0
नुवाकोटकी एक महिलालाई आफ्नै दिदीभिनाजुले भारत घुम्न लैजाने भनी कोलकाताको सोनागाछी बस्ने घरवाली कविताको कोठा नं ४०४ मा बेचबिखनमा गरेको भनी माइली नेपालमा निवेदन प¥यो । सोही निवेदनका आधारमा ती महिलाको भिनाजुसँग सम्पर्क गर्दा भिनाजुले आफ्नो नाम परिवर्तन गरी फोनमा कुराकानी गरेपछि शङ्का गरी माइती नेपालको उद्धार टोली कोलकाताको सोनागाछीस्थित नगरवधू क्षेत्रमा पुगी ती महिलालाई उक्त स्थानबाट यही मङ्सिर १० गते उद्धार गरेर परिवारको सम्पर्कमा राखिएको छ । त्यसैगरी काभ्रे स्थायी घर भई गौशालास्थित होटलमा काम गर्दै आउनुभएकी एक महिलालाई उनकै आफन्तले रु दुई लाख बराबरको आम्दानी हुने काम लगाइदिने आश्वासन दिँदै भारत लैजाने योजना अनुसार भारत जाँदै गर्दा चितवन र पर्साको सीमानाको बाँदरझुला भन्ने ठाउँमा पुगेपछि शङ्का गरी ती महिलालाई प्रहरी मार्फत माइती नेपाल पर्सा शाखामा जिम्मा लगाइयो । तर ती महिलालाई लैजाने मानिस भने त्यहाँबाट भाग्न सफल भए । पीडित महिलाले काठमाडौँ आई प्रहरीमा उजुरी दिएका आधारमा अभियुक्तलाई पक्राउ गरी हाल काठमाडौँ जिल्ला अदालतमा मानव बेचबिखन  मुद्दा चल्दै छ ।
 
चेलीबेटी बेचबिखन, जबर्जस्ती करणी र घरेलु हिंसासम्बन्धी माइती नेपालमा आउने निवेदन र उद्धारका यी प्रतिनिधि घटना मात्र हुन् । माइती नेपालले सन् २०१५ मा मात्र मानव बेचबिखन सम्बन्धी ४४  मुद्दा विभिन्न प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोमार्फत विभिन्न जिल्ला अदालतमा दायर गरेको र हाल ती मुद्दा उक्त अदालतमा विचाराधीन छन् । सन् २०१५ मा ३५ जबर्जस्ती करणीसम्बन्धी अपराधका मुद्दा माइती नेपालको पहलमा प्रहरी कार्यालय र अदालतमा विचाराधीन छन् । माइती नेपालका अनुसार  ५२५  घरेलु हिंसासम्बन्धी निवेदन परेका छन् । तीमध्ये शान्ति सुरक्षा, मेलमिलाप, बहुविवाह, सम्बन्धबिच्छेद, अंशबन्डा, कुटपिट र हत्या तथा कर्तव्य ज्यानसम्बन्धी निवेदन परेका छन् ।



Post a Comment

 
Top