0
तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयकलाई पारित गर्न सहयोग गर्ने भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सत्तारुढ, प्रमुख प्रतिपक्षी र मोर्चाबीच भएको संयुक्त बैठकमा मोर्चाले व्यवस्थापिका–संसद्को बैठकमा सो विधेयक पारित गर्न सदनमा कुनै अवरोध नगर्ने जनाएको हो । लामो समयदेखि सदन अवरुद्ध हँुदा प्राधिकरण गठनसम्बन्धी विधेयक र संविधान संशोधनसम्बन्धी विधेयक पारित हुन सकेको छैन । बैठकपछि उपप्रधान मन्त्री भीमबहादुर रावलले भूकम्प बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसम्बन्धी प्राधिकरण गठन गर्ने सन्दर्भमा अगाडि बढाइएको विधेयकलाई पारित गर्न मोर्चाका तर्फबाट कुनै अवरोध नगर्ने उनीहरूले जानकारी गराएको र यसलाई सरकारले सकारात्मक रुपमा लिएको बताए । रक्षामन्त्री रावलले संविधान संशोधनसम्बन्धी सदनमा दर्ता भएको प्रस्तावका सम्बन्धमा आज प्रारम्भिक छलफल भए पनि त्यसबारे मोर्चासँग शुक्रबार छलफल गरेर अगाडि बढ्ने निर्णय भएको बताए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मोर्चाले अवरुद्ध संसद् खोलेर भूकम्पसम्बन्धी विधेयकलाई पारित गर्न दिने निर्णयले सकारात्मक सन्देश गएको बताए । उनले सदनमा प्रस्तुत संविधान संशोधनसम्बन्धी विधेयकले मोर्चाका कतिपय मागलाई सम्बोधन गर्ने बताउँदै छलफलले कुरा नमिलेका विषयमा सहमति गरी अघि बढ्न सहज हुने बताए ।



Post a Comment

 
Top