0
बागलुङको गलकोट क्षेत्र जिल्लाको पुरानो सदरमुकाम हो । जिल्ला सदरमुकाम बागलुङ सारिएको र निर्वाचन क्षेत्र निर्धारणमा समेत तिन भागमा विभाजन गरिएपछि गलकोटले अहिलेसम्म आफ्नै क्षेत्रबाट प्रतिनिधित्व गर्ने मन्त्री पाउन सकेको थिएन । नेपालमा संविधानसभाबाट संविधान निर्माणभएपछि बनेको सरकारमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपप्रधान, सहकारी तथा गरिवी निवारण मन्त्री बन्नुभएको छ । केसी आफ्नो राजनैतिक जीवनमै पहिलो पटक सत्तामा पुग्नुभएले पनि उहाँको सत्ताआरोहणलाई महत्वका साथ हेरिएको छ । उहाँ गलकोट मल्मका स्थानिय बासिन्दा हुनुहन्छ । ईतिहाँसमै पहिलो पटक आफ्नो क्षेत्रका नेतालाई सत्ताको उच्च पदमा पु¥याएका गलकोटेले उपप्रधानमन्त्री चित्रबहादुर केसीबाट धेरै कुराको आशा गर्नु स्वभाविकै हो । गलकोट उच्च माध्यमिक विद्यालय हटियाको पुर्वप्रधानाध्यपक समेत रहनुभएका उपप्रधानमन्त्री केसीबाट गलकोटेले के अपेक्षा गरेका होलान् भन्ने कुरा अहिले चासोको विषय बनेको छ ।
 
सँधै प्रतिपक्षमा रहेर सत्तापक्षको खरो आलोचकको छवि बनाउनुभएका केसी सरकारमा पुगेपछि पहिलो पटक शुक्रबार गलकोट आउनुभयो । शुक्रवार उहाँ मल्म–३ गल्याङ स्थित आफ्नै जन्मघरमा बस्नुभयो । त्यहाँ उहाँले आफन्तजन तथा स्थानियसँग भेटघाट र छलफल गर्नुभयो । शनिवार विहान उप्रधानमन्त्री केसी गलकोट सुचना तथा सञ्चार सहकारी, गलकोट एफएम, गलकोटपत्र साप्ताहिक, गलकोट पत्रकार समाज र गलकोटखवर डटकमको संयुक्त आयोजनामा पत्रकार भेटघाट कार्यक्रममा सहमागी बन्नुभयो । त्यसपछि विहान १० बजेपछि करिव २० मिनेट समय गलकोट एफएममा भएको विशेष कुराकानीको लागि खर्चनुभयो ।
 
दिउसो पूर्वप्रधानाध्यापक समेत रहनुभएका उहाँको सम्मानको लागि गलकोट उच्च माध्यमिक विद्यालय हटियाले अभिनन्दन ग¥यो । उपप्रधानमन्त्री केसीले गलकोट बहुमुखी क्याम्पासको स्मृति कक्षको उद्घाटन समेत गर्नुभयो । त्यसपछि सहकारी समन्वय समिति गलकोटले गरेको सहकारी अन्तरक्रिया कार्यक्रमा सहभागी बन्नुभयो । शनिवार वेलुका केसी हिलको घुस्मेलीमा हुने हरिवोधनी एकादशी मेलाको लागि हिल पुग्नुभयो । आईतवार मेलाको विशेष समारोहलाई सम्वोधन गरेर बागलुङ बजार फर्कनुभयो । यी सवै कार्यक्रममा उहाँले सत्तामा पुगेपछि अरु नेतामा हुनेजस्तो उत्साह र चुरिफुरी देखाउनुभएन । सरकारमा गएका वेलापनि नागरिकलाई धेरै आश्वाशन दिनुभएन । सत्तामा रहँदासम्म आफ्नो वुद्धिवर्कतले भ्याएसम्म जनताको काम गर्ने विश्वास दिलाउनुभयो । आफूले सत्ताको लागि कहिल्य राजनीति नगरेको र अव पनि सत्ताको दुरुपयोग गरेर आफ्नो व्यक्तिगत स्वार्थमा कहिल्यै नलाग्ने बताउनुभयो । त्यसो गर्न उमेरले पनि नदिने उहाँको भनाई छ । आफू पूर्वप्रधानाध्यपक रहेको गलकोट उच्च माविले गरेको अभिनन्दन कार्यक्रममापनि उहाँले विद्यालयलाई सार्वजनिक रुपमा कुनै आश्वसन दिनुभएन । केसीले गलकोट क्षेत्रको विकास निर्माणका काममा आफुले सकेजति काम गर्ने भन्दै गर्नुपर्ने काम भए लिएर आफूसँग आउन गलकोट वासीलाई आग्रह गर्नुभएको छ । उहाँले अमूर्त शव्दमा यहाँको विकास निर्माण, स्वास्थ्य, शिक्षा लगातको क्षेत्रमा सक्दो काम गर्ने प्रतिवद्धता जनाउनुभयो । मध्यपहाडी लोकमार्ग निर्माणमा तीव्रता दिन र रोकिएका काम अघि बढाउन भने आफूले पहल गर्ने ठोस प्रतिवद्धता केसीको छ ।
 
यत्तिमात्र भन्नु भयो–‘यो क्षेत्रका जनताको मायाँ र लगानीले नै आज म यो स्थानमा पुगेको छु, सकेजति तपाईकै काम गर्नेछु ।’ उहाँले थप्नुभयो–‘म गलकोट, बागलुङको मात्र नभएर समग्र नेपालकै उपप्रधानमन्त्री हो, सहकारी तथा गरिवी निवारण मन्त्री हो ।’ उहाँको भनाईमा यो पनि आभाष हुन्थ्यो– ‘म जीवनमै पहिलो पटक सरकारमा पुगेको छु, मेरो यो कदमलाई सवैतिरबाट महत्वका साथ हेरिएको छ, के गर्छ त चित्रबहादुर केसीले ? भन्ने कुरा सर्वत्र चासो छ ।’ उहाँको यो भनाईको तात्पर्य उहाँले आफ्नो जन्मथलो र गृहजिल्ला मात्र होईन, समग्र नेपालकै लागि केहि गर्नुपर्छ भन्ने नै हो । यो सँगसँगै उहाँले यो पनि भन्न छुटाउनुभएन– मैले सरकारमा रहेर जे गर्छु राम्रो गर्छु र राम्रो गर्ने प्रयास गर्छु । गर्न खोजेको काम गर्न सकिन भने जे समस्या छ, त्यो जस्ताको तस्तै जनताबीच राख्छु । म आफै खुल्ला किताव हुँ तपाईले अध्ययन गरेर निष्कर्ष निकाल्नुहोस् मलाई स्वीकार्य छ । यी आफ्नो राजनैतिक जीवनमै पहिलो पटक, त्यो पनि जीवनको उत्तरार्धमा सत्तामा पुग्नुभएका केसीको सरकारमा रहँदा गर्ने काम र त्यसको मूल्याङ्कन गर्ने दिन त बाँकी नै छ । उहाँ सरकारमा गएको चाहि यो समग्री तयार गर्दा १७ दिनमात्र पुरा भएको छ ।
 
केसीले आफ्नो राजनैतिक जीवनमा कमाएको छवि निष्कलङ्क, सत्तापक्षको खवरदार, सडकबाट जनताको सरोकार उठाउने नेता, राष्ट्रियता, स्वाधिनता र स्वाभिमानमो सँधै अडिग, आफ्नो कुनै स्वार्थ नभएको जस्ता कुरा सत्तामा रहँदा र बहिर्गमनसम्म जोगाउन सक्नुहोला ? भन्ने विषय अहिले जिज्ञाषा र अनुमान मात्र गर्नसकिने अवस्था हो । उहाँलाई अभिनन्दन गर्नका लागि आयोजना गरिएको कार्यक्रममा सहमागीलाई यो जिज्ञाषा राख्दा ¥यानडम्ली ७ जनालाई सोधिएकोमा ५ जनाले यो छवि बचाउन सक्नुहुन्छ भन्ने जवाफ दिए । १ जनाले गर्नसक्नुहुन्छ भन्ने लाग्छ तर चुनौतीपूर्ण समय भएकाले अहिल्यै भन्न चाहिँ नसकिने वताए । र अर्का १ जनाले हेर्न वाँकी नै छ भने । उनीहरुले केसीको अहिले सम्मको छविकै अधारमा त्यो अनुमान गरेको पनि बताए ।
जवाफकर्ताको भनाईले पनि केसीले अहिलेसम्म गलत नियत राखेर, स्वार्थ राखेर कुनै काम नगरेको र आफ्नो अडानमा सँधै स्थिर रहेको भन्ने पुष्टि गर्दछ । तर उहाँ सँधै प्रतिपक्षमै रहेर अहिलेसम्म आलोचक मात्र बनेकाले यो छवि बनेको पनि हुनसक्छ । यसपटक केसी संस्थापन बन्ने अवसर पाउनुभएको छ । उहाँ अव प्रश्न उठाउने ठाउँबाट अरुलाई जवाफ दिने ठाउँमा पुग्नुभएको छ । अव केसीलाई अरुले प्रश्न उठाउन थाल्छन । उहाँले जवाफ दिनुपर्ने छ । अहिलेसम्म सत्तामा रहेकाहरु लाई उहाँले गर्दै आएको आलोचना अव आफै माथि सोझिन्छ । त्यसैले उहाँको वास्तविक परीक्षाको घडी हो यो । यो परिक्षाको परिक्षार्थी केसी आफै हो । उहाँ सफल असफल हुने कुरा उहाँकै भूमिकामा भरपर्छ । अर्को कुरा उहाँले सर्वजनिक रुपमा बोल्दा अहिलेपनि सत्तापक्षलाई नै आलोचना गर्नुभएको छ । अव उहाँको यो भूमिका वदलिनुपर्छ भन्नेहरु पनि धेरै छन् । उहाँ आफैले पनि अव त बोली फेरिनुपर्ने हो तपाइँको भनेर भन्छन् । पछिल्लो मुलुकको समसामयिक कुरामा केसीले प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादी मिलेका कारण मात्र नयाँ संविधान सम्भव भएको उहाँको निष्कर्ष छ । अवको समय भनेको संविधान कार्यान्वयनको हो र कार्यान्वयनको लागि पनि यि तिन दल एकै ठाउँमा आउनैपर्ने उहाँको तर्क छ । संविधान निर्माण भएपछि देखिएको मुख्य दलवीचको दुरीलाई कम गर्न समन्वयकारी भुमिका निर्वाह गरि परिणाम निकाल्न सक्नुभयो भने त्यसमा पनि उहाँको सफलता हुनेछ । अर्कोतर्फ कुरा मधेश आन्दोलनको विषयमा उहाँले आफ्नो पुरानै धारणा राख्नुभएको छ । केसीले तराई मधेशका जिल्लालाई पहाडबाट छुट्याउने षड्यन्त्र भएको भन्दै मधेशीले भने जसरी सीमाङ्कन गर्न नसकिने तर्क गर्नुभएको छ । दोधारा चाँदनीलाई पर्सा विरगञ्जबाट शासन गर्ने कुरामा धेरै रहस्य भएको अडान राख्नुभएको छ । सीमाङ्कनमा मधेशीले सम्झौता नै नगर्ने पक्षमा छन त्यसो भए सरकारको धारणा पेलेरै समस्या समाधान हुन्छ भन्ने हो त ? भन्ने प्रश्नमा भने सहमतिमा लेनदेन हुने तर जस्ले भन्छ त्यो मान्न नसकिने बताउनुभएको छ । मधेशको समस्या समाधानमा पनि उहाँको समन्वयकारी भूमिका नै वाञ्छित हुनसक्ला । अहिलेको मुलुकको नाकावन्दी र संकट मुख्य त मधेश आन्दोलन कै उपज हो ।
 
केसीले नेपालको राष्ट्रियता, अखण्डता र स्वाभिमानको विरुद्धमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । नाकावन्दीको विषयमा उहाँले सार्वभौम मुलुक नेपालले आफ्नो संविाधान कस्तो बनाउने भन्ने कुरा आफैले निर्णय गर्न सक्ने भन्दै त्यसप्रति छिमेकी मुलुक भारतले टाउको दुखाउनुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । उहाँले नेपालीले आफ्नो घरभित्रको समस्या समाधान गर्न आफै सक्ने भएकाले छिमेकीले संविधान निर्माणमा असहमति राखेर नाकावन्दी गर्नु हेपाहा प्रवृत्ति र अपरिपक्व कुटनीतिको परिणाम भएको दावी गर्नुभयो । केसीले तराई मधेशका जिल्लालाई पहाडबाट छुट्याउने षड्यन्त्र भएको भन्दै मधेशीले भने जसरी सिमाङ्कन गर्न नसकिने तर्क गरे । भारतले भुपरिवेष्ठित मुलुक नेपाललाई पारवहन अधिकारबाट बञ्चित गर्नु अन्तराष्ट्रिय सन्धि विपरित भएकाले त्यसको समाधानका लागि सरकारले कुटनैतिक रुपमा पहल गरिरहेको बताउनुभयो ।
 
उहाँले लिएको मन्त्रालयको जिम्मेवारीको विषयमा सहकारी मार्फत गरिवी निवारण गर्नुपर्ने भन्दै मन्त्रालयबाट सहकारी एैन संशोधन प्रक्रिया अघि बढार्ईएको र वास्तविक गरिव पहिचानको लागि पहिलो चरणमा २५ ओटा जिल्लामा काम सुरु गरिने जानकारी दिनुभयो । पहिलो चारणमा काम हुने २५ जिल्लामा बागलुङ पनि परेको केसीको भनाई छ । यी सवै परिस्थितिले उहाँको सत्तायात्रालाई गलकोट बागलुङमा मात्र नभएर सिङ्गो मुलुक र अन्तर्राष्ट्रिय रुपमा पनि निकै महत्वका साथ हेरिनु स्वभाविक हो । र विभिन्न टिप्पणी, अड्कलवाजी, भरोसा तथा आसङ्कापुर्ण तरिकाले हेरिनुलाई अन्यथा मन्ने अवस्था छैन । सरकारमा रहेर केसीले गर्ने कामको महत्व, आशा भरोसा गलकोट बागलुङवासीका लागि जति छ, समग्र नेपालकै लागि पनि कुनै दृष्टिबाट कम छैन । त्यसैले उहाँ आशा, भरोसा र चिन्ताका विच आसंकाको डोरीबाट पनि वाँधिनुभएको छ । यो केसीका लागि संगिननको धारमा हिड्ने चुनौतीसँगै दुवै हातमा लड्डु पार्ने सुनौलो अवसर पनि हो । राजनैतिक जीवनको अन्तिम र कतै पहिलो परिक्षापनि हो । हुनत उहाँकै भनाई अनुसारपनि अव फेरीफेरी सत्तामा जान नचाहेको र आफ्नो उमेरलेपनि त्यो नदिने बताएकाले फेरीफेरी प्रश्न उठाउने ठाउँ चाहि नरहन सक्छ । तर पहिलो र अन्तिम हुनसक्ने सत्तावसाईको मुल्याङ्कन भने समय वेगसँगै पक्कै हुनेछ ।
साभार ः जनमञ्च


Post a Comment

 
Top