चाहे कवि भूपी शेरचनले अन्तिम पटक २०४६ वैशाख १६ गते सुरेन्द्रबहादुर गौचनलाई दिएको अन्तर्वार्ता होस्। चाहे रेडियो सगरमाथाको साहित्यिक कार्यक्रममा व्यक्त गरिएको कुरा होस्। उनी अझै धेरै लेख्न चाहन्थे। आखिर उनको लेखाई घुम्ने मेचमाथि अन्धो मान्छे देखेपछि सबै तर्सिसकेका थिए। साझा प्रकाशनले प्रकाशन गरेको उनको कृति साझा प्रकाशनको पहिलो साझा पुरस्कार नै हात पारेको थियो। आमाको वियोगलाई हटाउनका लागि उनले अपनाएको नसा सेवनको बाटो नै घातक बन्न पुग्यो। जसको कारण उनी अल्सर, सुगर, युरिक एसिडबाट पीडित बने। वि.स. २०४४ जेठ १ गते नारायणचौर, नक्साल काठमाडौँमा एक मन्तव्य लेखेका थिए। जहाँ उनको अन्तिम धोको व्यक्त भएको थियो। कवि भूपी शेरचनप्रति श्रद्धा र सम्मान गर्दै थकाली सेवा समितिले पोखराको सभागृहचोकस्थित डेनिज रेष्टुरेष्टमा एक कार्यक्रम आयोजना गरेको थियो। जहाँ वक्ताका रूपमा अग्रज संस्कृतिकर्मी चेतन कार्कीलाई निम्त्याइएको थियो। उक्त समारोहमा वक्ता कार्कीले भनेका केही रमाइला सन्दर्भसहित खोज, अनुसन्धान र अध्ययनको क्रममा भेटिएका उनका धोका र केही व्यङ्ग्यात्मक सन्दर्भहरूलाई प्रस्तुत आलेखमा प्रस्तुत गर्ने जमर्को गरिएको छ।
जी अगाडि मुः स्याङ्जाको बहाँटारीका चेतन कार्की पछिल्लो सयम उनका अभिन्न मित्र बन्न पुगे। कार्की विभिन्न कार्यव्यस्तताले पोखरा आउने जाने क्रम निरन्तर चलिरहेको थियो। सोही सन्दर्भमा भूपी शेरचनसँग भेट भयो। त्यसभन्दा पहिला कार्कीले भूपीसँग साक्षात्कार गर्ने मौका पाएका थिएनन्। जब कार्की र शेरचनको चिनाजानी भयो एक अर्कामा त्यसपछि उनीहरूमा आत्मियताको भाव जाग्दै गयो। आफूभन्दा सम्पन्न परिवारलाई आदरसत्कार गर्ने नेपाली परम्परालाई कार्कीले पनि शिरोधार्य गरे। शेरचन र कार्कीको विभिन्न समयमा पोखरामा भेट हुने क्रम बाक्लिदै थियो। सोही सन्दर्भमा उनीहरू थुप्रै रातहरू सँगै बिताउन थाले। बिस्तारै सामिप्यता बाक्लो हुँदै गएपछि पोखरामा भेट हुने क्रम निरन्तर चलिरह्यो। कोही समय बेलुका र केही रात बिताउने दिनहरू आउन थाले। जति सामिप्यता बढ्दै गयो उति व्यवहारिक रूपमा चिनजान हुँदै गयो। सोही क्रममा समय काट्ने माध्यम कोही समय कोदोका झोल बन्न थाल्यो। कार्कीले भूपीप्रति सदा सम्मानको भाव व्यक्त गर्थे। उनीहरूको मित्रता ज्यादै नजीकिएको थियो। कार्की भन्छन्ः ‘चिनजानको छोटो समयमा नै म भूपीको सबैभन्दा नजिकको साथी बन्न पुगे। निरन्तर भेट हुने क्रममा उनले सम्बोधनको पछाडि जहिले पनि भूपीजी भनेर आदरसत्कार गर्ने गर्थे तर एकदिन भूपीले मलाई भने हामी अब साथी बनी सकेका छौं। त्यसैले बोलाइमा साथीको भाव व्यक्त गर्नु यदि मलाई भूपी जी, भूपी जी भनेर सम्बोधन गर्ने क्रम बन्द भएन भने मैले जी को अगाडि मु जोड्ने छु।’
मै अग्लोः भूपी निकै रमाइला व्यक्तित्व थिए। उनी वनारसमा बस्दा अस्सी भन्ने ठाउँको हीराबाबुको होटलमा खान खाने गर्थे। सो वेलाका भूपीका साथी काठमाडौंका श्यामप्रसाद अधिकारी, महेशकुमार उपाध्याय, द्रोणराज शर्मा र माधव गौतम थिए। ती मध्ये भूपीका अत्यन्त मिल्ने साथी श्यामप्रसाद अधिकारी थिए। उनीहरूको डेराबाट होटल पाँच मिनेट पर पथ्यो। खाना खाइसकेपछि पान खान झुमिन्थे। सधै पान पसलेको ऐना सामुन्ने उभिई को भन्दा को अग्लो भनी लड्ने ग¥थे। अन्तिम निर्णय दिने पसले थियो। पालैपालो भूपी अग्लो, श्यामप्रसाद अग्लो भनेर दुवैलाई खुसी तुल्याइ राख्थ्यो। उनी आफू ठूला भएको भनेको वेला निकै खुसी हुँदै उफ्रिन्थे र भन्थे ‘मै अग्लो।’
क्याप्स्टेन चुरोट र केला ः भूपी पैसा भए कन्जुस नगर्ने, नभए दुःख गर्न पनि सक्ने उनको प्रवृत्ति थियो। यस्तै एकपटक साथी श्यामप्रसाद अधिकारीसँग श्याम भाइ म नौतवना गई आढ्तको मुन्सीको टाउको फोर्छु, २५ रूपैयाँ पैचो देऊ त रु भनेर पैसा पैचो मागे। मुन्सीलाई उनले दिएको पँैचो पैसा माग्नुपर्ने थियो। आफूलाई पैसाको खाँचो परेपछि उनी पैसा माग्नका लागि जान तयार रहे। श्यामप्रसादले पैसा पनि दिए त्यो मात्र होइन उनलाई साथैमा लिएर गएँ। गान्धी क्लास डम्बामा नौतवना पुगे। मुन्सीलाई उनले दिएको पैसा पचाइसकेको समय भए पनि उनको रिस मत्थर भइसकेको थिएन। उनले मुन्सीसँग एक हजार भारू लिए। त्यसपछि फर्किदा रेलको फस्ट क्लास टिकट काटे। क्याप्स्टेनकै चुरोटको डब्बा किने र बुकस्टलबाट एक डङ्गुर महङ्गा पत्रिका किनेका थिए। खाना क्याटरिङ्ग सर्भिस केनलरलाई अडर गरेर झिकाएर बसिरहेका वेला स्टेशनमा मङ्गोल कदका नेपालीले फलफूल बेच्ने दृष्टिले ए बहादुर वा ए साथी भन्ने गर्थे। केरा व्यापारीले शेरचन बसेको डब्बाको झ्यालमा आई पटक–पटक ए साथी, केला खाओ भकाभक, केला खायो भकाभक भनी जिस्काएको भूपीलाई मन नपरेपछि डब्बाबाट ओर्लेर केरावालाको कठालो समातेर मुडकी चिउरा खुवाएछन् पसलेले भूपीलाई कुट्न लागेको वेला श्यामप्रसादले पुलिस बोलाए र शान्त बनाए।
चारैतिर पानीः भूपीको व्यङ्ग्य सबैलाई थाहा थियो। त्यस्तै प्रसङ्ग अनेकौं छन्। नेपाली छात्र सङ्घको एउटा समारोहमा भूपीले लेखेको नाटकको मञ्चन गर्नुपर्ने समयमा निर्देशक र हिरोको रोलमा भूपी आँफै र हिरोइनमा स्कूल पढ्ने कन्याको निधो थियो। अन्तिम अवस्थामा ती कन्या नखेल्ने भएपछि विश्वविद्यालयमा पढ्ने कुनै नेपाली केटीले हिरोइन बन्न नमानेपछि केटीहरूलाई च्यालेन्ज गर्नका लागि उनका साथी श्यामप्रसादले केटीको भूमिका गरिदिए। उनलाई तुला राणाले साडी र शृङ्गार गरिदिइन्। नाटक समापन भयो त्यसको अन्त्यमा निर्देशक भूपीले एउटा अग्रज कविको प्यारोडीको रूपमा ‘पानी–पानी चारैतिर पानी, नाटक खेल्न तयार भएनन् कोइ पनि हिरोइन नानी’ भनेर समापन गरे। जुन अभिव्यक्ति समारोहमा उपस्थित केटीहरूका लागि व्यङ्ग्य र दर्शकहरूका लागि मधुर मनोरञ्जन थियो।
रङ्गीला स्टुडेन्टः भूपीलाई वनारस विश्वविद्यालयमा आयोजित भारतीय विद्यार्थीहरूको गोष्ठीमा कविता पढ्नका लागि आमन्त्रण गरिएको समय थियो। भूपीले आफ्ना साथीलाई पनि लिएर गए। उनका साथी हिन्दी कवि गोष्ठीमा नेपाली कविता कसले बुझ्छ र भाग लिन जाँदैछौ भनेर सोधेका थिए। त्यसपछि हिन्दुस्थानी पनि सुनाइदिन्छु भन्दै गए। नामुद कविहरू, निराला बेढव वनारसी, बेधडक वनारसी आदि कविले आफ्ना कविता सुनाएपछि भूपी आफ्नो हिन्दी कविताको छोटो परियच दिदै यो कविता आजका स्टुडेण्टकोबारे लेखिएको हुँदा उनैलाई समर्पित गर्छु भनेर सुरू गरे जुन कविता यस्तो थियोः
वह देखो आरहा है रङ्गीला स्टुडेन्ट
पहर कर जर्किन और फुटपैन्ट
झाड चला है बदनपर सेन्ट
करता सायकल सडकपर एक्सिडेन्ट
वह देखो आरहा है रङ्गीला स्टुडेन्ट
होटज जाता है, आमलेट उडाता है
और गर पडगया कभी गोल्डेन चान्स
मिनिस्टरका दामाद बताना और,
गभरनको बताता अपना साला,
वह देखो आरहा है रङ्गीला स्टुडेन्ट
खत लिखते बापत जानको
पढ्ने मे मसगुल हुँ,
इधर लिखते मासुके जानको
तेरो चरर्णोका धुन हुँ
वह देखो आरहा है रङ्गीला स्टुडेन्ट ...
पिकनिक जातेहैं भाग और बियर उडाते हैं
होस्टल पहुँचले बाह्र बजे रात
पार्टनर सुनाता दो चार बात
माडकर वाह अदा के साथ ले के आहें
वह कहता अमा यार मुहब्बत बढी बुरी चिज होती है
ससुरी रात रातभर मुझे जगाकर
खुद होस्टलमे सोती है
वह देखो आरहा है रङ्गीला स्टुडेन्ट ...
वनारस विश्वविद्यालयको त्यो खचाखच भरिएको हल तालिको गडगडाहतले गुन्जियो। चारैतर्फबाट ओन्स मोर, ओन्स मोरको आग्रह सुन्दा भूपी विश्वविद्यालयका छात्र छात्रा माझ हिरो नै भए। त्यसपछि उनलाई विश्वविद्यालय प्राङ्गण होस् वा बाटोघाटोमा देख्दा ‘वह देखो आरहा है रङ्गीला स्टुडेन्ट’ भन्न थाले।
बोलाइमा अङ्ग्रेजीवादः भूपीले आफूलाई सर्वहारा भनेर परिवर्तन नाटकबाट चिनाएका थिए। त्यो हिसाबले उनलाई प्रगतिशील मान्नेहरू धेरै थिए। सोही समय सोही धार समातेको अखिल वनारस छात्र सङ्घको एक कार्यक्रम थियो। जसको सम्पादक मण्डलमा आजका प्रसिद्ध साहित्यकार डा. तारानाथ शर्मा, बालकृष्ण पोखरेल, कोषराज रेग्मी, चुडामणि रेग्मी, शान्तनु पन्त, भूपी शेरचन, बल्लभमणि दाहाल र श्यामप्रसाद अधिकारी पनि थिए। अध्यनन मण्डलको काम कतव्यबारे छलफल गरेपछि सो कार्यक्रमको विषय थियो। के साम्यवाद सबै सामाजिक आर्थिक र राजनीतिक समस्याको रामवाण हो सो विषयको सहमतिमा र विमतिका तर अ्रग्रेजीमा बोल्नुपर्ने थियो। अ्रग्रेजी भाषाको यस कार्यकर्ता भेला संस्कृत पढ्ने विद्यार्थीले खुबै आलोचना गरे। तर पनि अङ्ग्रेज बाजहरूको कार्यक्रम भनेर कोहीले पनि बहिस्कार गरेनन्। सो कार्यक्रमका वक्ताहरूमा चूडाबहादुर हमाल, पूर्व राजदूत यज्ञ आचार्य, दिवाकार राणा, महेशकुमार उपाध्याय, पूर्व उपकुलपति भूपी शेरचन, महाप्रसाद रिजाल, श्यामप्रसाद अधिकारी थिए। सबैको ध्यान भूपीमाथि थियो। किनकि उनी सो समूहमै सबैको आक्रर्षणको केन्द्र थिए। उनलाई विद्रोह र व्यङ्ग्यले जतासुकै चिनाएको थियो। जब भूपीले अङ्ग्रेजीमा बोले त्यसपछी ुविचारमा साम्यवाद, बोलाइमा अङ्ग्रेजवादु भनेर कुरा गर्न थाले। यी र यस्ता उनका रमाइला प्रसङ्गहरू धेरै रहेका छन् जो चर्चा हुन र खोज हुन बाँकी नै छ।
भूपीको अन्तिम धोकोः कवि भूपी शेरचनले २०४६ वैशाख १६ गते सुरेन्द्रबहादुर गौचनलाई अन्तर्वार्ता दिएपछि त्यही अन्तर्वार्ता नै उनको अन्तिम वार्ता हुन पुग्यो। यो हालसम्मको अनुसन्धानको परिणती हो। उनले वि.सं.२०४४ जेठ १ गते शुक्रबारका दिन आफू रहेको स्थान नारायणचौर, नक्साल काठमाडौँमा एक मन्तव्य लेखेका थिए। जुन वक्तव्य धेरै पाठकहरूले रूचिपूर्वक अध्ययन गरे। जसमा भनेका थिएः ‘मेरा प्रशंसक पाठकहरू तथा अन्य पाठकहरू र समीकक्षहरूमा एउटा भ्रम के परेको छ भने मेरो सिर्जनात्मक वृक्ष सुकिसकेको छ। यस्तो भ्रम पर्नु स्वभाविक पनि हो। घुम्ने मेचमाथि... को प्रकाशनपछि मेरा रचनाहरू प्रकाशित रूपमा देखा परेनन्। जसका कारण छन्ः प्रथम कारण म लेख्नका लागि लेख्नमा विश्वास राख्दिनँ। त्यसो गरेको भए अहिलेसम्म मेरा कम्तीमा तीनचारओटा कविता सङ्ग्रहहरू प्रकाशित भैसक्थे। तर घुम्ने मेचमाथि...बाट मैले जुन किसिमको प्रसिद्धी र लोकप्रियता प्राप्त गरेँ र उक्त कवितासङ्ग्रहका कविताहरूद्वारा मैले स्तरीयताको जुन शिखरलाई आरोहण गरेको थिएँ त्यसपछि सम्भव भएमा सोभन्दा अग्लो शिखरको आरोहण गर्न चाहन्थेँ। त्यसो गर्न नसके कम्तीमा पनि त्यही शिखरको हाराहारीमा कविताहरू सिर्जना गर्न चाहन्थेँ, जुन सम्भव भएन। त्यसैले म निकै लामो समयसम्म साहित्यमा असक्रीय हुन पुगेँ। मलाई लाग्दैछ म अब पुनः स्वस्थ हुँला र मेरो काव्य लेखन योजना सायद आमाको गर्भमा रहेको शिशुले आमा मर्दा ऊसँगै मरेजस्तो ती पनि ढिलो चाँडो ऊसँगै मर्नेछन्।’ अस्वस्थताका कारण तीव्र चाहना हुँदाहुँदै पनि साहित्यिक क्षेत्रमा थप कृति दिन नसकेको कुरालाई सङ्केत गरेर लेखिएको उनको यो मन्तव्य पछिल्लो समय जयदेव भट्टराइको सड्ढलन तथा सम्पादनमा प्रकाशित साहित्यकार परिचय र अभिव्यक्ति (२०५४) कृतिमा सङ्गृहीत रहेको छ।
यो मात्रै होइन, साझा प्रकाशनले उनको कृतिमा आफने नाम भूपी शेरचनको ‘पी’ ह्रस्व लेखेपछि उनले तत्कालिन सञ्चालक समितिलाई एउटा पत्र नै लेखे। जुन पत्रमा उनले भनेका थिए, मेरा लागि अरू केही गर्न पर्दैन। भूपीको पी दीर्घ लेखिदिनुहोला। सोही कारण साझाले उनको धोको पूरा गरेर छाड्यो। पछिल्ला संस्करणहरूमा उनको नाम दीर्घ नै भएर आयो। साझाले प्रकाशन गरेका पछिल्ला संस्करणमा दीर्घ लेखिए तापनि अझै उनले यो धोको पूरा गर्न सकिरहेका छैनन्। हालसम्म पढेका साहित्य साधकका कृतिमध्ये प्रकाश सायमीको काठमान्डू सेल्फी पुस्तकमा बाहेक कतिपय वरिष्ठ वाङ्मयिक साधकहरूले भूपीसँगका सन्दर्भ उल्लेख गरेर कृति प्रकाशन गरे तापनि उनीहरूले भूपीको पी ह्रस्व नै लेखेको पाइन्छ। गत वर्ष पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा आयोजित भूपी पुरस्कार वितरण समारोहमा लेखिएको व्यानरको भाषालाई लिएर मैले सुरूमै टिप्पणी गरेको थिए यो वर्षको व्यानरको भाषा हेर्न बाँकी नै भए पनि मेरो मन्तव्य सुनिरहेका पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटले टाउको हल्लाइरहेका थिए, त्यसैले पोयुसाँपले हालसालै सम्पन्न गरेको विशेष कवि गोष्ठीमा उनको धोको पूरा भएको देखिन्छ। विद्यालय र विश्वविद्यालयमा उनको धोको पूरा भएको पाइए तापनि नेपाली वाङ्मयप्रेमी धेरै साधकहरूले यस सन्दर्भलाई थाहा पाइराख्नु वर्तमान समयको आवश्यकता र भूपीप्रतिको सच्चा सम्मान र यसैमा हामी सबैको कल्याण हुने छ।
Post a Comment