0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति सुशिल कोइरालाले नेपाली काँग्रेसलाई धुलोमा मिलाएको आरोप लगाएका छन् । उनले कांग्रेस नेतृत्वको सरकार गठन गरेर सफलताको शिखरमा पुगेको पार्टीलाई सभापति कोइरालाले धुलोमा मिलाएको बताए । संविधानसभाको दोस्रो निर्वाचनपछि सरकार गठन हुँदादेखि भएको सहमति, दलबीच भएको १६ र ७ बुँदे सहमति विपरित गएर काँग्रेसले अहिलेसम्मको उपलब्धि र जस गुमाएको उनको भनाइ थियो । ‘संविधान जारी गरेपछि एमालेलाई सत्ता हस्तान्तरण गर्ने, एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएकै हो’, कास्की कांग्रेसका कार्याकर्ताहरु माझ बिहीबार पोखरामा बोल्दै उनले भने–‘संविधान जारीपछि पनि दलबीच के के गर्ने भन्ने सहमति भएकै हो तर काँग्रेसले सहमति लत्यायो ।’ संविधान जारी गरेर शिर ठाडो गरेर जस लिने कांग्रेसले संविधान कार्यान्वयन गर्ने बेलामा दलबीचको सहमति तोडेको आरोप लगाउँदै उनले भने,–सहमतिअनुसार नै अगाडि बढ्नुपर्छ भनेर भन्दा महामन्त्री र आफूलगायत सहमतिको पक्षमा उभिने नेताले गल्ती गरे भनिएपनि हामीले गल्ती गरेका छैनौँ ।’ उनले भने–‘मैले पटक–पटक उहाँलाई सचेत गराउँदा–गराउँदै पनि मान्नुभएन । अन्तैको ग्राइण्ड डिजाइनमा चल्नुभयो त्यसले उहाँले संविधान निर्माण गर्दा कमाउनु भएको हाइट त घटाउनुभयो पार्टीलाई समेत ठूलो नोक्सानमा पु¥याउनुभयो ।’ ‘उहाँले प्रधानमन्त्री चुनावको दुईदिन अघिको केन्द्रीय समितिको बैठकमा केही भन्नुभएन, भोलिपल्ट पदाधिकारी बैठकमा समेत केही बोल्नुभएन, प्रधानमन्त्री बन्ने कि राष्ट्रपछि बन्ने ? भनेर सोध्दा समेत दलहरुसंग छलफल गर्छु अनि निर्णय गरेर भनौंला भनेर टार्नुभयो । तर चुनाव हुने अघिल्लो दिन एकाएक प्रधानमन्त्रीको उम्मेदवारी घोषणा गरी संसदमा पुग्नुभयो । म त आश्चर्यमा परें ।’ नेता खड्काले भने । एमाओवादी र कांग्रेसबीच छलफल हुँदा एमाओवादी अध्यक्ष प्रचण्डले समेत ‘सुशिलजी प्रधानमन्त्री चुनावमा उठेर आफ्नो उठाइ घटाउने काम नगर्नुस्, राष्ट्रपति बनेर अभिभावकको भूमिका निर्वाह गर्नुस्’ भनेर सुझाव दिएको नेता खड्काले स्मरण गरे । उनले प्रधानमन्त्रीमा उम्मेदवारी नदिनुस् पछि छाँगाबाट खसेको अनुभव गर्नुपर्ला भनेर चेतावनी दिंदा समेत कोइराला पछि नहटेको बताए । आफूले सह–महामन्त्री पदबाट राजीनामा दिनुको कारण बारे कार्यकर्तालाई स्पष्ट पार्दै उनले भने–‘म २० वर्षदेखि नै सुशिल कोइरालाको पक्षमा वकालत गर्दै आएँ, उहाँको हरेक काममा साथ दिंदै आएँ, २० वर्ष अघि तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाल र कृष्णप्रसाद भट्टराईले किन सुशिलको पछि किन लागेको ? भनेर स्पष्टिकरण लिंदा समेत सुशिलले लिएको बाटो सही  लागेर उहाँको पछि लागेको हुँ भन्दै आएँ । तर संविधान घोषणापछि पार्टी र सभापति सुशिलको उचाइ र गरिमा उच्च भएको बेला प्रधानमन्त्रीमा होइन राष्ट्रपति बन्दा राम्रो हुने सुझाव दिंदा समेत नमान्नु भएकाले राजनीतिक नैतिकताको आधारमा राजीनामा दिएको हुँ ।’ ‘कोइराला भद्र सहमतिबाट पछि हटेका कारण सहमति गर्दाका विभिन्न छलफलमा सहभागी मैले नैतिकताको आधारमा राजीनामा दिएको हुँ’उनले भने–‘कोइरालाको प्रस्तावमा म सहमहामन्त्री भएको हुँ । तर अहिले मलाई त्यो पदमा बस्न नैतिकताले दिएन ।’ 
संविधान निर्माणमा आफूले ठूलो भूमिका खेलेको दावी गर्दै नेता खड्काले संविधान जारी हुन्छ या हुँदैन भन्ने अन्यौलका अवस्थामा आप्mनो पहलले सार्थक काम गरेको बताए । उनले भने–‘दलहरुबीच पटक–पटक संवाद संवाद भयो तर नेताहरु निर्णायक तहमा पुग्न सकेका थिएनन् । कांगे्रस, एमाले र एमाओवादी बैठकमा मैले गरेको पहल कै कारण सबैदलहरुले १६ बुँदे सहमति गरेका हुन् ।’
संविधानमा कुनैपनि दलको मुद्धा पूरा नसमेटिएको भन्दै उनले संविधानमा कहाँ के समस्या छन् संशोधनमार्फत अघि बढ्न सकिने स्पष्ट पारे । नेपालको संविधान अमेरिका, भारतको संविधान भन्दा बढी लोकतान्त्रिक र समावेशी भएको उनले दावी गरे । नेता खड्काले भने–‘नेपालको संविधान जारी गर्दा ९० प्रतिशत सभासदहरुले हस्ताक्षर गरे । अमेरिका र भारतको संविधान जारी गर्दा जम्मा ६० प्रतिशतले मात्र समर्थन गरेका थिए ।’ 
कांग्रेस गुट र उपगुटबाट ग्रस्त हुँदा विभिन्न खालका समस्या आएको  भन्दै नेता खड्काले १३औं महाधिवेशनबाट त्यसको अन्त्य हुनुपर्नेमा जोड दिए । ‘पार्टी ६० र ४० को भागवण्डामा चल्दा सोचेजस्तो अघि बढ्न सकेन ।’, उनले भने–‘कांग्रेसभित्र अव पनि त्यहि रवैया दोहोरिने हो भने कांग्रेस पार्टीलाई नोक्सान त पु¥याउँछ ने मुलुक समेत गम्भीर मोड्मा पुग्छ ।’
मुलुकमा भएका परिवर्तनलाई आत्मसाथ गर्दै अघि बढ्न सक्ने र नयाँ संविधानलाई कार्यान्वयन तहमा पु¥याउन सक्ने नेतृत्व अबको १३औं महाविधेशनबाट आउनुपर्ने बताउँदै नेता खड्काले संविधानको कार्यान्वयन गर्नका लागि अर्को संसदीय र स्थानीय निर्वाचन हुनुपर्ने र निर्वाचन गर्न कांग्रेसले अगुवाइ र नेतृत्व गर्नुपर्ने खाँचो औंल्याए । कांग्रेसको १३औं महाधिवेशन बाट आउने नेतृत्वले मुलुकको संरचना र संविधान अनुरुप कांग्रेसलाई अघि बढाउन नयाँ नियमावली बनाउनुपर्ने र त्यसलाई केन्द्रदेखि वडा तहसम्म कार्यान्वयनमा लैजान भूमिका खेल्नुपर्नेमा नेता खड्काको जोड थियो । 
भूकम्पपछिको पुनर्निर्माण, नाकाबन्दी, मधेशको समस्या समाधान र संविधान संशोधन लगायतका महत्वपूर्ण जिम्मेवारीहरु पुरा गर्न तीन दलवीचको एकता कायम रहनुपर्नेमा जोड दिंदै नेता खड्काले दलहरुबीच सहकार्य हुँदा कांग्रेस नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको प्राधिकरण विधेयक र संविधान संशोधन विधेयक पारित नभएको बताए । 
उनले भने–‘कांग्रेसले समति तोडेर हिंड्दा ३ महिनासम्म कुनैपनि विधेयक पारित हुन सकेन । जब तीनै नेताहरु बालुवाटार पसे तबमात्र केहीदिन अघि दुवै विधयेक संसदबाट पारित भयो । उनले मुलुकको समस्या समाधान नेपाली कांग्रेसलेमात्र गर्न सक्ने भन्दै अहिलेको मधेश आन्दोलन र नाकाबन्दीमा समेत कांग्रेसले सार्थक पहल थाल्नुपर्नेमा जोड दिए । उनले जसरी संविधान घोषणा गर्दा पार्टीका सबै नेताहरु एकढिक्का भएका थिए त्यसैगरी नयाँ नेतृत्व चयन गर्दा पनि एकढिक्का हुनुपर्नेमा नेता खड्काले जोड दिए । पार्टीका सबै नेताहरु एक ढिक्का भएमात्र कांग्रेस बसिलयो हुने र मुलुक संवृद्धिको बाटोमा अघि बढ्ने उनको तर्क थियो । चेतावनीपूर्ण भाषामा उनले भने–‘कांग्रेसको काँधमा मुलुकको जिम्मेवारी छ, जनताले पनि कांग्रेसमाथि भरोषा गरेका छन् । कांग्रेस विवदित भएर अघि बढ्यो भने मुलुक गम्भीर मोडतर्फ उन्मुख हुन्छ । त्यसको जस कांग्रेसले नै लिनुपर्छ । कार्यकर्ता माझ कास्की कांग्रेस सभापति एवं सांसद यज्ञबहादुर थापा, पूर्व सभापति शुक्रराज शर्मा, उपसभापति विष्णु बाँस्तोला, सांसदहरु शारदा पौडेल र वृन्दादेवी राणा सहभागी थिए ।  

Post a Comment

 
Top