केही महिनादेखि नेपालमा नयाँ शक्तिको चर्चा छ । यसलाई खासगरी एनेकपा माओवादी पार्टीभित्र भएको राजनीतिक बर्चस्वको लडाईंमा बाबुराम भट्टराईको हारले उब्जाएको कुण्ठाको अभिव्यक्ति पनि भन्ने गरिन्छ । कसैले यसलाई माक्र्सवादबाट बाबुरामको पलायन र पुँजीवादी शक्तिसँगको आत्मसर्मणसँग जोडेर पनि हेरेका छन् । जसले जे भनेपनि नयाँ शक्तिको गठनसँगै बाबुरामको वैचारिक निष्ठाको धरहरा भने ढलेको छ र उनी एउटा अविश्वाशिलो राजनीतिक पात्रका रूपमा नेपाली राजनीतिमा देखापरेका छन् । पार्टी वहिर्गमनको घोषणा गर्दा नयाँ शक्तिमा नयाँ मान्छे, नयाँ विचार, नयाँ गन्तव्य भनेर खुव प्रचार गरे तर, नयाँ शक्तिको गठनको लागि काठमाडौंको चावहिलमा भएको भेलामा शुभकामना दिन पुगेका केही नागरिक अगुवाबाहेक अन्य सबै एमाओवादी पार्टीका पुरानै कार्यकर्ता मात्र भए । उक्त भेलाले छनौट गरेका अभियन्ताको सूची बाबुरामको पुरानै एमाओवादी घेराभन्दा बाहिर जानै सकेन । नयाँ शक्ति, नयाँ मान्छे, नयाँ विचार, नयाँ गन्तव्य जे भने पनि फेरि उही हिसिला यमी, देवेन्द्र पौडेल र बाबुराम सत्तामा हुदाँ नजिक रहेका कार्यकर्ता मात्रै परे । नयाँ शक्तिमा देखिएको वैचारिक अस्पष्टता, ढुलमुले प्रवृत्ति, यसमा संलग्न व्यक्तिहरूको प्रकृति र तिनको विगतलाई केलाउँदा ‘नयाँ शक्ति’ पुरानो बोतलमा पुरानै रक्सी’ जस्तो भयो । नयाँ शक्तिका प्राधिकार बाबुराम हुन, त्यसैले यो उनकै राजनीतिक इतिहासको प्रतिविम्ब पनि हो । नयाँ शक्तिलाई बुझ्न बाबुरामको राजनीतिक विगतलाई कोट्याउँदा उनी जगैदेखि उठेका नेताभन्दा पनि मोहनविक्रमको तेजोबध गर्नका लागि तत्कालीन नेकपा मसालबाट मोहन वैद्य र प्रचण्डले टिपेर आफ्नो पार्टीको नेतृत्वमा स्थापित गराएका नेता हुन् । उनलाई आफ्नो पार्टीमा ल्याएर मोहन वैद्य र प्रचण्डले मोहनविक्रमको राजनीतिक मेखमात्रै मारेनन्, उनको भारतसँगको कुशल सम्बन्धलाई सशस्त्र द्वन्द्वताका राम्रै उपयोग पनि गरे । तर प्रचण्डले पार्टीको शीर्ष नेतृत्वमा पुग्ने बाबुरामको महत्वकाक्षांलाई कहिल्यै पूरा हुन दिएनन । यही असन्तुष्टिबाट उब्जिएको बाबुरामको कुण्ठा नै नयाँ शक्तिको राजनीति हो । बाबुरामले आज जेजे भने पनि विगतलाई हेर्दा उनको अन्तरमनमा अनुराग र निष्ठा छ भनेर पत्याउने आधार छैन । १० वर्षे माओवादी युद्धकालमा भएका हत्या, हिंसा र लुट, विकासका पूर्वाधारहरू ध्वस्त, आगजनी र तोडफोडका घटना साथै फरक विचार राख्नेप्रतिको बाबुरामको असहिष्णु व्यवहार सवैले भोगेकै कुरा हो । विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोलेर नयाँ जनवादी सत्ताको एकलौटी साम्राज्यको सपना बाबुरामले रामै्रसँग देखेका थिए । संविधानसभाको निर्वाचनमा उनको चुनावी क्षेत्रमा बुथहरू कब्जा मात्रै गरिएन, एमाले र काँग्रेसका नेता तथा कार्यकर्तामाथि सांघातिक अक्रमण गरेर चुनावलाई एकलौटी पार्ने काम पनि भए । यस्ता घटनाले बाबुराम लोकतान्त्रिक मूल्य, मान्यताप्रति कत्तिको निष्ठावान छन् भन्ने कुराको पुष्टि गर्दछन । बाबुराम नेपालको समकालिन राजनीतिमा बौद्धिक व्यक्तित्व मानिन्छन, तर यसो भन्दैमा नेपालको राजनीतिमा उनी एक्ला खेलाडी भने पक्कै होइनन । उनले नयाँ शक्तिको नाममा राजनीति गर्न खोजिरहँदा विगतमा उनले खेलेको राजनीतिक भूमिका र त्यसले उब्जाएको मानवीय, आर्थिक र तथा सामाजिक संकटको चर्चा र समीक्षा पनि महत्वपूर्ण हुन्छ । राजनीतिमा विचारलाई हतियार मानिन्छ । विचारविहीन राजनीतिले अराजकतामात्र निम्त्याउँछ र त्यसले गन्तव्य फेला पार्न सक्दैन । बाबुरामको नयाँ शक्ति त्यही विचारविहीन अभियान भएकाले यसले केही समय भ्रम पार्न सके पनि गन्तव्यमा पुग्न भने दिदैन ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment