0
गोल्डेन न्यूज संवाददाता
व्यवस्थापिका संसद सदस्य एवं संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले सिद्धार्थ क्लवको सामाजिक एवं मानवीय गतिविधिमा अमिटछाप रहेको बताएका छन् । सामाजिक एवं मानवीय सेवामा क्लवले पुर्याएको योगदानको जति प्रशंसा गरेपनि कमै हुने उनले बताए । सिद्धार्थ क्लवले पोखराको बगालेटोलमा निर्माण गरेको अस्पतालसहितको नयाँ भवन उद्घाटन गर्दै कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व समेत रहेका अधिकारीले क्लवले अस्पताल नै संचालन गरेर महत्वपूर्ण योगदान दिएको बताए । सिद्धार्थ क्लवको सहकार्यमा लेकसिटी हस्पिटल एण्ड क्रिटिकल  प्रालि एक वर्षदेखि संचालनमा छ । अस्पताल संचालन गर्नु ठूलो चुनौती भएको भन्दै अधिकारीले चुनौतीको सामना गर्दै अस्पताल संचालन गर्नु ठूलो कुरा भएको बताए । अस्पतालले गर्ने हरेक गतिविधि सिद्धार्थ क्लवको प्रतिष्ठिा र गरिमासंग गासिने भएकाले प्रतिष्ठा र गरिमासंग आँच आउने खालका कुनै पनि गतिविधि गर्न नहुनेमा उनले जोड दिए ।

उनले अस्पताललाई पोखराकै नमूना बनाउन र विशेष ढङ्गले संचालन गर्न दीर्घकालिन योजना ल्याए आफ्नो क्षेत्रको तर्फबाट पूर्ण समर्थन र सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने–‘जनताको हितमा लागू हुने कुनैपनि दीर्घकालिन योजना ल्याए संसदीय विकास समितिबाट प्राप्त हुने रकमको आधा रकम सहयोग गर्नेछु ।’ स्वास्थ्य सेवा नाफामूलक होइन सेवामुखी हुनुपर्नेमा जोड दिंदै उनले सेवाबाट नै प्रतिष्ठा थपिने बताए । लोकसिटीलाई पोखराकै नमूना अस्पताल बनाउनुपर्नेमा जोड दिंदै उनले भने–‘लेकसिटी अस्पतालले नाफा होइन सेवामुखी काम गरेर अघि बढे सफलता हात पार्छ, त्यस कुरालाई ध्यान दिन अस्पताल संचालक समितिसंग आग्रह गर्दछु ।’ अर्को प्रसङ्मा बौल्दै उनले नाकाबन्दी बारे जति भ्रम छरेपनि नाकाबन्दी जारी रहेको स्पष्ट पारे । उनले भने–‘३÷४ दिनमा के हुन्छ भन्न सकिन्न, सकारात्मक संकेतहरु देखा पर्न थालेका छन् । तर अहिलेकै अवस्थामा नाकाबन्दी जारी छ ।’ भरतले नाकाबन्दी गरेर नेपाल र नेपाली जनताको सार्वभौम अधिकारको हनन गरेको भन्दै अधिकारीले नाकाबन्दीका कारण नेपालका ९५ प्रतिशत उद्योग धन्दा लगायत सबै क्षेत्र तहस–नहस भएको बताए । मुलुक हल्ला नै हल्लाबाट चलेको भन्दै उनले हल्लाको पछि नलाग्न आग्रह गरे । २७ वर्ष अघि पनि नाकाबन्दी भएको प्रसङ्ग कोट्याउँदै उनले त्यो नाकाबन्दीबाट कसैले पनि पाठ सिक्न नसक्दा वर्तमान सङ्कट निम्तिएको बताए । अहिलेको सङ्कटको सामना गर्न सबै राजनीतिक दल र नागरिकहरु एकै ठाउँमा उभिनुपर्नेमा अधिकारीले जोड दिए । अहिलेको नाकाबन्दी बाट पाठ सिकेर नेपालको उत्तरतर्फको नाका वैधानिक तवरले नै संचालनमा ल्याउनुपर्नेमा उनले जोड दिए । दुवैतर्फको नाका संचालन गरि बराबर र सहज आपूर्ति भएमात्र मुलुक आर्थिक संवृद्धिको बाटोमा लाग्ने उनको विश्वास थियो उनले भने–‘चीनतर्फका केही नाका आहिले पनि अघोषित रुपमा संचालनमा छन् । उक्त नाकालाई वैधानिक ढङ्गले नै संचालन गर्दै तत्काल आपूर्ति व्यवस्था गर्नुपर्छ ।’ चीनतर्फका कोरला नाका सबैभन्दा बढी महत्वपूर्ण भएको भन्दै उनले कोरला नाका वैधानिक तवरले संचालनमा आए पोखराको विकासमा समेत महत्वपूर्ण हुने स्पष्ट पारे । कोरला नाकाबाट मुस्ताङ, म्याग्दी, पोखरा हुँदै सुर्खेतसम्मको बाटो विस्तार गर्न सकिने उनले बताए ।  

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले स्वास्थ्य क्षेत्र अति महंगो र क्रिटिकल अवस्थामा रहेको बताए । उनले सबै जनतामा स्वास्थ्यको पहुँच नपुगेको भन्दै यसमा सरकार गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए । गरिब जनतामा पनि गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा पुर्याउने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनले बताए । लेकसिटी अस्पताल संचालन गरेर सिद्धार्थ क्लवले मानवीय सेवामा महत्वपूर्ण योगदान दिएको भन्दै कुनैपनि मानवीय सेवामा कन्जुस्याइँ नगर्न आग्रह गरे । उनले भने–‘स्वास्थ्य क्षेत्रमा निकै विकृति भित्रिएको छ । यसलाई न्युनिकरण गर्न र गुणस्तरीयताका साथै भरपर्दो सेवा दिन लेकसिटी तयार हुनुपर्छ ।’ लेकसिटी अस्पतालको प्रतिष्ठा सिद्धार्थ क्लवसंग जोडिएकाले हरेक गतिविधि संचालन गर्दा सजग भएर गर्नुपर्नेमा उनले जोड दिए ।  मुलुकको वर्तमान परिस्थिति प्रति बोल्दै उनले सरकारले जनतामा सधैं भ्रम पैदा गरेको आरोप लगाए । अहिलेको सङ्कटमा सरकार पटक–पटक चुकेको भन्दै उनले जनतामा भ्रम मात्र छरेकोले जनताको धैर्यताको सीमा नाग्न लागेको स्पष्ट पारे । उनले भने–‘सरकारले भन्ने हो भने नागरिक ग्यास नबाल्न, तेलको प्रयोग नगर्न तयार छन् । तर जनतामा झुटको खेतीमात्र गर्न हुँदैन ।’ जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउने हो भने सरकार चूप लागेर बस्न नहुने भन्दै उनले ठूलालाई चैन र सानालाई मात्र ऐन भन्ने धारणाको अन्त्य हुनुपर्नेमा जोड दिए । 
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक पालिखेले सिद्धार्थ क्लवदे सामाजिक एवं मानवीय गतिविधिमा अग्रणी भूमिका खेलेको बताए । पोखरामा क्लवको प्रतिष्ठा र गरिमा विशेष रहेको भन्दै उक्त प्रतिष्ठा र गरिमालाई सदैव कायम राख्न आग्रह गरे । अहिलेको परिवेशमा स्वास्थ्य क्षेत्रमा विकृतिमात्र रहेको भन्दै उनले त्यसको अन्त्य गर्न लेकसिटीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भने–‘अस्पतालमा बिरामीको मृत्यु भएमा ठूलो इगो बन्छ । डक्टर र अस्पतालकै प्रतिष्ठामाथि आँच आउने खालका गतिविधि हुँदै गइरहेका छन् । यसबाट जोगिएर काम गर्न लेकसिटीलाई आग्रह गर्दछु । ‘शुरुमा क्लवले अस्पताल संचालन गर्न सक्दैन भन्ने लागेको थियो । तर अस्पताल संचालन विशेष ढङ्गबाटै भएकोमा म धेरै खुशी छु’–उनले भने । 



स्थानीयवासी एवं समाजसेवी युवराज श्रेष्ठले पोखराको २८ वडा मध्ये वडा नं. ८ सबै भन्दा पछाडि परेको बताए । ‘नगरपालिकाको कार्यालय नै यहि वडामा छ तर विकासको हिसावले सबैभन्दा पछाडि छ । यो त वत्ति मुनीको अँध्यारो भयो ।’ पोखरा–८ को विकास नमागरपालिकाले विशेष ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए । 
कार्यक्रममा भवन निर्माण समितिका संयोजक राजेन्द्र बाटाजूले भवन निर्माण गर्दाको आय–व्यय विवरण प्रस्तुत गरेका थिए । उनले १ करोड ७० लाख रुपैयाँमा क्लवको नयाँ भवन तयार भएको बताए । भवन निर्माणका लागि महापुराणबाट मात्र ५७ लाख बढी रकम संकलन भएको उनले जानकारी दिए । भवन रहेको जग्गा  १ रोपनी ३ आना बढी र मूल्य ५६ लाख बढीको रहेको उनले बताए ।  

क्लवका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेकसिटी अस्पताल एवं क्रिटिकल प्रालिका प्रमुख यामनाथ सापकोटा, पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष रवि मर्सानी र पूर्व अध्यक्ष कृष्ण मर्सानी लगायतले क्लवको बारेमा चर्चा गरेका थिए । उक्त अवसरमा सिद्धार्थ क्लवलाई आर्थिक सहयोग गर्ने नेपाली कांग्रेसका नेता वीरेन्द्र नारायण विजुक्छेलाई सम्मान गरिएको थियो । वि.सं. २०४१ सालमा स्थापित सिद्धार्थ क्लवले बालबालिका, महिला, स्वास्थ्य, वातावरणका साथै शैक्षिक क्षेत्रमा केन्द्रित रहेर अधिकारमुखी, शिक्षामूलक, शीपमूलक, जीविकोपार्जन, विपद् जोखिम न्युनिकरणका साथै विविध कार्यक्रमहरु संचालन गर्दै आएको छ । क्लवले समाजमा पछि परेका बालबालिकालाई शैक्षिक एवं छात्रवृत्तिका साथै निःशुल्क स्वास्थ्य परीक्षण, शीपमूलक तालिममार्फत लक्षित समुदायका महिलाहरुको क्षमता अभिवृद्धिका लागि सिलाइ–बुनाइ कार्यक्रम, निःशुल्क कम्प्युटर शिक्षाका साथै नेतृत्व विकास तालिम संचालन गर्दै आएको छ । यस्तै एम्वलेन्स र शवबाहन सेवा समेत क्लवले संचालन गर्दै आइरहेको छ । तीन दशकको ऐतिहासिक एवं गौरवमय कालखण्डमा क्लवले विभिन्न आरोह–अवरोह र चुनौतीको सामना गर्दै यो अवस्थामा आइपुग्नुका साथै आम प्रचलन भन्दा पृथक ढङ्गले कार्यक्षेत्रमा व्यापकता, विविधता र समाजमा अत्यन्तै सकारात्मक छवि बनाउन सफल भएको निवर्तमान अध्यक्ष दीपेन्द्र मर्सानीले सिद्धार्थ आवाजमार्फत बताएका छन् । सिद्धार्थ आवाज मार्फत वर्तमान अध्यक्ष अनिल श्रेष्ठले सिद्धार्थ क्लवको प्रतिष्ठा र गरिमालाई अझ उचाइमा पु¥याउने प्रतिवद्धता जनाएका छन् ।









Post a Comment

 
Top