0
गोल्डेन न्यूज संवाददाता
 एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारतले चाँडै नाकाबन्दी हटाउने बताएका छन्। स्थानीय विकास मन्त्रालयले सोमबार काठमाडौमा गरेको कार्यक्रममा एमाओवादी अध्यक्ष दाहालले भारतीय नेताहरुले कार्यक्रम चलिरहेका बखत आफूलाई फोन गरेर नाकाबन्दी छिटै हटाउन लागेको जानकारी दिएको बताए। उनले आफूलाई फोन गरेका भारतीय नेताहरुका बारेमा भने प्रष्ट पारेनन्।   एमाओवादी अध्यक्ष दाहालले प्रदेशको सीमांकन हेरफेरका नाममा मधेशवादी दलका केही नेता मुलुकलाई विखण्डन गराउने षड्यन्त्रमा लागेको आरोप लगाए। उनले मधेशी नेताको नाम नलिइ मुलुक विखण्डन गराउन खोज्ने योजना कुनै हालतमा पूरा हुन नदिने बताए। उनले मधेशवादी दलका जायज माग संविधान संशोधन गरेर पूरा गर्ने तर हिमाल, पहाड र तराइलाई अलग राख्ने गरी प्रदेशको सीमांकन हेरफेर नगर्ने बताए।  एमाओवादी अध्यक्ष दाहालले समानुपातिक र समावेशी प्रतिनिधित्वका हिसाबले नेपालको संविधान विश्वमा नै सबैभन्दा प्रगतिशील रहेको समेत बताए। मधेशवादी दलहरुले आन्दोलनका दौरान समानुपातिक÷समावेशी प्रतिनिधित्वको माग समेत अगाडि सारेकामा एमाओवादी अध्यक्ष दाहालले नीति निर्माण तह नेपालको जति समावेशी चरित्रको विश्वका कुनै पनि मुलुकमा नरहेको बताए।
 
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान गतिशिल दस्तावेज भएको भन्दै आफ्नो पार्टीले तानाशाहले जस्तो संविधान संशोधन गर्ने हुँदैन भनेर अडान नलिने बताए। उनले जनताका माग अनुसार संविधान संशोधनका लागि नेपाली काँग्रेस तयार रहेको बताए । कार्यक्रममा पूर्वसभामुख सुवास नेम्वाङले १ सय ३० जना मधेशी सभासद्मध्ये ९१ जनाले संविधानमा हस्ताक्षर गरेको भन्दै ३९ जना मधेशी सभासद्ले हस्ताक्षर नगरेका आधारमा सिंगो मधेशले संविधान अस्वीकार गरेको प्रचार गर्नु औचित्यहीन भएको बताए।


Post a Comment

 
Top