0
विख्यात बेलायती नाटककार ह्यारोल्ड पिन्टर भन्छनः वास्तविक र अवास्तविकबीच कुनै ठोस भिन्नता छैन, सत्य र असत्यबीच पनि त्यस्तो भिन्नता छैन । कुनै पनि चीज सही वा गलत नै हुनुपर्छ भन्ने छैन र त्यो एकसाथ सही र गलत हुनसक्छ ।
दुई परस्पर विरोधी ‘न्यारेटिभ’ को बीचमा नेपालीहरु
पिन्टरको भनाइसित सहमत नेपालीहरुको संख्या अति न्यून होला । जसले यसको उग्र खण्डन गर्दैनन, उनीहरुको पनि यसमा सामान्यतया विमति हुन्छः रात र दिन एकैचोटि अस्तित्वमा रहन सक्दैनन् भने सत्य र असत्य कसरी एकैचोटि अस्तित्वमा हुन सक्छन् ? यथार्थलाई सत्य–झुटको द्वैत विभाजनमा हेर्ने गरेका नेपाली नागरिकहरु अहिले एउटा बौद्धिक संकटसित जुधिरहेका छन् । देश अपूर्व संकटमा छ । संकटको निकास निस्कनेभन्दा अझ गहिरिएर जाने लक्षणहरु देखा परेका छन् । संकट कसरी शुरु भयो भन्नेमा जति विमति छ यसको निकास के त भन्नेमा उति नै विमति छ । संकटका कारण र तिनको समाधानबारे निम्न दुई ‘न्यारेटिभ’मध्ये कुनचाहिं सत्य र कुनचाहिं मिथ्या भनेर अहिले बहस घनीभुत भइरहेको छ ।
न्यारेटिभ एकः मधेशमा आन्दोलन छैन । त्यहाँ भारतले सुनियोजित रुपमा अशान्ति र आतंक मच्चाइरहेको छ किन भने उसले तराईलाई आफूमा गाभ्न वा कम्तीमा आफ्नो नियन्त्रणमा राख्न चाहन्छ । अहिले मधेश आन्दोलनमा आएका मानिसहरु भारतीय हुन् । काँग्रेस–एमालेका नेताहरु मधेश झर्यो भने तिनलाई घुसपैठियाहरुले मार्ने धम्की दिएका हुनाले मात्र उनीहरु त्यहाँ नगएका हुन्, नत्र अहिले पनि मधेशको जनमत पछिल्लो चुनावमा जस्तै छ। मधेश आन्दोलनको अन्तिम उद्देश्य नै भारतीयहरुलाई ठूलो संख्यामा नागरिकता दिलाएर नेपालीहरुलाई नेपालमै अल्पमतमा पार्ने अनि यहाँका प्राकृतिक स्रोत साधन भारतलाई बुझाउने हो । तराईको सुरक्षा समस्यालाई राजनीतिक रङ दिएर त्यसको औचित्य पुष्टि गर्ने पहाडकै पनि बुद्धिजीविहरु या त लैनचौरबाट किनिएका छन्, या अर्कै ग्रहमा बाँच्छन् । यस्तो विषम परिस्थितिमा इतिहासमै पहिलोपल्ट राष्ट्रवादमा खरो उत्रेको केपी ओली सरकारको आलोचना गर्नु भनेकै देशद्रोहीहरुको कित्तालाई सघाउनु हो । अहिलेको समस्याको एउटै निकास भनेको सेना लगाएर भए पनि राजमार्ग खुलाउने, भारतसित नझुकी इन्धनलगायतका वस्तु आयातको वैकल्पिक व्यवस्था गर्ने अनि दीर्घकालमा आत्मनिर्भर बन्ने हो, न कि सहमति वा सम्झौता मार्फत् आन्दोलनकारीहरुको माग पूरा गर्नु ।
न्यारेटिभ दुईः शताब्दीयौंदेखि दबाइएका मधेशी नागरिकहरु नयाँ संविधान बन्दासमेत पहिले व्यवस्था गरिएका अवसर र सुविधाबाट वञ्चित हुने र विगतमा उनीहरु सित गरिएका सम्झौता भंग हुने अवस्था आएपछि बाध्य भएर सडकमा आएका हुन् । सडकमा आउँदा राज्यले निर्मम दमन गरेर आन्दोलनकारीहरुको हत्या गर्न उद्यत् भएपछि सीमानामा धर्ना दिएर नाकाबन्दी गर्नुपर्ने अवस्था सिर्जना भएको हो । मधेशमा आतंक देखिएको त छ तर त्यो आन्दोलनकारीको तर्फबाट नभएर राज्यको तर्फबाट छ । पछिल्लो चुनावको नतिजा जे भएर व्यक्तिगत रुपमा मधेशी नेताहरूको छवि जस्तो भए पनि  अहिले मधेशको सिंगो  जनमत (त्यहाँ बस्ने पहाड़ी समुदायका मानिस समेत) आन्दोलनकारीको  पक्षमा छ।  यत्रो राजनीतिक आन्दोलनलाई सुरक्षाको समस्याका रुपमा चित्रित गरेर सरकारले यसलाई बल प्रयोगबाट नियन्त्रण गर्न खोज्दैछ, जुन प्रवृत्तिले समस्यालाई अझ गहिरो बनाउँदै लगेको छ । यो आन्दोलनलाई जबर्जस्ती विखण्डनकारी पुष्टि गर्न खोजिएको छ जब कि यो समानता र न्यायका आधारमा नेपालको अखण्डतालाई अझ मजबुत पार्ने लडाइँ हो । भारतले अहिले आन्दोलनकारीप्रति सहानुभूति र सामान्य समर्थन पक्कै दिएको छ तर यसमा उसको निर्णायक भुमिका भएको भन्ने बेतुकको कुरा हो । यो समस्याको एउटै समाधान भनेको आन्दोलनकारीका माग पूरा हुने गरी संविधान संशोधन गर्नु हो, बल प्रयोग गर्नु हैन ।
गलत ‘इगो डिफेन्स मेकानिजम’ को प्रयोग
आन्दोलन, नाकाबन्दी र यसबाट सिर्जित समस्या जति लम्बिंदो छ, ध्रुवीकरणको दुवै किनाराका मानिसहरु आफूले मानेको सत्यलाई अझ जोडले पक्डेर बसिरहेका छन् । ध्रुवीकरण र मतभेद यति गहिरिंदो छ कि विभाजनको दुई किनारामा उभिएका नजिकका साथीहरुले समेत खुलेर यी विषयमा बहस गरिरहेका छैनन् । जब–जब आफूले ध्रुवसत्य मानेको कुराको खण्डन हुने गरी कुनै घटनाक्रम सार्वजनिक हुन्छ (जस्तो कि प्रहरी वा प्रदर्शनकारीको बर्बरतापूर्ण क्रियाकलाप), व्यक्ति विचलित हुन पुग्छः कतै आफूले मानिआएको कुरा गलत त हैन?
त्यो अवस्थामा हुनुपर्ने चाहिं के हो भने, व्यक्तिले कतै आफूले बोकेर हिंडेको अवस्थाको श्यामश्वेत चित्रण गलत त छैन भनेर मनन गर्नुपर्ने हो । आफूले मानिआएको कुरा पूरै गलत नभए पनि त्यसमा गलत वा भ्रामक अंश मिसिएको हुन सक्छ र विभाजनको अर्को किनारामा भएका मानिसले बोलेको वा पत्याएको कुरामा पनि सत्य वा यथार्थको अंश मिसिएको हुन सक्छ भन्ने नबुझेसम्म नेपाली समाजमा अहिले देखिएको विग्रह कम हुने देखिंदैन । त्यति मात्र हुन सक्ने हो भने चाहिं ध्रुवीकरणको दुवै कित्ताका मानिसहरुको अडान केही नरम हुने र त्यसले कालान्तरमा अहिले सिर्जित अविश्वासको खाडल पुर्न सहयोग पु¥याउने थियो ।
जसरी व्यक्तिगत मनोविज्ञानमा मानिसले प्रतिकुलतासित जुध्न सकारात्मक र नकारात्मक ‘इगो डिफेन्स मेकानिजम’ प्रयोग गर्छ, उसरी नै समूह वा समाजले प्रतिकुलतासित जुध्न प्रयोग गर्ने त्यस्ता माध्यमहरु सकारात्मक र नकारात्मक हुन्छन् । विख्यात मनोवैज्ञानिक फ्रायडले शुरुमा व्याख्या गरेका ती माध्यमहरुलाई जी इ भाइल्यान्ट नामक मनोवैज्ञानिकले ‘प्याथोलोजिकल’ (रोगी), ‘इम्याचुअर’ (अपरिपक्व), ‘न्यूरोटिक’ र ‘म्याचुअर’ (परिपक्व) गरी चार तहमा विभाजन गरेका छन् । धैर्यता, पूर्व–तयारी, साहस, सहनशीलता, विनम्रता, सम्मानभाव, स्वीकृति, भावना–नियन्त्रण र हास्यरसको प्रयोगजस्ता परिपक्व माध्यमहरुले मानिसलाई संकटसित राम्रोसँग जुध्न सघाउँछन् भने कन्भर्सन (जेलाई सामान्यतः हिस्टेरिया भनिन्छ, जस्तै अचानक अन्धोपन, बहिरोपनजस्ता शारीरिक लक्षण देखिनु), डिनायल (मन नपरेको यथार्थलाई नस्वीकार्नु) र डिस्टोर्सन (अप्रीतिकर कुरालाई तोडमरोड गरेर बुझ्नु, बुझाउनु) जस्ता ‘प्याथोलोजिकल’ माध्यमहरुको प्रयोगले समस्या अझ गहिरिएर जाने सम्भावना बढ्छ ।
अहिलेको बहसमा चाहिं धेरै जना दोस्रो तहका अपरिपक्व माध्यमहरु प्रयोग गरेको देखिन्छ । जस्तो कि, फ्यान्टासी (समस्याबाट भागेर कल्पनामा रमाउनुस् नेपाल रातारात आत्म–निर्भर भएको कल्पना गर्नु, एक वर्षमा नेपाल लोडशेडिङ मुक्त भएको देख्नु), आइडियलाइजेशन (मन परेको व्यक्तिको देवत्वकरण गरेर उसका सारा अवगुण अस्वीकार गर्नु), इन्ट्रोजेक्शन (कुनै वस्तु वा विचारसित यति एकाकार हुनु कि आफू र त्यसबीच भेद पाउनै कठिन होस्), प्रोजेक्सन (आफ्नो विकृत मानसिकता देखाउनु वा त्यो अर्कैको कारण भएको मान्नु, अति पूर्वाग्रह र इष्र्या गर्नु, बाह्य खतरालाई अतिरन्जित रुपमा लिनु, अन्यायलाई सुचीकृत गर्दै जानु, आदि), विशफूल थिंकिङ (आफ्नो कल्पनाअनुसार यथार्थ हुन्छ वा बदलिन्छ भनेर विश्वास गर्नु) आदि । नेतृत्वदेखि सडकसम्म कसकसले यीमध्ये कुन माध्यमबाट अहिलेको जटिल समयको सामना गरिरहेका छन् भन्नेतिर लाग्नचाहिं यो टिप्पणीमा सम्भव छैन । तर यी पंक्ति पढ्दै गर्दा पाठकहरुलाई प्रस्ट  हुनेछ कि कुन हदसम्म यी माध्यमहरुको उपयोग भैरहेको छ। दुःखको कुराचाहिँ के भने, समस्या जति जटिल र पेचिलो बन्दैछ एवं विभाजन र ध्रुवीकरण गहिरिंदो छ, मानिसहरु झन्झन् अपरिपक्व वा नकारात्मक ‘डिफेन्स मेकानिजम्’को शरण लिंदै छन् । केही  महीना अघि उस्तै संकटमा सहनशीलता, विनम्रता, सम्मानभाव र स्वीकृति जस्ता परिपक्व माध्यमहरुको प्रयोग गर्ने नेपालीहरु अब अस्वीकृति (डिनायल), फ्यांटासी र इंट्रोजेक्शन जस्ता घातक माध्यमहरुको शरणमा पुगिसकेका छन्।
आम मानिसमा त त्यो समस्या भयो नै, त्यो दौडमा नेपालको राजनीतिक नेतृत्व तह अझ अगाडि छ।  समग्र राष्ट्र नै असफलतातिर लम्किरहँदा उनीहरु अझ जोडतोडले समस्याको अस्तित्व अस्वीकार गर्न उद्यत छन् किनकी त्यसो गर्दा आफूले समस्या समाधान गर्न नसकेको ग्लानिबोध कम  हुन्छ।  र जब समस्या समाधानका उपायको  कुरा आउँछ, विशफुल थिंकिंग अर्थात आफुले चाहे जसरी संसार चल्छ भन्ने भ्रम उनीहरुको  निर्देशक सिद्दान्त बन्न पुगेको छ।
उत्तर आधुनिक बुझाइको उपादेयता
शुरुमा उद्धृत पिन्टरको भनाइले सिंगो उत्तर–आधुनिक दर्शनलाई किफायतीपूर्वक दुई वाक्यमा व्याख्या गर्छ । सत्य निरपेक्ष, शाश्वत र अन्तिम हुन्छ भन्ने परम्परागत (र खास अर्थमा आधुनिकतावादले अँगालेको) अवधारणालाई चुनौती दिने यो दर्शनका आलोचकहरु भन्छन्ः यो यसै अन्योलग्रस्त मानिसहरुलाई झनै दिग्भ्रमित बनाएर यथास्थितिको पृष्ठपोषण गर्ने दर्शन हो, त्यसैले यसको कुनै औचित्य छैन । तर सत्य निरपेक्ष र शाश्वत हुन्छ भन्नेहरु आफ्नै वैचारिक–बौद्धिक हालत हेर्यो भने तिनले उत्तर आधुनिकताको आलोचना गर्ने आधार कमजोर देखिन्छ । जस्तो कि, साम्यवादीहरुले अघिल्लो शताब्दीको दोस्रो दशकमा बोल्शेभिक क्रान्तिबाट स्थापित सोभियत शासन नवौं दशकमा आएर भित्रबाट पूरै खोक्रो भइसक्दा समेत (त्यसको केही वर्षमा त्यो व्यवस्था गल्र्यामगुर्लुम भयो पनि) साम्यवादको अजेयता र पुँजीवादको क्षणभंगुरताबारे पुस्तकका ठेलीहरु निकाल्थे । त्यो समयमा सोभियत साम्यवादचाहिं खोटसहितको क्षणभंगुर व्यवस्था हो भन्ने मान्छे इश्वर–निन्दकजस्तै मानिन्थ्यो किनकि सत्य–असत्य, अजेय–क्षणभंगुर विभाजन नदीका दुई किनाराजस्तै प्रष्ट र निर्विवाद मानिन्थे र त्यस्तो धारणा गलत वा गद्दार मानिने गरेको पल्लो किनारामा पथ्र्यो । कथित साम्यवादीहरुको त्यस्तै चट्टानी अडान अनि उनीहरुले लिन बाध्य भएको यू–टर्न नेपालमा पनि विगतका दुई दशकमा देख्न पाइयो । कुनै बेला थियो नेपालमा साम्यवाद स्थापना गरेर त्यसलाई विश्वभर निर्यात गर्नु ‘क्रान्तिकारी’हरुको अकाट्य कार्यभार मानिन्थ्यो (त्यसका विरोधी मात्र नभएर समर्थन गर्न अस्वीकार गर्ने मुक्तिनाथ अधिकारीजस्ता ‘गलत’ विश्वास राख्ने मानिसहरु कसरी गोली दागेर मारिए, त्यो अब मानिसको विस्मृतिमा जाँदैछ तर त्यो यथार्थ थियो) । २०५२ पछिको जुन भद्रगोल गठबन्धन सत्ताबाट आजित भएका मानिसको सहानुभुतिबाट त्यो आन्दोलन देशभर झाँगिएको थियो, त्योभन्दा अझ लाजमर्दो भद्रगोल कायम राख्नु अब सोही पार्टीको व्यवहारिक कार्यभार भएको छ ।
अर्को्तिर, उदार पुँजीवादी लोकतन्त्र संसारकै उत्कृष्ट व्यवस्था भनिए पनि गृहभूमिमा उक्त व्यवस्था हुने तत्कालीन युरोपेली देशहरुले विश्वभरका उपनिवेश मुलूकमा गर्ने चर्को शोषण र त्यहाँ प्रश्रय दिने गरिएको दासता अनि दोस्रो विश्वयुद्धपछि अमेरिकाले आफू मैत्री तानाशाहहरुलाई टिकाउन धेरै देशमा लोकतन्त्रको तेजोबध गरेकोजस्ता दृष्टान्तहरुले देखाउँछन् कि यो व्यवस्थाले वाचा गरेको प्रगति र समृद्धिसम्बन्धी रोडम्याप पनि निरपेक्ष वा शाश्वत छैनन् । उही पात्रले फरक समय वा फरक भूगोलमा त सत्यको परिभाषा फरक फरक देख्छ भने, त्यस्तो सत्यलाई शाश्वत मान्नुले कुनै अर्थ रहँदैन ।
चर्को ध्रुवीकरणको समयका कुरा गर्दा त, जर्मनी र इटलीमा हिटलर र मुसोलिनीको उदय हुने बेला उनीहरुको भीमकाय प्रोपागाण्डा मेशिनको पूर्जा बनेर ती तानाशाहको हिंस्रक एजेण्डालाई साथ दिनु नै मानव जातिको सेवा गर्नु हो भन्ने भ्रममा पर्ने नागरिकहरु धेरै थिए । नागरिकहरुको त्यस्तो दिग्भ्रम र त्यसमा टिकेको समर्थनविना ती तानाशाहहरुको उदय सम्भव पनि थिएन ।
व्यक्तिगत रुपमा दर्शनका रुपमा उत्तर आधुनिकतासित आंशिक वा पूर्ण विमति राख्नु अलग्गै कुरा हो तर नेपालका पछिल्ला घटनाक्रम हेरेपछि एउटा कुरा अस्वीकार गर्न गाह्रो हुँदै गएको छः हाम्रो समाज अहिले गुज्रिरहेको समयलाई व्याख्या गर्ने सबैभन्दा उपयोगी बौद्धिक हतियार उत्तर–आधुनिकतावादी दर्शन हुन सक्छ ।
झण्डै अढाइ दशक लामो बामपन्थी झुकाव र आधुनिकतावादको गहिरो प्रभावका कारण म आफैंलाई यो कुरा स्वीकार गर्न प्रीतिकर लाग्दैन, र अहिलेको यथार्थलाई व्याख्या गर्ने एक मात्र बौद्धिक यो हतियार नहुन पनि सक्छ। तर अप्रीतिकर नै भए पनि र आंशिक रूपमै  भए पनि अहिले देखिएको जटिलताका गाँठाहरु फुकाएर त्यसलाई यथार्थपरक रुपमा प्रस्तुत गर्न यदि यो दर्शनले सघाउँछ भने त्यसबाट तर्सिनुपर्छ जस्तो चाहिँ मलाई लाग्दैन। त्यस्तो सहयोगचाहिं कसरी हुनसक्छ भने उत्तर आधुनिक बुझाइ भएको नागरिकले पहिलो अविश्वास आफैंले निरपेक्ष र शाश्वत मानेका कुराहरुमा गर्छ । आफ्नो बुझाइ शतप्रतिशत सही नहुन सक्छ, उही कुरा फरक कोणबाट हेर्दा फरक देखिन  सक्छ  र विचार निर्माणको प्रक्रिया समय र समाज–सापेक्ष हुन्छ भनेर स्वीकार्नासाथै फरक मत राख्ने मानिसलाई वैरीको कोटीमा राख्न असम्भव हुन्छ । खास गरी जनस्तरमा अहिले बढ्दै गएको कटुता (फरक समुदायबीच मात्र नभएर एकै समुदायका फरक मत राख्ने मानिसहरुबीच समेत) को जड भनेकै आफू पूर्ण रुपमा सही र विरोधी पक्ष सपाट रुपमा गलत भन्ने बुझाइ हो । त्यो बुझाइमा प्रश्न उठ्नासाथै व्यक्तिलाई कुनै पनि  अतिवादी अडान लिन असंभव हुन्छ र त्यसले ध्रुवीकरणलाई कम गर्न सहयोग गर्छ।
जस्तो कि, मधेश आन्दोलनको समर्थन गरेर नाकाबन्दी गर्नुमा भारतको स्वार्थ पक्कै छ, कुनै बेला इन्दिरा गान्धीले तराइलाई भारतमा विलय गराउने ठोस योजनासहित काम शुरु गरेकी थिइन् भन्ने कुरा पनि एक भारतीय पूर्व–गुप्तचर अधिकारीको आत्मकथामा प्रष्टै लेखिएको छ । भारतको त्यो स्वार्थ अद्यापि कायम होला तर उसको अहिलेको प्राथमिकता र १९७५ को प्राथमिकतामा के कुनै भिन्नता छैन? यी चार दशकमा आएको भूराजनीतिक परिवर्तन (शीतयुद्धको अन्तमार्फत् भारत–सोभियत संघ सहयात्राको अन्त, चीन–भारत सम्बन्धमा आएको न्यानोपन र व्यापारमा भएको बढोत्तरी, आदि) र विश्व–अर्थतन्त्रमा आएको परिवर्तन (भूमण्डलीकरण र उदारीकरणका कारण खास भुभाग ओगट्नुभन्दा त्यहाँको बजार कब्जामार्फत् आर्थिक लाभ मात्र लिनुको आकर्षण बढ्दै जानु)जस्ता तथ्यहरुले के भारतको प्राथमिकता निर्माणमा कुनै भुमिका खेल्दैनन्? खेल्छन् भने कुन हदसम्म? नेपालको दीर्घकालीन हित सापेक्षिक नाफा–घाटाको सन्तुलन हेरेर गर्नुमा छ कि श्यामश्वेत राष्ट्रवादको पक्षपोषण गर्नमा? अहिलेको संकट बुझ्न भारतको चिसो व्यवहार मात्र हेरे पुग्छ कि ब्रिटेनलगायतका नेपालसित गहिरो परम्परागत मित्रता भएका भनिएका देशहरुले देखाएको उस्तै व्यवहार अनि अमेरिकाजस्तो विश्वशक्तिले देखाएको बेवास्ताजस्ता तथ्यहरु पनि हेर्नुपर्छ? चीनले नै व्यापारको मुख्य लक्ष्यका रुपमा भारतलाई विस्थापित गर्न नचाहेको वा नसकेको अवस्थामा हामी अर्थतन्त्रलाई अझ कति तलसम्म गिरेको हेर्न तयार छौं?
यी प्रश्नमध्ये धेरैका उत्तर प्रीतिकर छैनन् भन्ने हाम्रो नेतृत्वलाई महसुस भइरहेको छ । त्यसैले यिनका अलोकप्रिय उत्तर खोजेर समस्याका कम अलोकप्रिय तथा व्यवहारिक निकास खोज्नुभन्दा अतिवादी र लोकरिझ्याइँवाला नारा चर्काउनु उनीहरुलाई सहज लागिराखेको छ । राज्यले अनादेखी गरेका विकट भुगोलका विपन्न मान्छे मात्र चर्को मारमा परुन्जेल यो अवस्था रहला तर अहिले चर्को नाराबाजीमा रमाइरहेको उच्च र उच्च–मध्यम वर्गको दैनिकी अस्तव्यस्त हुने हदसम्म समस्या बढ्यो भने नेतृत्वका लागि त्यो अवस्था प्रत्युत्पादक हुनेछ, अनि देशलाई प्रलयकारी ।
निश्कर्षः अहिले नेपालको संकटबारे जति बहश र विमर्श भइरहेका छन्, ती सबै अतिरंजना, दिग्भ्रम र झुटका भण्डार मात्र हुन् भन्ने हैन तर तिनमा यी तिनै चीजको उल्लेख्य अंशले प्रवेश पाएको छ । एउटा भ्रम वा गलत प्रचारको प्रतिकार त्यसको खण्डन गरेर गर्नुभन्दा त्यसको बदलामा आफ्नो बुझाइ वा स्वार्थ अनुकुल हुने गरी अर्को भ्रम वा दुश्प्रचार गर्ने होड नै चलेको छ । एजेण्डाकै पछि लागेका खास मानिसहरुबाहेक संकट र अस्थिरताबीच मानिसको चासोलाई व्यवसायका रुपमा प्रयोग गर्नेहरु (सयौं अनलाइन साइटहरु जसले भ्रामक र उत्तेजक समाचार राखेर मानिस तान्छन् अनि क्लिक गणना गरेर पाइने विज्ञापनमा लाखौं डलर कमाउँछन्)को संख्या तीव्र रुपले बढ्दो छ । त्यसले मानिसहरुलाई झनै अन्योलग्रस्त र मानसिक रुपमा असुरक्षित बनाइदिएको छ । त्यो कठिनाइसित जुध्न मानिसहरुले आफैंलाई अझ चर्को ध्रुवीकरणको शिकार बनाइरहेका छन् । अनि रोगी र अपरिपक्व ’इगो डिफेंस मेकानिज्म’ को अझ घनीभूत प्रयोग भैरहेको छ। 
ह्यारोल्ड पिन्टरले झैं उही कुरा एकैचोटि सही र गलत हुन्छ भनेर हामीले स्वीकार्नु जरुरी छैन तर यथार्थलाई चाहिं धेरै वटा फरक फरक सत्यहरु मिलेर बनेको जटिल ‘सोसल प्रोडक्ट’का रुपमा स्वीकार्नु अहिलेको ध्रुवीकरणबाट बाहिर निस्कने पहिलो शर्त हो । सत्य जहिले पनि सत्य नै हुन्छ तर त्यसलाई हेर्ने मानिसहरुका आँखा फरकफरक हुन्छन् ।
अक्सर यस्तो हुन्छः हामीले जेलाई शाश्वत वा निरपेक्ष सत्य भन्छौं, त्यसको बीचमा एक पत्र सत्य त हुन्छ तर त्यसको वरिपरिचाहिं त्यसप्रति हाम्रो हेराइका पत्रहरु हुन्छन् । त्यो हेराइमा पूर्वाग्रह त धेरैजसो हुन्छ, कैयौं पटक त्यसमा हाम्रा आफ्नै ‘इगो डिफेन्स मेकानिजम्’ पनि मिसिएका हुन्छन्, जस्तै कि अस्वीकृति वा सत्यको सोलोडोलो तोडमरोड । त्यसै हैन उही भिडियो हेरेर कसैले निहत्था प्रदर्शनकारी मरेको देख्दै गर्दा कसैले त्यसमा प्रहरीको बहादुरी, साहस र वफादारी देख्ने गरेको । हामी दोबाटोमा छौंः एउटा बाटो लाग्यो भने द्वन्द्वको दुई कित्ताले निरपेक्ष भनेर दाबी गर्ने गरेका पस्पर विरोधी ‘न्यारेटिभ’मध्ये एउटाको हार र अर्काको जीत नहोउन्जेल अहिले झैं रस्साकस्सी चलिरहन्छ । त्यो अवस्थामा बहसमा चर्को स्वर हुनेहरुको पालो नआउँदै धेरै विपन्न र आवाजविहीनहरुले गाँस, वास र जीवन नै गुमाइसकेका हुनेछन् ।
अर्को बाटो लाग्ने हो भने दुवै पक्ष (नेतृत्वदेखि सडक र सामाजिक सञ्जालमा बहस गरिरहेका नागरिकहरुसमेत) आआफ्ना अतिवादी र श्यामश्वेत तर्क्वितर्कबाट पछि हटेर अर्को पक्षले बोकेका सापेक्ष सत्य र जायज धारणाहरुको सम्मान गर्दै सार्थक अन्तक्रियामार्फत् समस्याको हल निकाल्न सकिन्छ । पहिले मानिस बाँच्ने र बचाउने अवस्थाको सिर्जना गरौं, फेरि ह्यारोल्ड पिन्टरजस्ता उत्तर आधुनिक चिन्तकहरुको आलोचना गर्ने अवसर त कति आउँछ कति ।
साभार ः सेतोपाटी

Post a Comment

 
Top