0
गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प पीडितको नाममा असम्बन्धित व्यक्तिलाई चीन भ्रमण गराएको विषयमा आत्मआलोचना गरेका छन् । एकीकृत नेकपा (माओवादी)को केन्द्रीय समितिको बैठकमा गृहमन्त्री बस्नेतले भूकम्प पीडितका नाममा असम्बन्धित व्यक्तिलाई चीन पठाएको विषयमा लिखित रुपमा आत्मआलोचना गर्दै र आगामी दिनमा त्यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरे । बैठक सुरु हुनेबित्तिकै अध्यक्ष पुष्पकमल दाहालले लिखित रुपमा आत्मआलोचना गर्न वा राजीनामा दिन मन्त्री बस्नेतलाई निर्देशन दिएका थिए । गृहमन्त्री बस्नेतले आफ्नो ध्येय र जोड भूकम्प प्रभावित १४ जिल्लाका नागरिक, तल्लास्तरका पार्टी कार्यकर्ता नै चीन भ्रमणमा जाउन भन्ने रहेको उल्लेख गर्दै नहुनुपर्ने गल्ती भइसकेको बताएका थिए । भूकम्प पीडितको कोटामा एमाओवादी अध्यक्ष दाहालका नातिनी र गृहमन्त्री बस्नेतका छोरी र भतिजीलगायत नजिकका आफन्त चीन भ्रमणमा पठाइएको थियो । 

एमाओवादीको स्थायी समितिको बैठकमा समेत सरकारमा सहभागी मन्त्रीको कार्यशैली गलत र अमर्यादित रहेको भन्दै चर्को आलोचना भएको थियो । पार्टी प्रवक्ता दिनानाथ शर्माका अनुसार कार्यशैलीलगायतका विषयमा गृहमन्त्री बस्नेतले आफ्नो धारणा राख्नुभएको र आगामी दिनमा गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाउनुभएको बताए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा नेता हेमराज भण्डारी, गङ्गाबहादुर कार्कीलगायतले एमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कार्यशैलीले पार्टीको साख गिरेको भन्दै फिर्ता बोलाउनुपर्ने माग गरेका थिए । सोही मागबमोजिम अध्यक्ष दाहालले चीन भ्रमण प्रकरण छानबिन गर्ने प्रतिबद्धता जनाएका थिए । सरकार सञ्चालन तथा समन्वय समितिका संयोजक एवम् उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रीको कार्यशैली परम्परागत भएको, आफूखुसी गरेको भन्दै सो समिति भङ्ग गर्न माग गरेका थिए । सोही मागबमोजिम सबै मन्त्रीलाई राखेर अध्यक्ष दाहालले पार्टीको निर्देशनभन्दा बाहिर गएर कुनै काम नगर्न, आफूखुसी निर्णय नगर्न तथा पार्टीको साख गिर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका थिए । बैठकमा उपाध्यक्ष श्रेष्ठ, सचिव गिरिराजमणि पोखरेल, नेता सन्तु दराईलगायतले धारणा राखेका थिए । यही मङ्सिर १५ गतेबाट सुरु भएको बैठक आगामी पुस ४ गतेसम्मका लागि स्थगित भएको छ ।

Post a Comment

 
Top