिल्म कहिबाट कपी गरिएको छैन’ लामिछाने थप्छन्–‘लोप हुन लागेको कटवाल प्रथा, झारा बोलाउने, झाँक्री प्रथा लगायतको टिपिकल गाउँले परिवेशलाई देखाइएको छ।’ मस्त बैँस भरिएको समयमा श्रीमान विदेशिनुको पिडा एकातिर छँदैछ यसका अलावा दैनिक छाक टार्न अर्काको घरमा काम गर्न बसेकी दलित महिला ‘धौली’ को कष्टकर जीवनलाइ फिल्मको पर्दामा उतारिएको छ । फिल्ममा विवाह भैसकेकी दलित महिला र बाम्हण युवाबीचको प्रेम सम्बन्धलाइ समाजले स्वीकार गर्न नसक्दा भोग्नुपरेको पिडा देखाइएको छ । फिल्मको साँगीतिक पक्षले समेत दर्शकको ध्यान तानेको छ । फिल्ममा समावेश ‘बसाउँ घरबार’ बोलको गीतलाइ पनि दर्शकले अत्याधिक मन पराएका छन् । मिलन अमात्य र प्रल्हाद तिमिल्सेनाले स्वर भरेको यो गीतमा नायक गजित विष्ट र नायिका अनु शाहले अभिनय गरेका छन् ।

यसअघि विभिन्न गुरुङ्ग फिल्म र भिडियो फिल्म निर्देशन गरेका उनले यस फिल्म पश्चात निर्देशन क्षेत्रमा अवसर प्राप्त हुने अपेक्षा गरेका छन् । ‘मनोरञ्जनात्मक मसलेदार फिल्म बनेको छ’ उनी भन्छन् परिवारसँग बसेर हेर्न मिल्ने फिल्म छ, लगानी ढुक्कले उठाउने छ’ । झण्डै दुई घण्टा लामो फिल्म हेर्दा दर्शकले फिल्म मेकीङको शैलीमा नयाँपन देख्ने उनको विश्वास छ । निर्देशक लामिछानेले पोखरावाट गर्व गर्न लायक पहिलो फिल्म धौली हुने अपेक्षा राख्छन् । ‘धौली’ मा गजित विष्ट,अनु शाह, प्रकाश घिमिरे, विद्या कार्की, विष्णु गौतम, अर्जुन गोदार, तेज गिरी, शम्भु थापा, राजकुमार गुरुङ्ग, अशोक गुरुङ्ग र बाल कलाकार गोपाल भट्टराइ लगायतका कलाकारहरुले मुख्य अभिनय गरेका छन् । फिल्मका लागि झण्डै ६० लाख रुपैँया खर्च भएको निमार्ण पक्षको दावी  छ । सन्तोष आत्रेय र अर्जुन गोदार निर्माता रहेको फिल्ममा संगीत बसन्त सापकोटा र केवल घर्तीले भरेका छन् । शम्भु थापा प्रस्तुतकर्ता, दिव्य सुवेदीको छायांकन, रोशन श्रेष्ठको द्धन्द,  प्रोडक्सन डिजाइन शंकर पाण्डे, कथा सन्तोष आत्रेयको रहेको फिल्मको मुख्य सहायक निर्देशक लक्ष्मण सेन हुन् । पटकथा र संवाद सम्भु थापा र सन्तोष आत्रेयको रहेको छ भने कार्यकारी निर्माता किरण कुमार आत्रेय हुन् । फिल्मले नेपाली फिल्मको क्षेत्रमा नयाँ उर्जा थप्ने निमार्ण पक्षले दावी गरेको छ ।

फिल्मका कलाकार विष्णु गौतम फिल्म राम्रो वनेको बताउँछन् । ‘फिल्म राम्रो बनेको छ, म गाउँको खान्दानी परिवारको एकलोटे लहडी भाई हो । मैले भने पछि जे काम पनि गर्छु । जे सोच्छु त्यहि पुरा गर्ने खालको चरित्र छ । सिकार गर्ने गाउँमा गफ गर्ने चिया पसलमा हल्लने खालको चरित्र । तर जवानीमै रक्सीको नसामा परेर मर्छु, फिल्ममा मेहनेत सबैको छ ।’ उनले भने । फिल्म चल्न भाग्य चाहिन्छ भन्दै गौतमले चलचित्रले गाउँ र शहर बीचको यर्थाथ कथालाई चित्रण गर्ने बताए । ‘प्रदर्शन नहुँदासम्म खासै राम्रो गरिन कि भन्ने लागेपनि च्यारिटी शो पछिका प्रतिक्रियाबाट उत्साहित भएको छुँ’–उनले भने । ‘वास्तविक विषयवस्तुमा डुबेर अभिनय गर्न खोजेकोले दर्शकको ध्यान तानेको हुनुपर्छ’ उनको तर्क छ ।  फिल्मका निर्देशक लामिछाने रिलिज डेट लिन मोफसलका फिल्मकर्मीलाई गाह्रो हुने गरेको दुःखेसो पोख्छन् । फिल्म हेरिसकेपछि काम मन परेर काठमाडौँ उपत्यकाको लागि पपकर्न पिक्चर्स प्रा.लि. र उपत्यका बाहिरको लागि  एफ टि कम्पनीले फिल्म वितरण गर्ने जिम्मा लिएको उनले बताए । फिल्ममा कलाकारको अभिनय, व्याकराउन्ड म्युजिक, पटकथा उत्कृष्ट रहेकाले दर्शकले भरपुर मनोरञ्जन प्राप्त गर्ने उनको दावी छ । फिल्मका निर्देशक लामिछानेले वि.स.२०५७ सालमा मोफसल बाट ‘प्रेम मिलन’ चलचित्रको लेखन निर्देशन गरी नेपाली चलचित्रको क्षेत्रमा निर्देशकको रुपमा अस्तित्व खोज्न सँघर्ष सुरु गरेका थिए । २०५८ सालमा ‘प्रेम पागल’ नामक चलचित्रको लेखन निर्देशन गरे यस चलचित्रबाट पनि उनको थप चर्चा बढ्योे । २०५९ सालमा गुरुङ चलचित्र ‘रोधी’ को पटकथा सँवाद र निर्देशन गर्ने मौका उनले पाए । २०६० सालमा गुरुङ सँस्कृतिमा आधारित नेपाली चलचित्र ‘च्यागी’ को निर्देशन गरे भने ‘कर्मधी’ नामक चलचित्र लेखन गरे । चलचित्र क्षेत्रमा आफूलाई स्थापित गराइसके पछाडि विस्तारै वृत्तचित्र निर्माणतर्फ आफ्नो यात्रालाई मोडे । २०६० सालमा ‘सिङ्गम साक्ष मनाङ’ वृत्तचित्र निर्माण गरी दर्शकलाई फरक स्वाद पस्के । २०६५ सालमा ‘लभ्ली पोखरा’ नामक वृत्तचित्र निर्माण गरे । हुनत उनले विश्वकै होचा व्यक्ति खगेन्द« थापाको जीवनीमा आधारित ‘आई एम खगेन्द«’ नामक वृत्तचित्र निर्माण गरिसकेका छन् । उनले पोखरा नेपाली चलचित्र तथा म्युजिक भिडियो छयाँङ्कन गर्ने लोकप्रिय ठाउँ भएको भए पनि सुटिङ्गको लागि आवश्यक पर्ने सामाग्री नभएको महसूस गरी सुटिङ्ग सामग्री व्यवस्थापन, क्यामेरामेन, क्यामेरा तथा प्रोजेक्टर लगायतका सामाग्री उपलब्ध गराउने उद्देश्यका साथ चापापानी १२ पोखरामा यसको कार्यालय स्थापना गरेका छन् । हाल उनी म्युजिक भिडियो निर्देशनमा समेत उत्तिकै व्यस्त छन् । लामिछाने पोखरा फिल्म सोसाइटीका अध्यक्ष समेत हुन् ।



Post a Comment

 
Top