0
गोल्डेन न्यूज संवाददाता
इन्धनको चर्को कालोबजारीले आम नेपाली नागरिक आजित भइरहेको समयमा वनमा रहेका काठ दाउरामा समेत कालोबजारी भएको उपभोक्ताहरुले गुनासो गर्न थालेका छन् । चिसाखोला सामुदायिक वन उपभोक्ता समिति पोखरा–२६, कास्कीमा निहीत वनमा रहेका काठ दाउरामा कालोबजारी भएको गुनासो स्थानीय उपभोक्ताले गरेकाहुन् । वर्षौदेखि वनमा थन्किरहेको लाखौँ पर्ने काठ दाउरा सस्तोमा रातारात बेचिएपछि आम वनका उपभोक्ताहरु आक्रोशित भएका छन् । जिल्ला वन कार्यालय कास्कीको स्वीकृतिविना करिब एक लाखभन्दा बढि मूल्य पर्ने काठ दाउरा २१ हजार रुपैयाँमा रातारात बिक्री भएपछि समस्या बढेको हो । १२५ जना सदस्य रहेको वन उपभोक्ता समितिले यहिमंसिर ५ गतेको बैठकले काठ दाउरा बेच्ने निर्णय गराएको, ६ गते सूचना टाँस गरेको २४ घण्टामा नै उक्त काठ दाउरा बिक्री गरिएपछि काठ दाउरामा कालोबजारी भएको भन्दै उपभोक्ताले गुनासो गरेका हुन् । जिल्ला वन कार्यालयमा पहिलेदेखि नै विवादमा रहेको उक्त काठ दाउरा वन कार्यालयमा जानकारी नै नगराइ इलाका वन कार्यालयका केहि कर्मचारीलाई जानकारी गराएको भन्दै दाउरा बिक्री गर्नु कतिसम्मको लापर्वाही हो । व्यक्तिको कित्तामा रहेको दाउरा काट्न नदिने वन कार्यालय तथा इलाका वन कार्यालयले सामुदायिक वनका दाउरा सहजै र सरल रुपमा बिक्री गर्ने अनुमतिदिनु आश्चर्यजनक निर्णय भएको देखिन्छ ।
 
चिसाखोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेमराज अधिकारीले इन्धनको अभावले बाहिरी समूहले वनमा रहेको दाउरा चोरी निकासी गर्न थालेपछि अचानक काठ दाउरा बेच्नुपरेको बताए । उनले रातका समयमा वन हेर्ने हेरालोले वनको सुरक्षा गर्न नसक्ने जानकारी गराएपछि उक्त निर्णय गरेको अधिकारीको दाबी छ । आफूहरुले इलाका वन कार्यालयका कर्मचारीहरुलाई जानकारी गराएको बताएका अधिकारीले भने लाखौँ पर्ने काठ दाउरा २१ हजार रुपैयाँमा बिक्री गरेपछि उपभोक्ता आक्रोशित बनेका हुन् । तर जिल्ला वन कार्यालय कास्कीका प्रमुख प्रभात सापकोटाले भने चिसाखोलावन सामुदायिक वन उपभोक्ता समितिमा निहीत रहेका काठ दाउराको समस्या रहेपनि आफूहरुलाई जानकारी नै नगराइ काठ दाउरा बिक्री गरेकोमा भने आपत्ति प्रकट गरेका छन् । सापकोटाले उपभोक्ता भित्रकै व्यक्तिलाई केही सस्तोमा काठ दाउरा बेचेपनि लापर्वाही ढंगले र मूल्य विनाको दाउरा बेच्न नपाइने बताउँछन् । समितिले दाउरा बेचेकोमा आफूहरुले पनि जानकारी लिने बताए ।
 
कम्तिमा पनि ७ दिनको समय राखेर उपभोक्ताको बैठक डाक्नुपर्ने र जिल्ला वन कार्यालय वा इलाका वन कार्यालयका प्रतिनिधिको रोहवरमा गरिने कार्य चिसाखोला सामुदायिक वन उपभोक्त समिति आफैँले एकलौटी ढंगले उपभोक्ता कार्यसमितिकै जगत बहादुर परियार लगायतको ३ सदस्यलाई अति नै सस्तो मूल्यमा काठ दाउरा बेच्ने निर्णय गर्नु हास्यास्पद तथा लापर्वाही हो । वर्षौदेखि बेवास्ता गरेर अचानक वनमा रहेका काठ दाउरा २४ घण्टामा नै बेच्दा कालोबजारि तथा भ्रष्टाचार रहेको हो कि भनेर भन्न समेत सकिने हुँदा के भएको हो त्यसको सार्वजनिक रुपमा छिटो भन्दा छिटो सम्बन्धित निकायले छानविन गर्नुपर्ने स्थानीयको माग छ ।


Post a Comment

 
Top